सिरहा । धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोसहित १८ जनाविरुद्ध कानून विपरित ठेक्का लगाई अवैध ढुंगा,, गिट्टी तथा बालुवा उत्खनन् गरे–गराएको अरोपमा डिभिजन वन कार्यालय, लहान, सिराहाले जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ ।
वनले सिरहा जिल्ला धनगढीमाई नगरपालिका वडा नम्बर १२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्र भित्रबाट बिना इजाजत अन टेस्ट जेसिवी थान १ र ७ वटा ट्याक्टर प्रयोग गरी अनियमित तवरबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरिरहेको अवस्थामा मंसिर १५ गते पक्राउ परेका अभियुक्तहरु मंजित कुमार यादव, फुलकुमार यादव, सन्दिपकुमार यादव, रामकुमार यादव, अरविन्द किशोर यादव, इन्द्रजित महतो, रमन किशोर यादव, पुरुषेत्तम यादव तथा अनुसन्धानबाट खुलेका जेसिवीका धनि बद्रि यादव, ट्याक्टर धनिहरु अजित पासवान, रधुनाथ कुमार महतो, विमल अधिकारी, सरोजकुमार यादव, राकेश यादव, हरि नेपाली तथा धनगढीमाई नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धनगढी सिरहाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो, प्रशासन शाखा सहायक रन्जितकुमार सिंह र वरुण कन्सट्रक्न, धनगढीमाई नगरपालिका सिराहाका प्रो. निलम कुमारी यादवविरुद्ध मुद्दा दायर गरेको बुधबार एक विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
उनीहरूले नियमावली, २०७९ को नियम ३० (५) र वातावरण संरक्षण ऐन, २०७६ को दफा ३ (ख) बमोजिम तथा ढुंगा, गिट्टी, बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा ४ (ख) र ६ (३) बमोजिमको प्रकृया पुरा नगरी ठेक्का लिई –लगाई अवैध उत्खनन् गर्ने–गराउने कार्यमा संलग्न रहेको भनि अनुसन्धानबाट खुलेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा प्रतिवादीहरुले एक लाख ५७ हजार आठ सय १५ रुपैयाँ बराबरको हानी–नोक्सानी गरेको बिगोसहित वन ऐन, २०७६ को दफा ४९ (झ) बमोजिम कसुरमा सोही ऐनको दफा ५० (६) (ड) बमोजिम सजाय हुन र बोझबाहकको हकमा सोही ऐनको दफा ६८ (१) वमोजिम जफत हुने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा फरार प्रतिवादीको हकमा अदालतबाटै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम हुनेसमेतको मागदाबी लिई डिभिजन वन कार्यालय, लहान, सिरहाबाट सम्मानित सिरहा जिल्ला अदालतमा मुद्दा दायर गरिएको लेखिएको छ ।
प्रतिक्रिया