धनुषा । जनकपुरधामको प्रसिद्ध रामानन्द युवा क्लवले तीन दिवसीय कार्यक्रमको आयोजना गरी ३८औँ वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सव मनाउने क्रममा क्लबले बुधबार पहिलो दिन जनकपुरधामको रामानन्दचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
क्लबका कार्यकारिणी सदस्य एवं रक्तदान कार्यक्रमका संयोजक रुपेश रोशन सिंह ‘मुन्ना’ले कार्यक्रममा स्थानीय, युवा, व्यापारी र युवा अगुवाहरू गरी कुल ५६ जनाले रक्तदान गरेको जानकारी दिए ।
तीन दिवसीय कार्यक्रमको दोस्रो दिन बुधबार जनकपुरधामस्थित वृद्धाश्रममा फलफूल तथा न्यानो लत्ताकपडा वितरणको कार्यक्रम रहेको छ भने तेस्रो दिन बिहीबार क्लबको भवनमा पुरस्कार एवं प्रमाणपत्र वितरण कार्यक्रम रहेको क्लबका अध्यक्ष शशिभूषण झा ‘आशुतोष’ ले जानकारी दिए ।
नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठको प्रमुख आतिथ्यमा हुने वार्षिकोत्सव समारोहका बीच विद्यापति पुरस्कार र श्री सरस्वती राजनारायण कला पुरस्कार लगायतका पुरस्कारहरूसमेत वितरण गरिने क्लबले जनाएको छ ।
वार्षिकोत्सवको पहिलो दिन आयोजित रक्तदान कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, क्लबका पूर्वअध्यक्ष जीवनाथ चौधरी, उपाध्यक्ष सन्तोषमान सिंह, महासचिव रोशन मिश्र, वडा नम्बर–४ का सदस्य प्रसन्न झा, रोशनी सिंह लगायतकाहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया