बारा । बारामा छुटाछुटै सवारी दुर्घटनामा परी बुधबार पाँच जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाडाैं जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे बाराको अमलेखगन्ज–३ नम्बर पुल नजिक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बस र ट्रकको चालकसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक हरि शमशेर र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । निजगढबाट उदयपुरतर्फ जाँदै गरेको प्र १– ०५–००१प ५४९७ नं.को मोटरसाइकल रौतहतबाट निजगढतर्फ आउँदै गरेको बा ९७ प ९४४ नं. को मोटरसाइकल निजगढको सिंगौल गेट नजिकै एकआपसमा ठोक्किएर दुर्घटना भएको बारा प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परेका रौतहटको चन्द्रपुर न.पा.–३ पौराई बस्ने ३१ वर्षीय बुद्धबहादुर बल र उदयपुरको कटारी नपा–२ बस्ने ३४ वर्षीय चन्द्रदीप लामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइते दुवै मोटरसाइकल चालकको निजगढस्थित सामुदायिक प्रसूति अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए । माटरसाइकलमा सवार जिल्ला रौतहत चन्द्रपुर नगरपालिका–०३ पौराई बस्ने ३५ वर्षीय बाबुराम सुनारको टाउकोमा चोट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बारा
प्रतिक्रिया