नगरपालिकाका प्रमुखप्रशासकीयसहित १८ जना विरुद्ध मुद्दा !

राजविराज । नयाँ प्रमुख आएसँगै मधेस प्रदेशमै चर्चा बटुल्न सफल डिभिजन वन कार्यालय सिराहाले धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोसहित १८ जनाविरुद्ध कानुनविपरीत ठेक्का लगाई अवैध ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् गरे÷गराएको अरोपमा सिराहा जिल्ला अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।

पक्राउ परेका मञ्जितकुमार यादव, फुलकुमार यादव, सन्दीपकुमार यादव, रामकुमार यादव, अरविन्द किशोर यादव, इन्द्रजित महतो, रमनकिशोर यादव, पुरुषोत्तम यादवलगायतविरुद्ध मुद्दा दायर गरिएको हो ।

यस्तै जेसिबी धनी बद्री यादव, ट्रयाक्टर धनीहरू अजित पासवान, रधुनाथकुमार महतो, विमल अधिकारी, सरोजकुमार यादव, राकेश यादव, हरि नेपाली तथा धनगढीमाई नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धनगढी सिराहाका प्रमुख प्रशाशकीय अधिकृत ओमप्रकाश महतो, प्रशासन शाखा सहायक रंजितकुमार सिंह र वरुण कन्स्ट्रक्सन, धनगढीमाई सिराहाका प्रो. निलमकुमारी यादवविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय सिरहाले जनाएको छ ।

उनीहरूविरुद्ध वन नियमावली, २०७९ को नियम ३०(५) र वातावरण संरक्षण ऐन, २०७६ को दफा ३(ख) बमोजिम तथा ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा ४(ख) र ६(३) बमोजिमको प्रक्रिया पूरा नगरी ठेक्का लिई लगाई अवैध ढुंगा, गिट्टी तथा बालुवाको उत्खनन् गर्ने÷गराउने कार्यमा संलगन रहेको आरोप लगाइएको छ ।
प्रतिवादीहरूले १ लाख ५७ हजार ८ सय १५ रुपैयाँ बराबरको हानिनोक्सानी गरेकोले बिगोसहित वन ऐन, २०७६ को दफा ४९(झ) बमोजिम कसुरमा सोही ऐनको दफा ५०(६)(ङ) वमोजिम सजाय हुन र बोझवाहकको हकमा सोही ऐनको दफा ६८(१) बमोजिम जफत हुन मागदाबी गरिएको छ ।

सिराहा जिल्ला धनगढीमाई नगरपालिका–१२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्रभित्रबाट अनुमतीबिना अनटेस्ट जेसिीबी एक थान र सात वटा ट्रयाक्टर प्रयोग गरी अनियमित रूपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा वनको टोलीले मंसिर १५ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया