सिरहा । मधेस प्रदेशमा मानवअधिकार हनन् र ज्यादतीका घटनाहरु बढेको पाइएको छ । त्यसमा पनि महिला तथा बालिकाविरुद्धका घटनाहरु बढिरहेको छ । मधेस प्रदेशअन्तर्गत सिरहाको गोलबजारमा बालिका बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।
१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका– ४ का २१ वर्षीय रोहित दासविरुद्ध ईलाका प्रहरी कार्यालय गोलबजारमा परेको उजुरी पुस २ गते दर्ता भएको छ । विद्यालयबाट फर्किने क्रममा बाटोबाटै ललाइफकाई र डर त्रास देखाएर गागन खोला किनारमा रहेको लहरीवारीमा पुर्याएर बिहीबार राति दासले बालिकालाई बलात्कार गरेकाले कारबाहीको लागि इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् ।
बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस १ गते भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । मधेस प्रदेशमा बलात्कार, बलात्कारको प्रयास, हत्या, बाल यौन शोषण तथा दुर्व्यवहार, बहुविवाह, महिला हिंसालगायतका गरी मानवअधिकार हनन् एवं ज्यादतीका घटनाहरु बढी रहेको छ ।
प्रतिक्रिया