जनकपुरधामका निजी विद्यालयहरूको सराहनीय पहल

जनकपुरधाम । धार्मिकनगरी जनकपुरधाममा यसवर्षको विवाहपञ्चमी मेला लाखौँ तीर्थयात्रीले भरिभराउ देखियो । यसवर्ष करिब पाँच लाख तीर्थयात्रीले मेला भरेका हुन् । मेला घुम्न आएका तीर्थयात्रीका लागि बासको व्यवस्थापनमा जनकपुरधामका निजी विद्यालयहरूले दिल खोलेर सहयोग गरेका छन् । यहाँस्थित सयौँ निजी विद्यालयहरू दुई दिन पहिलेदेखि नै तीर्थयात्रीका लागि बासको व्यवस्थापनमा जुटेको देखिएको थियो ।

निजी विद्यालयहरूको छाता संगठन प्याब्सन तथा एनप्याब्सनमा आबद्ध विद्यालयहरूले आ–आफ्नो विद्यालयका प्रायः सबै कक्षाकोठाहरू तीर्थयात्रीलाई बास बस्नका लागि उपलब्ध गराएका थिए । एनप्याब्सन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरले भने, ‘केही वर्षअघिसम्म मेलाको दिन मात्रै तीर्थयात्री आउने गरेकोमा पछिल्लो समय दुई दिनअघिदेखि नै उनीहरू जनकपुरधाम आउने गरेका छन् । तर, यहाँ बासको उचित व्यवस्थापन नहुँदा उनीहरू खिन्न भएको देखिन्थ्यो । हामीले सोही अवस्थालाई दृष्टिगत गर्दै आ–आफ्नो सामाजिक दायित्व ठानेर करिब १८ हजार तीर्थयात्रीको बास, भोजन र शौचालयको प्रबन्ध मिलाएका थियौँ ।’

उनले यस कार्यमा जनकपुरधामका एकाधबाहेक प्रायः सम्पूर्ण निजी विद्यालयहरूले सहयोग गरेको जानकारी दिए । जानकी माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउनुका साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि लाखौँ भक्तजनहरू यहाँ आउने गर्दछन् ।

प्रतिक्रिया