वृन्दावनका मेयर कुर्मीद्वारा सडक कालोपत्रको शिलान्यास

मधेस । रौतहट जिल्लाको वृन्दावन नगरपालिका– १ बलेरीको ब्रहम स्थानदेखि चाँदी खोलासम्मको बिश्रामपुर जाने सडकमा आज कालोपत्रको शिलान्यास गरिएको छ । मंगलबार वृन्दावनका नगरप्रमुख विनोद प्रसाद कुर्मीले अबको १५ दिन भित्रमै सम्पन्न हुने गरि सो कच्ची सडकमा कालोपत्रको शिलान्यास गरेका हुन् ।

बिगत लामो समयदेखि कची सडक रहेको र बिगतका दिनमा निर्वाचित भएका जनप्रतिनिधिहरुले सो सडकमा केही नगरेको जनगुनासो सुनेपछि चुनावमा जनताहरुसँग गरेको प्रतिबद्धता अनुसार आफूले नगरस्तरीय योजनाबाट छुट्याइएको जम्मा रकम ५८ लाख ७६ हजार ६७५.५० को लागतमा सो कालोपत्र भइरहेको नगरप्रमुख कुर्मीले बताए ।

कालोपत्रको शिलान्यास गर्दै नगरप्रमुख कुर्मीले नगरको चौतर्फी विकासको लागि आफू कम्मर कसेर लागेता पनि विपक्षीहरुले जालझेल गरी आफूलाई असफल बनाउन लागिपरेको बताए ।

उनले विपक्षीहरु बिगतका दिनमा निर्वाचित भएर पनि केही न गरेको र भ्रष्टाचारमा लिप्त भएर आफ्नो कार्यकाल बिताएको तथा हाल आफू निर्वाचित भएपश्चात् सो नगरपालिकामा चौतर्फी विकास गर्न खोजेपछि आफूलाई असफल बनाउन विपक्षीहरु विभिन्न जालझेल गरिरहेता पनि ती सारा जालझेलहरुलाई चिरेर आफू नगरको विकासको लागि अगाडि बढीरहेको बताए ।

त्यसैगरी सो वडाका वडाध्यक्ष रामनाथ सहनीले पनि विपक्षीको रवैया हेरेर आफू साह्रै चिन्तित रहेको बताए । बिगतका मेयर तथा वडाध्यक्षले बिगत पाँच वर्षमा गर्न नसकेको काम हाल विभिन्न बाधा र अवरोधको बावजुद पनि आफूहरु एक वर्षमै गरेर देखाएको भन्दै उनले अझै धेरै काम गर्न खोजिरहेकोले नगरप्रमुख कुर्मी र आफूलाई असफल बनाउन विपक्षीहरु कम्मर कसेर लागेको बताए ।

बिगत लामो समयदेखि कची बाटो रहेको सो सडक बलेरी गाउँबाट नगरपालिकाको कार्यालय हुँदै हर्षाहा चोकमा आउने मुल सडक रहेकोले सो सडकमा कालो पिच भएपछि त्यहाँका बासिन्दाहरु प्रत्यक्ष लाभ लिन पाउने छन् ।

उक्त शिलान्यास कार्यक्रममा वृन्दावनका नगरप्रमुख कुर्मीसँगै नि. प्रमुख प्रसाशकिय अधिकृत रासनारायण पटेल, वडा नं. १ का वडाध्यक्ष रामनाथ साहनी, वडा नं. ६ का वडाध्यक्ष मजहर मन्सुर, कार्यपालिका सदस्य राजेश पासवान (निर्माणी) सो नगर पालिकाका ईन्जिनियर दिलिप यादव, कमलेश कुश्वाहा र धिरज पटेललगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति समेत रहेको थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया