कर्णालीमा आन्तरिक उडान सुचारु गर्न माग

सुर्खेत । कर्णाली प्रदेशमा आन्तरिक उडान सुचारु गर्न जनप्रतिनिधि, कर्मचारीलगायत स्थानीयहरुले माग गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेत जानू पर्ने व्यक्ति लुम्बिनी प्रदेशको नेपालगन्ज विमानस्थल पुगेर फर्किनु पर्ने बाध्यता अहिले रहेको छ ।

कर्णाली प्रदेशका जिल्लामा प्रदेश राजधानी सुर्खेतदेखि आन्तरिक उडान नहुँदा सुर्खेतमा अर्जेन्ट काम हुँदा पनि कर्णालीवासीलाई लुम्बिनी धाउनु पर्ने बाध्यता रहेको छ । हवाई सेवाका लागि कर्णालीवासी लुम्बिनी धाउनु पर्ने, फेरि गाडी चढेर सुर्खेत आउनु पर्ने समस्या हटाउन उनीहरुले माग गरेका हुन् ।

कर्णाली बासीले वर्षाैदेखि कर्णालीमा आन्तरिक उडान हुनु पर्ने माग गर्दै आएपनि सुनुवाई भएको छैन । संघीयता पछि कर्णालीमा नियमित आन्तरिक उडान हुने आशामा साबिक कर्णाली थियो । आन्तरिक उडान नहुँदा सबैभन्दा धेरै कर्णालीको जुम्ला, मुगु, डोल्पा र हुम्ला जिल्ला प्रभावित छन् । यी चार जिल्लाका नागरिकलाई आफ्नै प्रदेश राजधानी सुर्खेत पुग्न लुम्बिनी प्रदेशको नेपालगन्ज विमानस्थल पुग्नु पर्ने बाध्यता छ ।

संघीयता कार्यान्वयनको करिब ७ वर्ष पुगिसक्दा पनि कर्णालीमा आन्तरिक हवाई उडान हुन सकेको छैन । केही वर्ष पहिले जुम्लाका ललितज महतले एमिट एयरसँग समन्वय गरी जुम्ला–सुर्खेत उडानमा सहजीकरण गरेका थिए । तर दिगो हुन सकेन् । कर्णालीका जनप्रतिनिधिले निजी एयरलाइन्ससँग समन्वय गर्न नसक्दा हवाई सेवाका नाममा नागरिकले सास्तीसँगै महँगो भाडाले मर्कामा परेका छन् ।

पर्यटन प्रवद्र्वन तथा यात्रा सहजताका लागि कर्णालीमै आन्तरिक उडान आवश्यक भए पनि राज्यको उदासीनता र नेताहरुको मौनताले कर्णाली ओझेलमा परेको पर्यटन व्यवसायी नोर्बु लामाले बताए । सरकारले चाहेको खण्डमा कर्णालीका लागि आन्तरिक उडान सुचारु गर्न सक्ने उनको भनाइ छ । उनले भने,‘केन्द्र सरकारले कर्णालीप्रति सधै सौतेनी व्यवहार गर्दै आएको छ । सुर्खेत जान नेपालगन्ज धाउनु पर्ने बाध्यता छदैंछ । महँगो भाडा, भनेको बेला टिकट नपाउने जस्ता समस्याले नागरिक र कर्णाली आउने पर्यटक मर्कामा छन् । तर कर्णालीको आन्तरिक उडान गर्नेबारे कुनै नेताको ध्यान छैन् ।’

लुम्बिनी प्रदेशको नेपालगन्ज विमानस्थलबाट हाल नियमित रूपमा भईरहेका उडानलाई कर्णाली प्रदेशको सुर्खेत विमानस्थलबाट गरेमा भाडा पनि कम लाग्ने, समय पनि थोरै लाग्ने, आफ्नै प्रदेशको प्रवद्र्वन हुने भएकोले आन्तरिक उडान सुरु गर्न साझा पहल आवश्यक देखिएको स्थानीयले बताए ।

जुम्ला–सुर्खेत उडानको माग

संघीयता अघि जुम्ला –सुर्खेत हवाई सेवा सञ्चालनमा रहेको भन्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आर्चायले जुम्ला–सुर्खेत हवाई उडान सञ्चालन गर्न आग्रह गरेका छन् ।
नागरिकबाट गुनासो बढ्दै गएपछि समन्वय प्रमुख आर्चायले गत साता कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई माग पत्र दिएका हुन् । आफ्नै प्रदेश आउनका लागि लुम्बिनी प्रदेश पुग्नु पर्ने कर्णालीवासीको बाध्यतालाई मध्येनजर गर्दै जुम्लासहित माथिल्लो कर्णालीका चार जिल्लामा नियमित हवाई उडानको प्रबन्ध मिलाउन माग गरिएको समन्वय प्रमुख आर्चायले बताए ।

आन्तरिक उडान नहुँदा हुम्ला र डोल्पाबासी निकै मर्कामा छन् । उनले भने,‘जुम्ला विमानस्थलको स्तरवृद्धि र हवाई फ्यूल सेन्टरको योजनाअघि बढिरहेको छ । तत्काल जुम्ला–सुर्खेत हवाई सेवा सुचारु हुन आवश्यक रहेको छ । यसमा प्रदेश सरकार र सांसदहरुको पहल जरुरी छ ।’

यता कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आन्तरिक उडान नहुँदा साविक कर्णालीवासीले पाएको सास्ती आफूले महसुस गरेको बताए । कर्णालीमा आन्तरिक उडानका लागि गम्भिर भएर निजी एयरलाइन्स तथा संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री शर्माले आश्वासन दिएका छन् । आन्तरिक उडान कर्णालीको प्रमुख आश्यकता हो । उनले भने,‘पर्यटन प्रवद्र्वन तथा यात्रा सहजताका लागि आन्तरिक उडान महत्वपुर्ण छ ।आबश्यक समन्वय र पहल गर्छाै ।’

प्रतिक्रिया