कालिञ्चोक आउने पर्यटक बढे

दोलखा । कालिञ्चोक आउने पर्यटकको संख्या बढ्न थालेको छ । पछिल्लो समय धार्मिक पर्यटक बढ्न थालेका हुन् । काठामाडौंबाट १३० किलोमिटर पूर्वमा रहेको दोलखा सदरमुकाम चरिकोट पुगेपछि ५ किलोमिटर कालोपत्रे सडक र १२ किलोमिटर कच्ची सडकको यात्रापछि कुरी पुगिन्छ । कुरीमा बस्ने होटलहरू र खाना नास्ताका पसल पर्याप्त रहेका छन् ।

पर्यटकहरू बढ्न थालेपछि अर्बौ लगानीमा ७० बढी होटल विस्तार भएका छन् । ती होटलमा स्थानीयहरूकै लगानी छ । विदाको दिन,चाडपर्वमा पर्यटकहरूको भीड लाग्छ । पर्यटक लक्षित होटलमा ५ हजार रुपैयाँसम्ममा एक रात बास बस्न सक्ने कालिञ्चोकका पुराना होटल व्यवसायी चन्द्र तामाङले बताए । ‘२५ वर्ष अघि मैले यहाँ होटल व्यवसाय सुरु गर्दा ३ वटा थियो, त्यो पनि कालिञ्चोक आउँनेलाई सामान्य बस्न खानाको व्यवस्था गरिन्थ्यो’ उनले भने, ‘छाप्रो होटल ५ वटासम्म पुग्यो, सडक यातायात खुलेसँगै ठूला लगानीका ७० भन्दा बढी होटल पुगिसक्यो ।’

राम्रो लगानी गर्न सक्नेले करोडौं रुपैयाँ होटल क्षेत्रमा लगानी गरेका छन् । कतिले गाडी किनेर सेवा दिइरहेका छन् । तर, लगानी थोरै हुनेहरू पनि स्थानीय उत्पादनका सामग्री पर्यटकलाई बेच्ने कार्यमा लाग्न थालेका छन् । चौंरी पालन व्यवसायीहरू पनि अहिले चौंरी पाल्न छाडेर मन्दिर नजिकै पूजाका सामग्री र पर्यटकहरूको रोजाइमा पर्ने लेकाली जडिबुटी पदमचाल, वनस्पति धुप जस्ता सामग्री बिक्रीमा लागि परेका स्थानीयले बताएका छन् ।

कालिञ्चोक मन्दिरसम्म पुग्न ठाडो उकालोमा कुरीदेखि केबलकार छ । केबलकारको रेकर्ड अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटक बढेका छन् । कालिञ्चोक दर्शन लिमिटेडका व्यवस्थापक तिलक दुलालका अनुसार आर्थिक वर्ष २०७९÷८० मा १ लाख ४६ हजार ३४७ जनाले केबलकार यात्रा गरे कालिञ्चोक दर्शन गरेका थिए । चालु आर्थिक वर्षको साउनदेखि मंसिरमध्येसम्म मात्रै ३६ हजारले केबलकार चढेका छन् । तर केबलकारको क्षमता कम भएकाले बिदाको सिजनमा हिडेर दर्शन गर्नेको संख्या पनि उत्तिकै रहेको छ ।

हिड्नेहरूका लागि घ्याङडाँडासम्म गाडी जाने सडक रहेको छ । त्यहाँबाट हिड्न अलि कठिन बाटो छ । ९ सय मिटर लामो केबलकारको भाडा ६ सय रुपैयाँ लिने गरिएको छ । नियमन निकाय कमजोर हुँदा अन्यत्रको तुलनामा कालिञ्चोक केबलकारको भाडा अत्यधिक महँगो भएको दर्शनार्थीहरूको गुनासो छ । चन्द्रागिरि, मनकामना, अन्नपूर्ण केबलकारले तीन किलोमिटर दुरीको ७ सय रुपैयाँ लिने गरेका छन् ।

कालिञ्चोक आउने पर्यटकहरूको रोजाइमा चाैंरीको घिउ, छुर्पी जस्ता स्थानीय उत्पादन नै बढी रोजाइमा पर्ने हुँदा स्थानीयको व्यापार पनि त्यस्तै खालका रहेका छन् । कालिञ्चोकमा पर्यटकहरू धेरै आउने गरे पनि सडक व्यवस्थित हुनु पर्ने होटल व्यवसायी नवीन खड्काको भनाइ छ । देउरालीदेखि कुरीसम्मको सडक बन्दै गरेकोले केही ठाउँमा पानी परेको बेला अप्ठ्यारो हुने गरेको छ ।
सडकका पुराना सोलिङ बिग्रेको र ढलानसँगैको सोलिङ बिग्रिदा यात्रुले सास्ती भोग्नु पर्ने अवस्था कायमै छ । कालिञ्चोकबाट हिमालको दुरी नजिकै पर्ने हुँदा अवलोकन गर्न सहज रहेको छ । हिउँ परेका बेला हिउँ खेल्न पाइने भएकाले पनि पर्यटकहरूको रोजाइमा यो क्षेत्र पर्ने गरेको छ । दशैं–तिहार र विदाको दिन पर्यटकको घुइँचो लाग्ने कालिञ्चोकमा पछिल्लो समय भारतीय, बंगालादेशी र श्रीलंकन पर्यटकहरू आउने गरेका होटल त्रिपुराका सञ्चालक चन्द्र लामाले बताए ।

प्रतिक्रिया