भुकम्प कहरः रित्तियो कोख, लुटियो खुशी

रुकुम पश्चिम । जाजरकोटको नलगाड नगरपालिका–५ रघुनाथकी रमिता खड्का २० वर्षकी भइन् । सानै उमेरमा बिहे गरेकी उनले गत फागुनमा छोरी जन्म दिइन् । छोरी जन्मिएको एक वर्ष नपुग्दै गत कार्तिक १७ गते गएको भुकम्पमा उनले आफ्नी १० महिने छोरी सुप्रिया खड्कालाई गुमाउनु प¥यो । उनको यो उमेरको उत्तराद्र्धमा पीडा र कष्टबाहेक भोग्न बाँकी केही छैन । जाजरकोटको कालिमाटीदेखि करिब ५ किलोमिटर माथि उनको घर छ । उनको घरमा पुग्दा रमिता सहित उनका श्रीमान, सासु ससुरा र नन्दाहरु भत्केको घरको आँगनमा आगो ताप्दै थिए ।

रमिताकि सासु घर तर्फ फर्केर दुखेसो पोख्छिन् । मेरो नातीनी च्यापिएको ठाउँ भन्दै उनी रोइन् । उनिहरुको घर ध्वस्त भएको छ । घर नजिकै त्रिपाल टाँगेर उनिहरु बसिरहेका छन् । बाहिर सुत्दा पनि रमिताको निद्रा खल्बलिन्छ । फेरी भुकम्प पो आयोकि भनेर उनि तर्सिरहन्छिन् । एकैचोटी उनको काख रित्तिएको छ । खुशी लुटिएको छ । आफुसँगै सुतेकि छोरी गुमाइन र आफु पनि घाइते अवस्थामा छिन् । सोहि रात घरमा सात जनाको परिवार सुतेको उनले बताइन् । ‘आधि भुँंग (भुइतला) मा सुतेका थियौ । म सहित नानीको बाबा र नानी माथ्याट (माथिल्लो तला) मा सुतेका थियौँ । घर हल्लिए जस्तै ग¥यो । छोरी रोइन् जुरुक्क उठ्दा हामि घर बाहिर रहेछौँ । ढुंंगा मुडाले च्यापिएका रहेछौँ,’ उनले भावुक हुँदै भनिन्, ‘वरपरका मान्छे आएर ताने अलिकति ढिलो भएको भए सातै जना मर्ने रहेछौँ ।’ काखको सन्तान गुमाएकी आमाको पीडाको सानो छैन् । भुकम्पले बियोग र बिजोक एकैचोटी थपेको छ ।

सानै उमेरमा बिहे गरिन् । सानै उमेरमा आमा बनिन् । तर, आमाको भुमिका पुरा गर्न नपाउँदै रमिताले सन्तान गुमाइन् । अहिले बास बस्नलाई न उनको घर छ । न त काखमा सन्तान नै छ । छोरीलाई ठुलो मान्छे बनाउने सपना बोकेकी उनले छोरीको मुखबाट आमा शब्द सुन्न नपाउँदै छोरीलाई गुमाउनुप¥यो । छोरी ठुली भएपछी स्कुल जाने झोला समेत किनेर राखेको उनले सुनाइन् । आँखामा आँसु टिलपिल पार्दै उनले भनिन्, ‘छोरीको लागि सामान ल्याइदिएको थिएँ । झोला, कपडा, कापि, थिए । छोरी नै नरहेपछि ती सामनको के काम दैबले मलाई नै देखेछ । मेरो खुसी सहारा लुटिदियो । जुन घरमा छोरीलाई हुर्काए त्यहि घरले मेरि छोरीलाई खायो । भुकम्पको विपत्ति नआएको भए, अहिले खुशीको सिमा हुने थिएन । पीडाले मन पोल्छ । छोरी सुतेको काख हेर्छु । कतै देख्दिन् । मनले बिर्सन्छु भन्छु । आँखामा छोरी देखिन्छ,’ उनले भावुक हुँदै पीडा पोखीन् ।

शुक्रबारको भुकम्पको धक्काले उनी निकै त्रसित थिइन् । शुक्रवार राती १२ बजे उनको छोरी मृत अबस्थामा भेटिइन् । उनी घाइते भइन अन्यलाई गाउँलेले उद्धार गरे । शनिवार उनलाई रुकुम पश्चिमको आठबिसकोट स्थित नगर अस्पतालमा उपचार गरियो । राती छोरी संगै सुतेकी खड्का बिहान खाली काख घर फर्किन बाध्य भइन् । उनले आफन्त भुकम्पले गर्दा गुमाउनु परेको बताइन् । ‘सुरुमा घर हल्लिदा निकै आत्तिएकी थिएँ,’ उनले भनिन्, ‘घर हल्लाएपछी छोरी रोएको सुनेँ त्यसपछी म आफै बेहोस भएछु । मेरो लागि छोरीको त्यो रुवाई अन्तिम बोलि रहेछ । हमेशाको लागि छोरीलाई गुमाइसकेको रहेछु ।’
सुप्रिया जस्तै भविष्यमा देश बनाउने सपना बोकेर जन्म लिएका ७८ जना बालबालिका ७ सेकेन्डमै विलिन भए । मानवीय क्षति बेहोरेको जाजरकोट र रुकुम पश्चिम शोकमा छ ।। जाजरकोटकै नलगाड–६ भारगाउँकी जमुना बुढामगरको पीडा पनि उस्तै छ । उमेरले जमुना भर्खर १९ वर्षको भइन् । शुक्रवार राति गएको भूकम्पका कारण उनले श्रीमान् र आफ्नो पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई पनि गुमाइन् । कोख रित्तिए पछी उनलाई बियोग थपियो । एकातिर श्रीमान र अर्कोतिर कोखमा रहेको सन्तान एकैपटक गुमाउँदा उनि अझैँ अचेत अवस्थामा छिन् । भुकम्पले उनको जिन्दगी अध्याँरो बनाइदियो । शिशु र श्रीमान गुमाएकी मगर आफु पनि घाइते भइन । उनका श्रीमान नवीन बुढा गर्भको शिशु भुकम्पमा परेर मृत्यु भएको आज २३ दिन भयो तर उनको वियोगले उनलाई गलाउँदै छ ।

घरहरु जता ततै भग्नावशेष देखिन्छन् । हजारौँ मानिस घर बाहिरै बस्न बाध्य छन् । त्यसमा पनि अहिले चिसोको समय छ । चिसोकै कारण १३ जनाको मृत्यु भइसकेको छ । ‘भुकम्प पीडितले भोगेको पीडा भनिसाध्य छैन । यो उमेरसम्म आउँदा जसोतसो रोग र भुकम्पबाट ज्यान जोगिएको छ,’ चाउरिएका गाला मुसार्दै आठबिसकोटका कृष्ण ओलिले भनिन्, ‘खै अब चिसोले त लान्छै जस्तो छ । रातभर सितले ओछ्यान भिजेको हुन्छ । बिहान उठ्दा खोकीले हैरान पार्छ ।’

भुकम्प पछि घरबार बिहिन बनेका चिसोसँग पौठेजोरी खेल्दै जेनतेन बाँचिरहेका अन्य स्थानीयको कथा पनि उनको भन्दा फरक छैन । बालबालिका, जेष्ठ नागरिक, सुत्केरी महिला र गर्भवति महिलाले भुकम्पको असर खेप्नु परेको छ । चिसो भुइँमा सुत्नु परेको, त्रास र चिन्ताले गर्दा धेरै जसो मानिसमा मानसिक असर बढ्दै गएको देखिन्छ । चिसो सुरु भए लगत्तै बालबालिकाहरुमा रुघाखोकी लाग्ने निमोनिया हुने समस्या देखिएको छ । चिसो ठाँउमा आफू जोगिने कि बालबच्चाहरुलाई जोगाउने ? भन्ने चिन्तामा छन । जाजरकोट र रुकुम पश्चिमका भुकम्पपिडितहरु अझै बढी सुत्केरी भएका महिला तथा वृद्धवृद्धाहरुलाई पिरोलेको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया