आत्मानन्द गोल्डकपः पाँचथर सेमिफाईनलमा

इलाम । तिजोक युवाक्लब पाँचथर इलामको माङसेबुङमा जारी १६ औं संस्करणको आत्मानन्द गोल्कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

शनिबार प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा धनकुटा जिल्ला फुटबल संघलाई २–१ गोलको अन्तरमा पराजित गर्दै तिजोक पाँचथर अन्तिम चारमा प्रवेश गरेको हो ।

सुरुआतमा १ गोलले पछि परेको तिजोकले आफ्नो प्रदर्शनमा सुधार गर्दै अघिल्लो चरणमा पुग्न सफल बन्यो । तिजोक पाँचथर गत संस्करणको उपविजेता हो । उता सुरुवाती अग्रता लिएको धनकुटाले पछिल्लो समय खराब प्रदर्शन गरेका कारण प्रतियोगिताबाट बाहिरियो ।

पहिलो हाफको ८ औं मिनेटमा नै धनकुटाका कप्तान बुद्ध चेम्जोङले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर त्यो अग्रता धेरै टिकेन । आक्रामक रणनीतिमा उत्रिएको तिजोक पाँचथरले २१ औं मिनेटमा निर्देश राईको गोलमा खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको १७ औं मिनेटमा पुनः तिजोक पाँचथरका राईले गोल गर्दै टिमलाई २–१ को जित दिलाए । ए डिभिजन लिग खेलिसकेका चेम्जोङको कप्तानीमा उत्रेको धनकुटाका खेलाडीबीच आपसी तालमेल हुन नसक्दा पहिलो खेलबाटै बाहिरिन बाध्य भयो ।
खेलको म्यान अफ दी म्याच विजेता टिम तिजोक पाँचथरका निर्देश राई घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत आइतबार डिफेन्डिङ च्याम्पियन छथर गाउँपालिका तेह्रथुम र सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङबीच प्रतिष्पर्धा हुने आयोजक आत्मा–पवित्र खेलकुद समितिले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।
प्रतियोगिताको फाइलन १७ मंसिरमा हुनेछ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमको सहभागिता थियो ।

प्रतिक्रिया