नेपाली मुगेरीलालको जय होस्

ऊ कोटेश्वरको घरभित्र लुसुक्क छिर्ने पनि मै हुँ भन्दछ, बालुवाटार खुसुक्क पास गर्ने पनि मै हुँ भन्दछ । कुन्नि कताको पर्खाल नाघ्ने पनि मै हुँ भन्दछ, हप्तैपिच्छे नयाँ नयाँ बलात्कारमा मुद्दा निकाल्ने पनि मै हुँ भन्दछ । लाउडा होस् वा वाइड बढी त्यो पचाउने पनि मै हुँ भन्दछ । भन्सारमा आफैँले अवैध सामान लेराउँदछ र आफैँले चेकजाँच गर्दछ । आफैँ घरघरमा रोग बेच्दछ र आफैँले टोलटोलमा अस्पताल खोल्दछ । उसले हात नहालेको र नजानेको कुरा केही पनि छैन । यसैले मेरो देश रकेटको गतिमा लम्किरहेको छ ।

मोहनप्रसाद सापकोटा

‘मुगेरीलालका रमाइला सपनाहरू’ केही वर्ष पहिले मैले हेरेको यो हिन्दी टेलीश्रृंखला म अहिले झलझली सम्झिरहेछु । पहिला यही शृंखलाका बारेमा केही जानकारी दिउँ ल । त्यस शृंखलाका नायक हरेक क्षेत्रमा भएका विसंगतिमा आफूलाई नायक बनाउँदथे र त्यसक्षेत्रको विशेषज्ञ बनेर समस्या गरिदिएको सपना देख्दथे । कहिले डाक्टर त कहिले ड्राइभर, कहिले वकिल त कहिले शिक्षक, कहिले प्रहरी त कहिले जासुस बनेको सपना देख्थे । उनले आफू विशिष्ट भएर नायक बनेको सपना नदेखेको कुनै क्षेत्र नै थिएन । यो शृंखला झण्डैझण्डै ‘मिष्टर बिन’ कै कपी हो कि जस्तो पनि लाग्दथ्यो, तर रमाइलो मानेर हेर्ने गर्दथेँ । समय मजाले कट्दथ्यो ।

सपना नदेखी विपनामा केही गर्न सकिन्न, यो अहिलेको देशको समष्टिगत नीति हो । त्यसैले म पनि आजभोलि दिउँसै सपना देख्न थालेको छु । देशमा सब पढेकाहरू मूर्ख भएको देख्छु अनि देशीविदेशी विश्वविद्यालयबाट विद्यावारिधिको उपाधी लिएर आफूले विद्वत्ताको संरक्षण गरेको सपना देख्दछु । अरूले अन्तरिक्षमा गएर धूमधामसँग बिहे गरेको देख्छु, अनि ममा जवानीको अनायास सञ्चार हुन्छ, म रम्भा र उर्वशीलाई नचाइरहेको अनि आफू पनि तिनैसँग नाचिरहेको र समर्थकलाई समेत नचाइरहेको सपना देख्दछु ।

मोदी र ट्रम्पको प्रचारशैली देखेँ, मलाई पनि प्रेरणा मिल्यो । अनि रारामा गएर विश्वभर अनुहार देखाएँ भने, मेरा समर्थक र कार्यकर्ता मात्रै गए पनि मुगुको विकास हुन्छ भनेर सपना देखेँ । अनि हर्कुलसको शैलीमा मेचमा गजधम्म बसेर मुगुको विकासको श्रीगणेश गरेँ । राजाका पालामा र कांग्रेशका पालामा गरिएका उद्घाटन र शिलान्यास देखेर डाहा लाग्दथ्यो । त्यसैले होला, दुई दिनपछि नै डुंगा चढेर घुमिरहेका देशीविदेशी पर्यटकले भरिपूर्ण रानीपोखरीको सपनामा देखेँ, अनि हत्त न पत्त रानीपोखरीको शिलान्यास गरेँ । केही गर्दा पनि हुँदैन, कतै अलिकति चुस्स एक चुस्की तानेर पो अन्यत्र विकास भइरहेको हो कि जस्तो लाग्यो सपनामा, अनि होली वाइनको चुस्की लिन र दिन सिकाएँ ।

यस्तै सपना देख्ने र अमूक घटनाभित्र आफूलाई नायक बनाएर मनमनै रमाउने मेरो क्रम जारी छ ।

भर्खरै त हो कला, संस्कृति र संगीतले देश विकास हुन्छ भनेर सपना देखेको, त्यसैले म विशिष्ट नेपाली मुंगेरीलाल अहिले सपनामा बाँसुरी बजाउन पोख्त भइरहेछु । वरिपरि मेरो खुब प्रशंसा भइरहेछ, सबैले ‘वा क्या गजबको काइदा, सबैलाई फाइदा’ भनिरहेछन् । म प्रशंसामा मक्ख हुँदै, जुँगामा ताउ लाउँदै, परतिर बसी आलोचना गरिरहेकाहरूलाई चश्मा माथिबाट हेर्दै, चश्मा स्याहार्दै गीतको भाकामा बाँसुरी बजाउँदै भनिरहेछु ‘झिंगोले मर भन्दैमा डिंगो मर्दछ र ?’

मेरो उखानमय गीतमा मेरा दायाँ बायाँ बस्नेले सारंगी रेटेर संगीत भरिरहेका छन् । सबै दर्शक र श्रोताहरू कृष्णसँग गोप–गोपिनी मन्त्रमुग्ध भए जसरी मेरो (हाम्रो) संगीतको धुनमा मन्त्रमुग्ध भएर झुमिरहेका छन्, झुमिरहेका छन् ।

हिन्दी भाषामा प्रसारित ‘मुगेरीलालका रमाइला सपनाहरू’ हास्य शृंखला हेर्नेहरूलाई संस्मरण गर्न अनुरोध गरेँ । सामाजिक सञ्जाललाई समय काट्ने माध्यम बनाउनेहरूले मिष्टर बिनको कुनै न भाग पक्कै हेरेको हुनुपर्दछ भन्ने मलाई लाग्दछ । यी दुई हास्य कलाकार हुन् । तर, म मेरो देशको राजनीतिलाई यी दुई जना पात्रसँग तुलना गर्न रुचाउँदछु ।

मुगेरीलाल र बिनलाई नआउने भन्ने कुनै विषय नै हुँदैन, सबै विषयका विशेषज्ञ बन्ने गर्दछन् । हाम्रो राजनीति पनि त्यस्तै छ । यहाँ एउटै व्यक्ति हरूवा र जितुवा, मालिक र गोठालो, डाक्टर र रोगी, मास्टर र विद्यार्थी, तस्कर र प्रहरी, दलाल र ग्राहक, प्राध्यापक र विद्यार्थी, इन्जिनियर र मजदूर, किसान र नेता, मजदुर र मालिक, अर्थविज्ञ र ब्यापारी, आदि सबै क्षेत्रको निर्विकल्प विज्ञ भइरहेको हुन्छ ।

ऊ कोटेश्वरको घरभित्र लुसुक्क छिर्ने पनि मै हुँ भन्दछ, बालुवाटार खुसुक्क पास गर्ने पनि मै हुँ भन्दछ । कुन्नि कताको पर्खाल नाघ्ने पनि मै हुँ भन्दछ, हप्तैपिच्छे नयाँ नयाँ बलात्कारमा मुद्दा निकाल्ने पनि मै हुँ भन्दछ । लाउडा होस् वा वाइड बढी त्यो पचाउने पनि मै हुँ भन्दछ । भन्सारमा आफैँले अवैध सामान लेराउँदछ र आफैँले चेकजाँच गर्दछ । आफैँ घरघरमा रोग बेच्दछ र आफैँले टोलटोलमा अस्पताल खोल्दछ । उसले हात नहालेको र नजानेको कुरा केही पनि छैन । यसैले मेरो देश रकेटको गतिमा लम्किरहेको छ ।

मिष्टर बिन र मुगेरीलाललाई सर्व शक्तिमान गुरु मानेपछि, मान्नेलाई पनि निगाहमै सही केही लक्षण त सर्ने नै भए । त्यसैले प्राविधिकरूपमा जे शब्दले सम्बोधन गरे पनि हुक्के, बैठके, चञ्चे आदि सबैलाई यो रोग सरेको छ । ऊ सपना देखाउँदछ यी सपनामा कुद्ने गर्दछन् । ऊ टन्न खाएर डकार्दछ यी उपवास बसेर डकारेको भन्ने गर्दछन् । ऊ समाजलाई रेडलाइट क्षेत्र बनाउँदछ यी ख्वामित्ले अनुसन्धान गर्नुभयो भन्दछन् । ऊ ककटेल गरिरहेको हुन्छ यी अमृत ज्यूनार गरिबक्स्यो भनिरहेका हुन्छन् । ऊ सर्वांग निर्वस्त्र हुन्छ यी आफू पनि हत्त न पत्त नांगिएर उसलाई जोगाइरहेका हुन्छन् ।

जे होस् भक्ति होस् त यस्तो पो होस् । स्वामीहरूको त रहस्य थाहा पाउन समस्या थियो नै अब भक्तहरूको पनि रहस्य थाहा पाउन नसकिने भइएछ । सबै भन्दछन् म पनि भनिदिन्छु अब नेपाली मुगेरीलालको जय होस्, नेपाली मिष्टर बिनको जय होस् ।

प्रतिक्रिया