२५ वर्षपछिको जनकपुरधामबारे चर्चा

धनुषा । जनकपुरधाममा मधेस मानसको आयोजनामा भएको वैचारिक बहसमा २५ वर्षपछिको जनकपुरधामका बारेमा चर्चा भएको छ । जनकपुरधामको गंगासागर डिलमा भएको बहसअन्तर्गत पहिलो सत्रका वक्ताहरूले २५ वर्षपछिको जनकपुरधामबारे चर्चा गरेका थिए ।

कार्यक्रममा जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले अबको २५ वर्षपछि जनकपुरधामलाई नयाँ रिङरोडमा समेटेर जनकपुरधाम–अयोध्यासम्मको रेलसेवा, राजर्षिजनक विश्वविद्यालयको विस्तार, खानेपानी, पार्क र हराभरा वातावरणका लागि वृक्षरोपणलगायत विविध विषयको कल्पना गरेका छन् ।

उपप्रमुख किशोरी साहले नगरलाई सफा, सुन्दर र हराभरा बनाउनुपर्ने भन्दै यहाँ धेरै सुधारका काम भएको र अझै गर्नुपर्ने धेरै भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् । मधेस प्रदेशअन्तर्गत खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले प्रदेशलाई सहयोग गर्ने विषयमा संघीय सरकार बाधक रहेको भन्दै अझै पनि केन्द्रीकृत सोच हाबी रहेकाले चाहेको जस्तो विकास गर्न नसकिएको बताइन् ।

कार्यक्रममा प्राडा भोगेन्द्र झाले अतीतविनाको योजना काम लाग्न नसक्ने भन्दै योजना बनाउँदा अतीतलाई नबिर्सन आग्रह गरे । उनले जनकपुरधामको विकास गर्दा फराकिलो सोचका साथ दीर्घकालीन र मजबुत योजना बनाउनुपर्नेमा जोड दिए । यहाँ बनाइएका सडक तथा ढलहरू दीर्घकालीन रूपमा मजबुत नरहेको झाको भनाइ थियो । उनले शिक्षाविना कुनै पनि योजना अधुरा हुने भन्दै शिक्षाका क्षेत्रमा दीर्घकालीन र प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

‘मधेसको निराशा भित्र लुकेको आशा’

दोस्रो सत्रका वक्ताहरूमध्ये पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीयता मधेसका लागि अपरिहार्य रहेको भन्दै यसको अर्को विकल्प नरहेको बताए । उनले संघीयता पक्ष शक्तिहरू विकास, निर्माणका पक्षमा भन्दा अन्य विवादमा फसेकाले समस्या देखिनुका साथै कतिपयमा असन्तुष्टि देखिएको धारणा राखे ।

कार्यक्रममा मधेस आन्दोलनका अगुवा विभा ठाकुर र सरोजकुमार मिश्रले जनताले सपनामा देखेको संघीयता र अहिलेको संघीयता फरक रहेको बताउँदै विकासका लागि संघीयता मात्रै विकल्प नभएको बताए । उनीहरूले मधेस आन्दोलनका अगुवा युवाहरूको अवस्था अहिले कमजोर बन्दै जाँदा पनि मधेस केन्द्रित दललाई कुनै प्रभाव नपरेको गुनासो राखे । उनीहरूले अहिले युवा पुस्तामा नै संघीयता प्रतिको आकर्षण घट्दै गएको बताएका थिए । राजनीतिक विश्लेषक राकेश मिश्रले संविधान निर्माणका क्रममा संघीयता पक्षधर मधेस केन्द्रित दलहरू कमजोर भएका बताए ।

तेस्रो सत्रका एकल वक्ता विचारक सिके लालले छठपर्वको समाजिक तथा सांस्कृतिक महिमाको बारेमा वयान गरेका थिए । छठपर्वमा प्रकृतिको पूजा, प्रयोग र पद्धतिका साथै छठले बसाएको समाजिक सद्भाव, एकता, सहयोगलगायत विशेषताको विषयमा चर्चा गरे । लालले छठले देखाएको एकताबाट वर्तमान राजनीतिक दलका नेताले पाठ सिकेर राजनीतिमा पनि सुधार गर्नुपर्ने सुझाव दिए ।

‘परम्परागत छठले विभेदको अन्त्य गरिसक्दा पनि वर्तमान राजनीतिक दल र सरकारले किन गर्न सकिरहेको छैन ?’, उनले प्रश्न गरे । छठ पर्वमा पुरोहित वा मन्त्र पढ्ने कुनै पनि सहजकर्ता नरहेको भन्दै लालले यस पर्वमा व्रतालु र प्रकृति, सूर्य देवता र छठी मइयाको बीचमा सिधा संवाद हुने बताए । ‘छठमा मन्त्र हुँदैन’, उनले भने, ‘लोकगीत र जनहित हुने पर्व हो यो ।’
समाजमा ठूला र साना जातको वर्गीकरण रहेको अवस्थामा छठले सबैलाई एक ढिक्का पारेकाले यो पर्व वर्ण र लिंग विमुख्त पर्व रहेको लालको भनाइ थियो । उनले भने, ‘पहिला आफूलाई ठूला जात भन्नेले छठ गर्थेनन् । पछि बग्दै गरेको नदीमा गर्न थाले र पानीको बहावअनुसार स्थान व्यवस्थापन गर्थे । पछि पोखरीमा पनि छठ हुन थालेपछि विभेद आफैँ समाप्त भयो र छठपर्वका रूपमा मनाइन थालियो ।’

तिनै सत्रको सहजीकरण मधेस मानसका अगुवा मनोज साह, नवीन झा र अनुज मिश्रले गरेका थिए ।

प्रतिक्रिया