काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) रहेको र कर्जाको माग बढ्न नसकेको भन्दै बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने ६ बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर नबढाउने बैकहरुमा प्राइम कमर्शियल, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, र सिटिजन्स बैंक रहेका छन् ।
कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.३३२ र संस्थागततर्फ ०.३०७ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । कात्तिकमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ९.९६४ प्रतिशत रहेकोमा मंसिरमा घटेर ९.६३३ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर कात्तिकमा ७.८५ प्रतिशत रहेकोमा मंसिरमा ७.५४७ प्रतिशतमा झरेको छ । मंसिरमा वाणिज्य बैंकबीच निक्षेपको ब्याजदर १.६३५ प्रतिशतसम्म फरक भएको छ । अधिकतम दिनले १०.६० प्रतिशत र न्यूनतम दिने ८.९६८ प्रतिशत ब्याजदर दिने भएका छन् । अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार दोस्रो महिना हो । कात्तिकमा पनि २० मध्ये १४ वाणिज्य बैंकले ब्याजदर घटाएका थिए ।
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि असोजमा बैंकहरूले निक्षेप आकर्षित गर्न ब्याजदर बढाएका थिए । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरू ब्याजदर घटाउन बाध्य भएका हुन् । साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।
मंसिरमा सबैभन्दा धेरै निक्षेपको ब्याजदर एनआइसी एशिया बैंकले घटाएको छ । कात्तिककोे तुलनामा मंसिरमा एनआइसीले २.०३५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । कात्तिकमा ११.०३ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर मंसिरमा ८.९६८ प्रतिशतमा झारेको छ । त्यसैगरी, एनएमबी बैंकले पनि १ प्रतिशत विन्दुभन्दा बढी ब्याजदर घटाएको छ । कात्तिकमा ११.००३ प्रतिशत रहेको एनएमबीको व्यक्तिगत मुद्दतीको ब्याजदर मंसिरमा ९.७६ प्रतिशतमा झारेको छ ।
मंसिरमा ३ बैंकले सबैभन्दा धेरै १०.६०३ प्रतिशत ब्याजदर दिने भएका छन् । हिमालयन, नेपाल एसबीआइ र माछापुच्छ्रेले व्यक्तिगत मुद्दतीमा १०.६०३ प्रतिशत ब्याजदर दिने भएका छन् । मंसिरमा निक्षेपको सबैभन्दा कम ब्याजदर एनआइसी एशिया बैंकको छ । यसले व्यक्तिगत मुद्दतीमा ८.९६८ प्रतिशत र संस्थागतमा ६.९६८ प्रतिशत ब्याजदर दिने भएको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड ८.९७ प्रतिशत, सानिमा, प्रभु, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले ९ प्रतिशत ब्याजदर दिने भएका छन् । नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, ग्लोबल आइएमई, एनएमबी, सिटजन्स र सिद्धार्थ बैंकले ९ देखि १० प्रतिशतको बीचमा ब्याज दिने जनाएका छन् ।
सेयर धितो कर्जा ४ अर्ब ७० करोड पुग्यो
चालु आर्थिक वर्षको असोज मसान्तसम्म सेयर धितो कर्जा ४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत साउन महिनादेखि सेयर धितो राखेर कर्जा बढ्न थालेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म ७६ अर्ब ३० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा आइपुग्दा यो ६.२ प्रतिशतले बढेर ८१ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।
यसरी पछिल्लो समय सेयर धितो कर्जा बढ्नुको प्रमुख कारण नियमाकीय लचकता प्रमुख कारण मानिएको छ । यसैगरी, सेयर बजार घटेर सस्तो हुँदा पनि लगानीकर्ताले कर्जा लिएर भए पनि सेयर किन्न थालेको अनुमान पनि गरिएको छ । यता, विस्तारै ब्याजदर घट्न थालेको छ । सेयर बजार बियरिस चक्रमा गएको पनि लामो समय भइसकेको छ । अब विस्तारै ट्रेन्ड परिवर्तन हुन सक्ने अपेक्षामा पनि लगानीकर्ता कर्जा लिनतिर आकर्षित भएको अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा एक सय प्रतिशत जोखिम भार कायम गरेको थियो । यो व्यवस्था लागु भएसँगै २५ लाखदेखि ५० लाख रुपैयाँसम्म सेयर धितो कर्जा लिने लगानीकर्ताको संख्या बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म २५ लाखदेखि ५० लाख रुपैयाँसम्म १४ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । असार मसान्तसम्म यो शीर्षकमा १२ अर्ब ७८ करोड रुपैयाँ प्रवाह भएको थियो । केही समय पहिले मात्रै केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जाको सीमा बढाएको छ ।
जसअनुसार एकल व्यक्तिको हकमा १५ करोड रुपैयाँ र संस्थागत लगानीकर्तालाई २० करोड रुपैयाँ पु¥याएको छ । यसले पनि सेयर कर्जा बढ्न सहयोग पुगेको छ ।
प्रतिक्रिया