महागुरु फाल्गुनन्दको १३९औँ जन्मजयन्ती आज

काठमाडाैं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन विसं २००५ मा भएको हो । किराँत समाज सुधारमा उनले पुर्‍याएभएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोवास रहेको पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घका संस्थापक अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए ।

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फाल्गुनन्दको १३९औँ जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । फाल्गुनन्दको जयन्तीका अवसरमा आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरेर उनीहरूले सामाजिक रूढीवादीको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न महागुरु फाल्गुनन्दले दिनुभएको मार्गनिर्देश अनुशरणीय रहेका बताएका छन् ।

सन्देशमा राष्ट्रपति पौडेलले सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्द धार्मिक गुरु मात्र नभई सामाजिक अभियान्ताको रुपमा समाज सुधारक भई कार्यसमेत गरेको उल्लेख गरेका छन् । उनले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन् ।

उपराष्ट्रपति यादवले फाल्गुनन्दको उच्च आदर्श, सद्विचार, पवित्र उद्देश्य र उनले अवलम्बन गरेको सत्मार्ग किरात धर्म र संस्कृतिका लागि मात्रै नभई सिङ्गो नेपाली समाज र अन्य धर्मावलम्बीका लागि पनि उत्तिकै मार्गदर्शन गर्ने महत्वपूर्ण पक्ष भएको बताएका छन् ।

फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनले आ–आफ्नो संस्कृति र परम्परा मनाउने नाममा पछिल्लो समय नेपाली समाजमा विकास हुँदै गएको भड्किलोपन, आडम्बर र महङ्गा कुसंस्कृतिलाई मितव्ययी एवम् संयमित बनाउन सहयोग पुग्ने सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री दाहालले समाज सुधारक फाल्गुनन्दले किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उनको उपदेशको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिएको छ । फाल्गुनन्दले अगाडि सारेको समाज सुधारका महत्वपूर्ण सामाजिक एवम् सांस्कृतिक पक्ष किरात धर्मावलम्बीका लागि मात्र नभई सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय रहेको उनले बताएका छन् ।

प्रतिक्रिया