एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाखको चेक हस्तान्तरण

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई रु ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कार्तिक १७ गतेको विनाशकारी भूकम्प पश्चात एक जिम्मेबार अत्यावश्यक सेवा प्रदायकका रुपमा ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकहरूलाई रु ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराएको थियो ।

एनसेलले बिहीवार आफ्नो प्रतिबद्घता अनुरुप कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलय, सुर्खेत पुगेर रु ५० लाखको चेक हस्तान्तरण गरेको छ । चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर, विशाल उपाध्यायले कर्णाली प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बिसीलाई एक कार्यक्रममाझ हस्तान्तरण गरेका थिए ।

‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिनु भएकोमा धन्यवाद। यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गदै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत, पुनर्स्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठूलो अर्थ राख्दछ’ वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बिसीले भने ।

कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरुमा आफ्नो तर्फबाट एनसेलले कसरी सहगोग पुर्याउन सक्छ भन्नेबारेमा सम्बन्धित अधिकारीहरूसँग एनसेलले छलफल जारी राखेको र भुकम्प प्रभावितहरुलाई आवश्यक सहयोग प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ ।

‘यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौं,’ एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर, विशाल उपाध्यायले भने ।

एनसेलको यो सहयोगका लागि धन्यवाद दिँदै कर्णाली प्रदेश सरकारका कामु मुख्य सचिव चुडामणि पौडेलले भने, ‘कर्णालीका भूकम्पपीडित जनतालाई सहयोग लिएर सुर्खेतमा आउनु भएकोमा कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीको तर्फबाट म सम्पूर्ण एनसेल परिवारलाई धन्यवाद ज्ञापन गर्दछु ।’ यस सहयोगसँगै भूकम्पपीडितको सहयोगमा एनसेलको सहयोग भन्डै रु १ करोड पुगेको छ ।

प्रतिक्रिया