मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँमा एकै परिवारको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार छायाँनाथ रारा नगरपालिका घर भई हाल बाँके कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही पक्राउ परेका हुन् । यसमा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको प्रहरीको अनुमान छ र यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
स्रोतका अनुसार गोरखबहादुर मृतकका नातेदार पर्छन् । कार्तिक ८ गते राति तीन बालबालिका सहित परिवार कै सामूहिक हत्याको सूचना प्रहरीले १० गते बिहान ९ बजे मात्र पाएको थियो । २८ वर्षीय श्रीदेवी बोहरा, उनका ११ वर्षीय छोरा मनोज, ९ वर्षकी छोरी अप्सरा र ८ महिने छोरा रहरको हत्या भएको हो ।
हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपित भागेका थिए ।
प्रतिक्रिया