छायांकनमा ‘अञ्जिला’

काठमाडौं । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अञ्जिला’ को निर्माण गरिएको छ । गत सातादेखि खेलाडी सुब्बाकै जन्मथलो इलामको आइतबारे आसपासमा यसको छायाङ्कन भइरहेको निर्देशक मिलन चाम्सले जानकारी दिए ।

निर्देशक चाम्सले प्रेरणाको स्रोत बन्न सक्ने भएकाले चलचित्र बनाएको बताए । उनले भने, ‘प्रेरणाको स्रोत बन्न सक्ने व्यक्तिको कथा हामीले भन्न जरुरी छ । मैले दोस्रो बायोपिक निर्देशन गरेको हुँ । अञ्जिलाले गरेको सङ्घर्ष र प्राप्त गरेको सफलताले धेरैलाई प्रेरणा दिनेमा विश्वस्त छु, यो उनको जीवनीमा आधारित रहेता पनि प्रस्तुतीकरण फिल्मी शैलीमै छ ।’

नेपालमा जीवनीबाट प्रभावित (बायोपिक) चलचित्र बन्ने क्रमले केही समययता निरन्तरता पाएको छ । भारतसँगै हलिउडमा त्यस्ता चलचित्र धेरै नै बन्ने गरेको पाइएता पनि नेपालमा भने त्यो सङ्ख्या न्यून छ । व्यापारिकरूपमा त्यस्ता चलचित्र असफल हुँदा निर्माताले आँट गर्न सकेका छैनन् ।

दुवै आँखाको ज्योति गुमाएर पनि धेरैको जीवन जिउने प्रेरणा बन्न सफल सृष्टि केसीको जीवनीमा ‘ब्लाइड रक्स’ चलचित्र निर्देशन गरेका निर्देशक चाम्सले पुनः अर्को चलचित्र तयार गरिरहेका छन् । उनले यसअघि गोर्खालीको वीरताको कथामा ‘गोर्खा वारियर’ निर्देशन गरेका थिए ।

इलाम, झापा र काठमाडौंमा छायाङ्कन हुने चलचित्रमा खेलाडी सुब्बा स्वयंले आफ्नो भूमिका निर्वाह गरिरहेकी छन् । यसमा अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का लगायतका कलाकारले पनि अभिनय गरिरहेका छन् । चलचित्रमा यम थापाको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको छायांकन निर्देशन रहेको छ ।

प्रतिक्रिया