धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति समर्पित गरेर तयार पारिएको गीत ‘हे हर्क अघि बढ पछि नफर्क’ को गीति सार्वजनिक गरिएको छ । श्रम संस्कृतिको सहरको रुपमा अन्तर्राष्ट्रिय स्तरमा धरानलाई चिनाउने विषयलाई गीतमा समेटिएको छ ।
सेवक अभियानका संयोजक राजिब हलवाईको रचना तथा निरज श्रेष्ठको संगीत रहेको उक्त गीतमा गायक राजेश पायल राईको स्वर रहेको छ । सिल्भर इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोको सम्पादन एडम लिम्बूले गरेका हुन् ।
सार्वजनिक कार्यक्रममा मेयर साम्पाङ आफ्नो परिवारसहित सहभागी थिए भने उपमेयर अइन्द्रविक्रम बेघा, अभिनेत्री रेखा लिम्बू, गीतकार मीना सिंगकसहित श्रमदाताको ठुलो संख्यामा उपस्थिति रहेको थियो । सिल्भर इन्टरटेन्मेन्टका निर्देशक सौरभ श्रेष्ठको परिकल्पना र आग्रहमा एकै रातमा गीत लेखेको र यो गीत मेयर साम्पाङको अहिलेसम्म गरेका काम तथा गतिविधिसँगै उनलाई सुझावसमेत दिने प्रयास गरेको गीतकार हलवाईले बताए ।
उनले मेयर साम्पाङको श्रम अभियान र विकासको कार्यबाट आफू प्रभावित भएर गीतको माध्यमबाट योगदान दिने प्रयास गरेको जिकिर गरे । गीतको भिडियोले मेयर साम्पाङ निर्वाचित भएको, सपथ ग्रहण गरेको र त्यसपछि खानेपानी, वृक्षारोपणलगायत कार्यमा भएको श्रमदान अभियान, लागुपदार्थ दुव्र्यसनविरुद्धको अभियानको दृश्यलाई कैद गरिएको छ ।
गायक राजेशपायलले मेयर साम्पाङको कामबाट प्रभावित भएको बताउंदै यो गीत श्रमदाताप्रति समर्पित रहेको भिडियो म्यासेजमार्फत दिएका थिए । मेयर साम्पाङले गीतसँगै भिडियो राम्रो बनेको प्रतिक्रिया दिए । उनले भने, ‘मैले पनि धेरै गीत लेखेको छु, गाएको छु तर कलाको पारखी हुन र थुप्रै फिल्महरु हलमा हेरियो तर आफ्नै फिल्म गीतमार्फत हेर्दा आँखामा आँसु आयो ।’
उनले भावुक भएर भने श्रमदान अभियानलाई श्रम क्रान्तिको रुपमा अघि बढाउन सकेको भन्दै पौरखी श्रमदातालाई धन्यवादसमेत दिए । मेयर साम्पाङले हर्क अब आफ्नो एक्लो नाम नभएको र देश उठाउन परिश्रम गर्ने व्यक्तिको नाम भएको जिकिर गरे ।
उनले थपे, ‘अब यस्ता धेरै हर्कहरुले जन्म लिनुपर्दछ ।’ उपमेयर अइन्द्रविक्रम बेघाले गीतले धरानमा के हुँदैछ र यसको पहिचान कस्तो बनाउँदैछौं भनेर भिडियोले प्रष्ट पारेको बताए । उनले संसार श्रमले नै बनेको धारणा व्यक्त गर्दै श्रमलाई सम्मान गर्नुपर्ने र श्रम संस्कृतिको वास्तविकता तथा शक्तिको उजागर धरानबाट भएको जिकिर गरे ।
प्रतिक्रिया