लोकवार्ता सङ्गोष्ठी

कास्की । नेपालको मौलिक संस्कृतिको जर्गेना गर्ने लक्ष्यका साथ लोकवार्ता परिषद् नेपालले पर्वत, बागलुङ र म्याग्दीमा १२औँ लोकवार्ता सङ्गोष्ठी आयोजना गर्न लागेको छ । नेपाली जनजीवनमा प्रचलित संस्कृति, लोककला, साहित्य, संस्कार, रीतिथिती तथा परम्परागत ज्ञानको अध्ययन र संरक्षण गर्ने उद्देश्यले गोष्ठी आयोजना गर्न लागिएको हो ।

परिषद्द्वारा आयोजित उक्त सङ्गोष्ठी यही कात्तिक १८–१९ पर्वत, २१ बागलुङ र २२–२३ गते म्याग्दीमा सञ्चालन हुने सङ्गोष्ठी तयारी समिति बागलुङका संयोजक प्रा डा दिनबहादुर थापाले जानकारी दिए । उनले सङ्गोष्ठीमा विषय विज्ञद्वारा कार्यपत्र प्रस्तुति गर्नुका साथै त्यसमाथि बहस र समीक्षा हुने बताए ।

उनले भने, ‘तीनै जिल्लाका कार्यक्रममा पहिलो दिन २० कार्यपत्र प्रस्तुत हुनेछन् । केही जिल्लाबाट र अधिकांश बाहिरबाट आउने विज्ञहरुले कार्यपत्र पेस गर्नुहुनेछ ।’ थापाले दोस्रो दिन जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन भ्रमण तय गरिएको जनाए ।

सो कार्यक्रमले धवलागिरि क्षेत्रको सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धानमा विद्धान तथा खोजकर्तालाई प्रेरित गर्ने विश्वास आयोजकले लिएको छ । विभिन्न जातजातिको संस्कृति, जीवनशैली, धार्मिकस्थल, प्राकृतिक सम्पदा, कला, साहित्य आदिको उत्थान र संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने थापाको भनाइ थियो ।

परिषद्ले सम्बन्धित विषयका विज्ञहरुलाई लोकवार्ताका विविध विषयमा अध्ययन गर्न लगाएर उक्त अध्ययनबाट आउने निचोडलाई पुस्तकका रुपमा प्रकाशन गर्दै आएको छ । परिषद्ले बर्सेनि विभिन्न जिल्लामा पुगेर लोकवार्ता सङ्गोष्ठी गर्ने गरेको छ । पर्वत, बागलुङ र म्याग्दीमा हुने सङ्गोष्ठीमा बाहिरबाट आउने ५० अतिथिसहित झण्डै एक सयको सहभागिता हुने संयोजक प्रा डा थापाले जानकारी दिए ।

उनले स्थानीय तहलगायत विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा सो कार्यक्रम गर्न लागिएको बताए । थापाले भने, ‘खोज, अनुसन्धान र प्राज्ञिक विषयसँग सम्बन्धित कार्यक्रम भएको हुँदा लोकवार्ता सङ्गोष्ठीले छुट्टै महत्व र गरिमा बोकेको छ । परम्परागत ज्ञानको खोजी र संरक्षणले नै हाम्रो पहिचान स्थापित हुन्छ भन्नेमा परिषद् दृढ छ । यो अभियानमा सबैको सहयोगको अपेक्षा गरेका छौँ ।’ उनले नेपालको मौलिक संस्कृति जर्गेनामा सङ्गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने आफूले विश्वास लिएको बताए ।

प्रतिक्रिया