रुकुम पश्चिम । जाजरकोटमा शुक्रबार रातियता भूकम्पका १७५ भन्दा धेरै धक्का मापन गरिएको छ । शनिबार दिउँसोसम्म १७५ भन्दा धेरै धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
केन्द्रका अनुसार उक्त धक्का ‘मझौला भूकम्प’ हो । त्यसपछि जाजरकोटमै चार म्याग्निच्युडदेखि माथिका पाँच धक्का मापन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मुख्य भूकम्पपछिका धक्का परकम्प हुन् । तीमध्ये ‘ठूलो’ परकम्प शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का थियो ।
६.४ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको केन्द्रका भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिए । भूकमपले ठूलो जनधनको क्षति पु¥याएको छ । भुकम्पमा परी रुकुम पश्चिममा कम्तिमा ५२ जनाको मृत्यु भएको छ, जसमध्ये महिला र २५ पुरुष छन् । जिल्लाको आठविसकोट नगरपालिकामा भूकम्पले धेरै क्षति पुर्याएको छ ।
शुक्रबार मध्यरातमा आएको शक्तिशाली भूकम्पले सबैभन्दा धेरै प्रभावित रुकुम पश्चिमको आठविसकोट नगरपालिका रहेको छ । मध्यराती आठबिसकोटमा गाउँ नै सखाप हुनेगरी आएको भुकम्पबाट ज्यान गुमाएका र घाईतेलाई मध्यरातीदेखि नै खोज तलास र उद्धार सुरु भयो । प्रत्येक वडाबाट घाईते सहित मृतकको विवरण आउन थाल्यो । गाउँमा सन्नटा छायो । सिङ्गो गाउँ नै शोकमा डुब्यो ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भुकम्पबाट पालिका नै शोकमा डुबेको छ । आठबिसकोटको एउटै वडामा २४ जनाको मृत्यु भएको छ । शक्तिशाली भुकम्पले छिमेकी पालिका नलगाडमा केन्द्रबिन्दु बनाएको कारण रुकुम पश्चिमको आठबिसकोटमा ठुलो जनधनको क्षति भएको अधिकारीहरु बताउँछन । आठबिसकोट नगरपालिकामा मात्रै ४३ जनाको मृत्यु भएको आठबिसकोटका नगरप्रमुख रवि केसीले जानकारी दिए ।
प्रमुख केसीका अनुसार नगरपालिकाको धेरैजसो ठाउँमा हजारौँ संख्यामा घर पुरै क्षतिग्रस्त भएका छन् । माटोबाट बनेका कच्चि घर पुर्णरूपमा क्षतिग्रस्त छन भने केही पिलरबाट बनेका घर चर्किएका मात्रै छन्, तर ती घरमा पनि जानसक्ने र बस्नसक्ने अवस्था छैन । नगर प्रमुख रवि केसीले दिएको जानकारी अनुसार ४३ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् ।
केसीका अनुसार एउटै घरका चार जनासहित वडा नम्बर १४ मा मात्रै २४ जनाको ज्यान गएको छ । नेपाल प्रहरीका अनुसार शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको जनाएको छ । भुकम्पमा परी रुकुम पश्चिमका सयौँ घाईते भएका छन् । घाईते केहिको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । उद्धार गरेकाहरुको नेपालगन्जस्थित भेरी अस्पताल र सुर्खेतस्थित प्रदेश अस्पतालमा थप उपचार भैरहेको छ । भने केहि उपचारपछि घर फर्किएका छन् ।
त्यसैगरी भुकम्पको मुख्य केन्द्रविन्दु रहेको जाजरकोटमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ । यो समाचार तयार पार्दा सम्म जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यो सँगै हाल सम्म मृत्यु हुनेको संख्या १५७ पुगेको छ , भने १६६ जना घाईते भएको नेपाल प्रहरीले जनाएको छ । स्थानीय सरकार र प्रहरीले दिएको सूचनामा अन्तर देखिए पनि केही स्थानमा मृतकको शव पोष्टममार्टम गर्न नलिएको कारण संख्या फरक हुन सक्ने जनाईएको छ ।
घाइतेमध्ये अधिकांशको स्थानीय अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूको प्रदेश अस्पताल सुर्खेत र भेरी अस्पताल नेपालगञ्जमा उपचार जारी छ । रुकुम पश्चिमका ७ घाइतेलाई भने उपचारार्थ काठमाडौं लगिएको छ, जसमध्ये दुईको अवस्था चिन्ताजनक रहेको बताइएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ ।
सबै मृतकको सनाखत भईसकेको बताए । मृतकमा ४ महिला र ६ पुरुष छन् । मृत्यु हुनेमा वडा नम्बर २ परियार टोलकी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाइना बगर बस्ने ३१ वर्षीय धनवीर पुन, २८ वर्षीया चुम्निमा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन, १० महिनाका बालक रेजन वली र ४ वर्षीया सरस्वती विक छन् । यस्तै, वडा नम्बर ४ बस्ने ८ वर्षीय निर्जल चन्द, २५ वर्षीय सकुन्तला दमाई, ६ वर्षीय कृष्ण परियारको पनि मृत्यु भएको छ ।
राहात र उद्धारमा चुक्दैनौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम र जाजरकोटमा पुगेर पीडितको राहत र उद्धारमा सहकार्य र हातेमालोका लागि सहकार्य गर्न सबैलाई अपिल गरेका छन् । भूकम्प प्रभावित जिल्लाको निरीक्षणमा आएका प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैमा अपिल गरेका हुन् ।
उनले भने ‘शुक्रबार राति गएको विनासकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्दार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा आएको छु । पीडितलाई राहत र पुनस्र्थापना एवं घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा हार्दिक अपील गर्दछु ।’
शनिबार बिहान जाजरकोटको सदरमुकाम खलङगामा पुगेर रुकुमपश्चिम पुगेका प्रधानमन्त्री प्रचण्डले आठबिसकोट नगरपालिमा पुगेर भुकम्पबाट घाईतेहरुको उद्धार र उपचारमा कमी हुन नदिने प्रतिबद्धता जनाएका हुन । जिल्लाको चौरजहारी अस्पताल, सानीभेरी गाउँपालिका अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा पुगेर घाईतेहरूको अवस्थाको जानकारी लिदै प्रधानमन्त्री दाहालले सरकार उद्धार र राहतमा लागेको देश तथा विदेशबाट सहयोग जुटाएर राहात उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । साथै उनले सरकारले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रधानमन्त्रीले घाइतेको उद्धार तथा राहतको व्यवस्था बारेमा जिल्लास्थित सुरक्षा निकाय, स्थानीय सरकारसँग जानकारी लिदा रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तत्काल उद्धार र राहतका कार्यमा सहयोग जुटाउन अनुरोध गरेका थिए । सरकारले भुकम्पले क्षति पुर्याएको थाहा पाउनासाथ तत्काल उद्धारमा लागेर भुकम्प प्रभावित क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलि खटाएर उद्धारको काम गरिरहेको बताए ।
मुस्किलले बाँचेकाहरू भन्छन्
शुक्रबार सवेरै खाना खाएर भैँसीलाई घाँस दिएर सुतेका रुकुम पश्चिमको सानीभेरी – ५ का ५५ वर्षीय दल्जित बस्नेतलाई भुकम्प आएको थाहै थिएन् । गाउँमा छिमेकका मान्छे होहल्ला गर्दै घर बाहिर निस्किए पछि उनी आफ्नो घर बाहिर निस्केको बताउँछन् । राति १० बजे सुतेका उनी भुकम्पले घर हल्लाएको सपना देखे जस्तै लागेको सुनाउँछन् । बस्नेत भन्छन, ‘सुरुमा घर घुमेकोजस्तो लाग्यो ।
पछि थाहा पाएँ भुईचालो गएको रहेछ ।’ उनी केही दिन पहिले मात्रै सानीभेरी गाउँपालिकादेखि आठबिसकोट १२ को लामापुर्छा भन्ने ठाउँमा भैँसी लिएर आएका थिए । सोही ठाउँमा भुकम्पमा परेर घाईते भए । उनको खुट्टामा चोट लागेको छ । अहिले उनी आठबिसकोट –९ स्थित नगर अस्पतालमा उपचाररत छन् ।
बस्नेत भुकम्पबाट बचेर पुनर्जन्म पाएको बताउँछन । घर ढल्दा खुट्टामा चोट लाग्यो तर शरिर बच्यो । पुरै गाउँमा घरहरुका पर्खाल भत्किएको अवस्थामा छ । उनले भने, ‘बासको अभावमा कति दिनसम्म खुला आकाशमुनि बस्नुपर्ने हो कुनै ठेगान छैन ।’
त्यस्तै अर्का घाईते आठबिसकोट वडा नम्वर १२ का इन्द्र बहादुर खड्का भन्छन, ‘मध्यरातमा भुकम्पले बेस्सरी हल्लायो घरको चारै भागको पर्खाल भत्कियो, टाउकोमा चोट लाग्यो । तर भागेरै बाँच्न सफल भैयो । भाग्दा भाग्दै टाउकोको एक भागमा ढुंङ्गा लागि सकेछ ।’ खड्का अहिले आठबिसकोटकै नगर अस्पतालमा उपचार गराईरहेका छन् । उनको टाउकोमा चोट लागेको छ । खड्का जस्तै सयौँ मानिस अहिले भुकम्पमा परी घाईते भएका छन् । सबैको व्यथा एउटै छ ।
शुक्रबार गएको भूकम्पले सयौँजनाको घरबास नै उठाएपछि अहिले सबै परिवार बिचल्लीमा परेको छ । ढुंगामाटोले बनेको घर छिनभरमै ढलेर नष्ट भएपछि उनिहरु अहिले खुला आकाशमुनी बस्न बाध्य भएका छन् । मानविय क्षतिसँगै यहाँका अधिकांस घरहरू पनि भूकम्पको कारण क्षतिग्रस्त भएका छन् । बिभिन्न ठाउँहरुमा ठुलो मानवीय क्षति भएको छ । घरमात्रै नभई चर्पीहरुसमेत भत्किएका छन् । चर्पी भत्किएपछि गाउँलेहरु खुला ठाउँमा दिसापिसाव गर्न बाध्य छन् ।
भूकम्प पीडितलाई सहयोग जुट्दै
जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न सुरु भएको छ । विभिन्न कम्पनी तथा संघ संस्थाले भूकम्प पीडितलाई सहयोग रकम घोषणा गर्न सुरु गरेका छन् ।
निजी क्षेत्रको ठूलो वायु सेवा कम्पनी बुध्द एयरले भूकम्पपीडितका लागि एक करोड आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
‘जाजरकोट तथा रुकुम पश्चिममा गएको भूकम्पका कारण थुप्रै नागरिकले ज्यान गुमाएको र थुप्रै परिवार घरबारबिहीन भएका छन् । यस दुःखद् परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तयार हुनैपर्छ । बुध्द एयर प्रालिको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा एक करोड सहयोग दिने निर्णय गरेका छौँ”, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बुद्ध एयरले उद्धार तथा राहत सामग्री ढुवानीमा पनि सहयोगका लागि प्रतिबद्धता जनाएको छ । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पनि भूकम्पपीडितलाई ५० लाख सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानुनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायले जानकारी दिए ।
एनसेलले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको ‘भ्वाइस’ र ‘डाटा’ निःशुल्क गर्ने पनि निर्णय गरेको छ । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सञ्चालन गर्न निजी क्षेत्रका सेवा प्रदायकहलाई आग्रह गरेको थियो । शनिबारैै नेपाल टेलिकमले पनि पाँच दिनका लागि भूकम्प प्रभावित क्षेत्रमा भ्वाइस र एसएमएस निःशुल्क तथा सीम पनि वितरण गर्ने घोषणा गरिसकेको छ ।
गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमितिले पनि भूकम्पपीडितलाई १० लाख उपलब्ध गराउने घोषणा गरेको छ । महासचिव गौरीराज जोशीले शनिबार एक विज्ञप्ति जारी गरी संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख उपलब्ध गराउने जानकारी दिए ।
त्यसैगरी आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्पपीडितका लागि २१ लाख सहयोग गर्ने भएको छ । अध्यक्ष शर्माले शनिबार विज्ञप्ति जारी गर्दै एनआरएनए अभियन्ताबाट संकलन गरेर उक्त रकम सहयोग गर्ने बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि अभियन्ता चिकित्सकीय टोलीसहित खटिएको जानकारी दिए ।
सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल पाँच–पाँच करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रादेशिक सरकार उनको भनाइ छ ।
सुदुरपश्चिम प्रदेश सरकारले पनि भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल एक करोड सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।
प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको आकस्मिक बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहित २० चिकित्सकको टोली तत्काल पठाउने निर्णयसमेत गरेको बैठकपछि प्रदेश सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैबीच मानव सेवा आश्रम र आनिछोइङ डोल्मा फाउण्डेसनले भूकम्पबाट परिवारका सम्पूर्ण सदस्य गुमाइ अनाथ भएका बालबालिका, अशक्त वृद्धवृद्धा र एकल महिलालाई तत्काल संरक्षण प्रदान गर्ने जनाएको छ ।
प्रतिक्रिया