औपन्यासिक कृति ‘गरिमा’ लिएर पाठकमाझ आएकी छन् उपन्यासकार बिष्णा विरही । यसो त विरहीको यसअघि नै ‘रित्तारित्ता आँखा’ प्रकाशित भइसकेको छ भने ‘विरह’ र ‘सन्ताप’ गरी दुईवटा गीति एल्बम, ‘क्षितिजपारिको जून’ (गीत÷गजलसङ्ग्रह) र ‘बन्दी सपना’ (मुक्तकसङ्ग्रह) आदि पनि प्रकाशित भइसकेका छन् । विभिन्न साहित्यिक संस्थामा आवद्ध विरही ‘डायस्पोरा उत्कृष्ट गजलकार’ सम्मानबाट सम्मानित पनि भइसकेकी छन् । हाल उनी अमेरिकाको कोलोरोडामा बसेर साहित्य सिर्जनारत् छन् ।
उपन्यास ‘गरिमा’ एउटी परित्यक्त बालिका, जो अस्पतालमा असहाय जीवन बिताइरहेकी हुन्छे, उसलाई एउटी आफैँ पनि प्रेमपीडित नारी वृन्दाले धर्मपुत्रीको रूपमा ग्रहण गरेको सामान्य कथानकबाट सुरु भएको छ । गरिबको नासोको रूपमा छोडिएकी गरिना वृन्दाले धर्मपुत्रीको रूपमा ग्रहण गरेपछि उनै वृन्दाको जीवनको गरिमा बन्न पुग्छे र उसको नाउँ नै गरिमा हुनपुग्छ ।
वृन्दाको ममत्वमा हुर्कँदै र बढ्दै सङ्घर्षमय जीवनका अनेक उहापोह पार गर्दै गरिमा प्रहरीसेवामा प्रवेश गरेर डिएसपी हुँदै डबल प्रमोसन पाएर डिआइजीसम्म बनेको र आफ्नो कर्तब्यपालनको क्रममा देशका ठूला शत्रुका रूपमा रहेका कुख्यात अपराधीहरूलाई सजायको भागीदार बनाउन सफल भएको खतरनाक र सनसनीपूर्ण कथानकमा यो उपन्यास बुनिएको छ । यो उपन्यासलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको छ । कुनै चलचित्रको कथाजस्तै छ ‘गरिमा’ उपन्यास ।
उपन्यास पढ्दै गर्दा चलचित्र हेरिहेझैँ लाग्छ र एक–एक दृश्यहरू आँखामा आउँदै–जाँदै गर्छन् । जीवन्त छ उपन्यासको कथानक । धेरै वटा विगत र वर्तमानका घटनाहरूको मिठो संयोजन रहेको उपन्यास ‘गरिमा’ मा मुख्यपात्र वृन्दाको विगत र वर्तमानका कथा छन् । मूलपात्रलाई सघाउन र कथानकलाई अघि बढाउन अरू धेरै सहायक पात्रहरू खडा गरिएका छन् । तर ती पात्रमै मात्र सीमित छैनन, आआफ्नो चरित्र पनि निर्वाह गरेका छन् । विशेषगरी अर्की मुख्यपात्र गरिना अर्थात् गरिमाको चरित्रले उपन्यासलाई संवेदनायुक्त र सनसनीपूर्ण पनि बनाएको छ ।
गरिना एक गरिब र परित्यक्त पात्रको नाउँ हो । कालो वर्ण, उठेको निधार, सामान्यभन्दा अलिक ठूलो नाक, ठूल्ठूला र अलि बाहिर निस्केका आँखा, फूलजस्तै फक्रेका राता ओठ र पुक्क फुलेको गाला भएकी कुरूप र अनौठो अनुहार लिएर जन्मेकी बालिकालाई अस्पतालमै छोडेर गएको हुन्छ एउटा गरिब बाबुले । सोही बालिकालाई अस्पतालमा बिरामी साथी दुर्गालाई भेट्न गएकी वृन्दाले धर्मपुत्रीको रूपमा ग्रहण गर्छिन् ।
उपन्यासमा संयोगहरूको योग छ । अनन्तको पहिलो पत्नीका तर्फबाट भएको छोरा सुनील पनि सात महिनामा अप्रेसन गरी जन्मेको । संयोगले नै फेरि अनन्तको दोस्रो पत्नी बन्न पुगेकी वृन्दाले पनि सात महिनामै अप्रेसन गरेर नै छोरी जन्माउँछिन् । उपन्यासको अन्त्यतिर गृहमन्त्री कलानन्द गरिमाकै बाबु भएको रहस्य खुल्छ, जसले गरिबको नासो भनेर आफ्नी छोरीलाई अस्पतालमै छोडेर भागेको थियो । पहिला विवाह गरेको अनन्तसँगै वृन्दाको पुनः विवाह हुन्छ । यी सबैलाई संयोग नै भन्न सकिन्छ ।
गरिबको नासोको रूपमा गरिना नाम राखिएकी पात्र वृन्दाको जीवनको गरिमाको रूपमा उसको नाम गरिमा राखिन्छ । सोही पात्र गरिमाको जीवनको उहापोहले उपन्यासको कथानकलाई गति प्रदान गरेको छ र उसले प्राप्त गरेको सफलतासँगै उपन्यासको अन्त्य पनि गरिएको छ । मूलतः उपन्यासलाई दुई खण्डमा विभक्त गरेर विश्लेषण गर्न सकिन्छ ।
पहिलो खण्ड वृन्दाको जीवनकथाले भरिएको छ भने दोस्रो खण्डमा गरिमाको जीवनकथा छ । अध्याय बा हसम्म वृन्दाको कथाले बढी ठाउँ पाएको छ भने त्यसपछि अध्याय ते¥हबाट गरिमाको कथाले । यद्यपि उपन्यासमा खण्ड विभाजन गरिएको छैन । कथानकको आधारमा पाठकले उपन्यासलाई वृन्दा र गरिमा दुई पात्रको जीवनका विविध आयामलाई दुई खण्डमा राखेर अध्ययन गर्न सक्छन् ।
उपन्यास पढ्दै गर्दा घटनाहरू चलचित्रको पर्दामा जस्तै छिटोछिटो फेरिँदै जान्छन् । पात्रहरू थपिँदै जान्छन् । सहायक पात्रहरूले घटनाक्रमलाई निरन्तरता दिनमात्रै सघाएका छैनन्, केही हदसम्म आफ्नो चरित्र अर्थात् भूमिका पनि निर्वाह गरेका छन् । मुख्य भूमिका चाहिँ वृन्दाकै छ । वृन्दा प्रेममा धोका खाएर विवाहपश्चात माइतीमै बसेकी महिला हुन् । घटनाक्रमले यस्तो मोड लिँदै जान्छ कि कालान्तरमा पहिला विवाह भएकै पात्रसँग वृन्दाको पुनः विवाह हुन्छ ।
त्यो पात्रको नाउँ हो अनन्त । चारित्रिक दृष्टिकोणमा अनन्त परिस्थितिको परिवन्दमा परेको जिम्मेवार प्रेमीको रूपमा देखिन्छ भने वृन्दा हरेक दृष्टिकोणले एउटी समर्पित नारीको रूपमा । उनले गैरसन्तानलाई पनि ममत्व दिएकी छन् र मातृत्वको भूमिका निर्वाह गरेकी छन् । एउटी समर्पित प्रेमीको पनि भूमिका निर्वाह गरेकी छन् । गरिबको नासोको रहेकी गरिनालाई आफ्नो जीवनको गरिमा बनाएकी छन् र गरिमा साँच्चै देशकै पनि गरिमा बन्न सफल बनेकी छे ।
उपन्यासमा नारी संवेदना र भावुकताको बाहुल्यता छ । नारी मनको द्वन्द्व र अन्तद्र्वन्द्वले उपन्यासमा रोचकता पनि थपेको छ । नारीका भावना, व्यवहार र सङ्घर्षले उपन्यासमा बढी स्थान पाएकाले यसलाई नारीप्रधान उपन्यास भन्न सकिन्छ । नारीपात्रको चरित्रगत दृष्टिकोणले भन्नुपर्दा कोमलता र सहनशीलता बढी छ, पुरुषको जस्तो कठोर भावना र कठोर आचरण कम छ । नारी संवेदना र नारी चरित्रप्रधानता यो उपन्यासको विशेषता नै हो ।
उपन्यासमा पूर्वदिप्तीहरूको अधिकता छ ।
कथानकमा सन्दर्भवश जोडिन आउने पूर्वदिप्तीहरूले कथानकलाई रोचक र सिलसिलाबद्ध बनाए पनि उपन्यासलाई अनावश्यकरूपमा लम्ब्याएको महसुस हुन्छ । उपन्यासमा प्रमुख भूमिका वृन्दाको छ । तर उपन्यासको कथानक भने गरिमामा केन्द्रित छ । त्यसैले कताकता उपन्यासको शीर्षक वृन्दा पो हुनुपर्ने हो कि जस्तो लागे पनि कथानकको केन्द्रविन्दुको आधारमा ‘गरिमा’ शीर्षक दिइएको सार्थक नै देखिन्छ ।
उपन्यासमा संयोगहरूको योग छ । अनन्तको पहिलो पत्नीका तर्फबाट भएको छोरा सुनील पनि सात महिनामा अप्रेसन गरी जन्मेको । संयोगले नै फेरि अनन्तको दोस्रो पत्नी बन्न पुगेकी वृन्दाले पनि सात महिनामै अप्रेसन गरेर नै छोरी जन्माउँछिन् । उपन्यासको अन्त्यतिर गृहमन्त्री कलानन्द गरिमाकै बाबु भएको रहस्य खुल्छ, जसले गरिबको नासो भनेर आफ्नी छोरीलाई अस्पतालमै छोडेर भागेको थियो । पहिला विवाह गरेको अनन्तसँगै वृन्दाको पुनः विवाह हुन्छ । यी सबैलाई संयोग नै भन्न सकिन्छ ।
उपन्यासमा वृन्दाको जीवनको कथाको पाटो अलि संवेदनायुक्त लाग्छ भने गरिमाको जीवनको कथाको पाटोचाहिँ अलि खतरनाक र सनसनीपूर्ण । वास्तविक जीवनभन्दा अलि टाढा, कुनै चलचित्रको कथाजस्तो लाग्छ गरिमाको जीवन र उसले गरेको सङ्घर्षको कथा । घटनाले छिटोछिटो नयाँ–नयाँ मोडहरू लिनु, गरिमाको जीवन धेरै पटक खतरनाक मोडहरूमा पुग्नु र ती खतराहरू पार गरेर गरिमाले सफलता हासिल गरेको कथा निकै साहसिक र सनसनीपूर्ण लाग्छ ।
एउटी नारीको साहस र क्षमतालाई यहाँ अलि बढी नै महत्व दिइएको आभास हुन्छ । न्यायमूर्ति बनेर नारीको हकअधिकार दिलाउनका लागि कानुन पढेको भए पनि समाज र देशको परिस्थितिले कुनै उपलब्धि हुने नदेखेर प्रहरीसेवामा जाने निर्णय गरेर प्रहरीसेवाको उच्च पद डिएसपीबाट सेवा प्रवेश गरेकी गरिमाले आफ्नो पदीय जिम्मेवारी निष्ठा र इमानदारीपूर्वक पूरा गरेर अपराध नियन्त्रणमा एउटा उदाहरण नै प्रस्तुत गर्छे । गरिमाले पदीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भए गरेका घटनाहरू निकै सनसनीपूर्ण र खतरनाक पनि छन् ।
अपराध नियन्त्रणका क्रममा देशका ठूल्ठूला आपराधिक गिरोहसँग सनसनीपूर्ण र खतरनाक भिडन्त गरेर अन्ततः देशका शत्रुका रूपमा रहेका ठूला अपराधीहरूलाई नियन्त्रणमा लिन सफल भएको देखाइएको छ । गरिमालाई एउटी साहसी र बहादुर नारीपात्रको रूपमा प्रस्तुत गरिएको छ । प्रहरी विभागभित्र पद र प्रतिष्ठाका लागि केकस्ता प्रपञ्च र षडयन्त्र हुन्छन् भन्ने तथ्यको खुलासा पनि भएको छ उपन्यासमा ।
डिएसपी रानाजस्ता देश र समाजका शत्रु पनि प्रहरी विभागमा छन्, जसले अपराधीसँग साँठगाँठ गरेर देश र जनताप्रति गद्दारी गरिरहेका छन् अथवा धोका दिइरहेका छन् भन्ने प्रमाण प्रस्तुत गरेर गरिमाले साहिसक काम गरेको देखाइएको छ उपन्यासमा । देशका एसपी, डिआइजी र गृहमन्त्री नै गैरकानुनी धन्दा र आपराधिक गतिविधिमा संलग्न भएको यथार्थलाई काल्पनिक कथामार्फत् उजागर गर्ने प्रयास उपन्यासमा गरिएको छ । चलचित्रको कथाजस्तो लाग्ने यो उपन्यासले देशको एउटा क्रुर यथार्थलाई पनि उजागर गरेको छ ।
उपन्यासको भाषाशैली अत्यन्त सरल, सहज र मिठासयुक्त छ । यद्यपि घटनाहरूको वर्णन र विवरणको प्रधानताले लेखकको विचारपक्ष गौण बन्न पुगेको छ । सामाजिक यथार्थलाई टपक्क टिपेर कथानक बुनिएको छ । कथानकलाई थप रोचक, संवेदनायुक्त र सनसनीपूर्ण बनाउनमा लेखकको कल्पनाशीलताले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विशेषगरी प्रहरीसेवाभित्र आपराधिक गतिविधि नियन्त्रणका लागि अपनाइने उपाय र तिनका प्राविधिक पक्षहरूमा लेखक राम्रैसँग जानकार रहेको अथवा प्रहरीसेवाभित्रकै अरू कोही विशेषज्ञको सहयोग लिइएको आभास हुन्छ ।
उपन्यासमा ठाउँठाउँमा राज्यप्रति उपन्यासकारको असन्तुष्टि पनि प्रकट भएको छ र प्रश्न पनि उठाइएको छ । ‘एउटी बेवारिस बालिकाको भविष्य बनाउँछु भन्दा अनेक नियमहरू खोतल्न अघि सर्ने कानुनका ठेकेदारहरूले किन देख्दैनन् सडकपेटीमा भोका र नाङ्गाहरू भोक र रोगसँग जुझ्दै बोरा ओढेर सडकपेटीमा सुतेका बालबालिकाहरूलाई ? खै के ग¥यो तिनका हकहितमा सरकारले ? (पृष्ठ १७) नारीको अवमूल्यनप्रति पनि उपन्यासकारलाई असन्तुष्टि छ ।
‘…जहिले पनि नारी पुरुषकै नामबाट किन चिनिनुपर्ने ? यिनका पति को हुन् वा यिनका पिता को हुन् ? तर, नारीको साइनोबाट किन कोही परिचित हुन चाहँदैनन् ?’ (पृष्ठ ११६) उपन्यास पठनका क्रममा केही त्रुटिहरू पनि भेटिन्छन् । अध्याय आठको दुई पृष्ठ (पृष्ठ ५२ र ५३) बिना कुनै सङ्केत नै प्रथम पुरुषमा लेखिएको छ, जब कि अरू सबै ठाउँमा तृतीय पुरुषमा लेखिएका छन् र प्रथम पुरुषमा लेख्नुपर्दा अवतरण अथवा उद्धरण चिह्नभित्र लेखिएको छ । सम्पादकीय त्रुटि हो कि जस्तो लाग्छ ।
पृष्ठ ५७ को दोस्रो अनुच्छेदको पहिलो हरफमा ‘अनन्तको विवाहिता पत्नी प्रभा हुन्…’ भएको छ । त्यहाँ पवित्रा हुनुपर्ने थियो । यसैगरी ‘आए दिन..’ (पृष्ठ ८१) ‘…गरिमासर’ (पृष्ठ १२०), ‘लुटिएको बैङ्क थियो’, (पृष्ठ २२९), ‘लाइसेन्सर’ (पृष्ठ २४२), ‘अझ साँच्चै भने हामीसँग…’ (पृष्ठ २४६) आदि ससाना त्रुटिहरूलाई अर्को संस्करणमा सच्याउनु उचित हुनेछ ।
प्रतिक्रिया