यात्राको उठान
ग्रिनहिल सिटी कोलोनीभित्र घुम्दैछौँ । म, गोविन्द निरौला, कमलश्रेष्ठ, दिल सिं र दिवाकर । समय : बिहान ६ बजे । दिन २०८० असोज ६ ।
‘कागेश्वरी जाने ? यस नपाको नाम नै कागेश्वरी मनोहरा छ’– म
‘जाने नि ।’– सबै
‘उसो भए पर्सी सोमबार बिहान जाने । उतै खाने । मेरो गाडीमा पाँच जना अटिन्छ, जौँ ।’ गोविन्द ।
‘हुन्छ । हुन्छ । – डि आइजी साब ।’ म
‘जय होस ।’ म
फेरि भन्नु भो, ‘पर्सि ठीक आठ बजे नन्दन वाटिकामा जम्मा हुने । जो ढिलो हुन्छ । उ छुट्छ ।’
यात्रा प्रारम्भ : आइ त गो सोमबार । भइ त गो उज्यालो । यताउति गर्दागर्दै पौने आठ ।
हतारहतार नन्दन वाटिका पुगेँ । आफूले रोपेको सुन्तलाको बोटलाई नमस्कार गरेँ । साथीहरू क्रमशः आउनुभो । सबै आएपछि कारमा बस्यौँ । अब ग्रिनहिल सिटीबाट कागेश्वरीतिर जाँदैछौँ ।
घ्वाक्को धारो र पार्क : ब्रह्मखेल पुग्यौँ । ‘यहाँको पुरानु नामुद धारो त्यही हो ।’ दिवाकर । ट्वाल्ल परेर पानी नै नदेखे जस्तो धारातिर हेर्दै छु म । भित्तामा चिल्ला चाइनिज इँटा टाँसेको छ । भुइँमा ढुंगा छापेको छ । तीन मान्छे जति अग्लोबाट पुरानु ढुंगाको धारामा गलल झर्दैछ पानी ।
धारो खाली गरिदिए । धारामा गएर अभिषेक लिएँ । मैले साथीहरूतिर हेर्दै भनेँ, ‘आजदेखि यो धाराको नाम ‘ब्रह्मखेलको घ्वाँक्कको धारो ।’ छोटकरीमा घ्वाँकको धारो । नजिकै पार्क रहेछ । सानु । चुटुक्क । बोट बिरुवा कम । मान्छे धेरै । दिवाकरको गाउँ हो यो । उहाँले गफगाफ गाउँलेहरूसँग गर्नुभो ।
‘फिरौँ ।’
‘हुन्छ ।’
फर्किदा अलि तल पुगेपछि फनक्क पछाडि फर्किएर माथितिर हेरेँ । अग्लो । झ्याम्म । वरको रुख हामीतिर टुलुटुलु हेरिरहेको रहेछ । ‘नौला मान्छे । किन हाम्रो गाउँमा आए’ भन्दो हो । हतारहतार कारभित्र पस्यौँ । भान्जा कार हाँक्ने । मामा गफ ठोक्ने । अरू साथीहरू चोचो मोचो मिलाउँदै हाही गर्ने ।
गोद्नसम्म गोद्दैछौँ गफ ।
अलि पर पुग्ने बित्तिकै हाम्रो गाडी मूल बाटो छोडेरशाखाबाटोतिर छि¥यो । अनि सानो खोलामा ठूलो पुल आयो । कसैले भन्यो, ‘यो महादेव खोला हो ।’ यो सुनेपछि मैले भनेँ, ‘यो महादेव खोला होइन, भागिरथी होला । पावन गंगाजी ।’
हामी गइरहेको सडक किनाराबाट बग्दैछ खोलो । महादेवले विविध अवतार लिएको त सुनेथेँ । खोलाको रूप धारण गरेको सुनेको थिएन बा । महादेव खोला भन्ने सुन्दा अचम्म लाग्यो । सडकको भन्दा पनि खोलाको वारिपारि लटरम्म छ धान खेत ।
यो शरद ऋतु हो नि । फूल फुल्ने ऋतु । यहाँ फूलभन्दा धेरै देखिन्छन् धान खेत । महादेवबाट संरक्षित खेतको धान उपभोग गर्ने यहाँका जनता धेरै पुण्ययोगी होलान् ठानेँ मनै मन । एकातिर लटरम्मै फुलेर नुहेका धानका बाला पहेँलपुर देखिन्छ खेतमा भने ती बालाबाट उत्पन्न सौन्दर्य अवर्णनीय सारै सुन्दर देखिन्छ । शश्य श्यामला धारित्री ।
भर्खर सहर बन्दै गरेको गागलफेदीबाट जाँदैछाैँ ।
गाउँ रे यो । रोड नजिक फाट्टफुट्ट घर देखिन्छ । बसौँ बसौँ लाग्ने चिटिक्कका घर । धोती फेरेका एकजना सत्पात्र पितृ प्रसन्न पार्न टपरीमा पिण्ड बोकेर बाटो काट्दै छन् पारी हेरेर कति सफा सडक । मुलायम पवन । गोठमा बाँ गर्दै कौमुदी गाई । पर मुख जोतेर चर्दैछन् वस्तु भाउ । कागेश्वरी जाँदैछौँ । उकालामा गजक्क परेर ठिंगउभिएको अग्लो झ्याम्म पीपल देखेँ ।
त्यो रुखमुनि खेतको विशाल फाँट । फाँटमा ठाउँठाउँ धानका कुनिउहरू । गाउँलेहरू पीपलको फेदमा जल अर्पण गर्दै थिए । गागलफेदी पुगेछौँ । मज्जाको उकालो । चिल्लो सडक । गागल शब्दमा मिठास अनुभव गरे । अर्थ भने थाहा पाइनँ यसरी प्राकृतिक मिठास सौन्दर्य अभिषेक लिँदालिँदै हामी डाँडामा पुगेछौँ ।
बाटो छुटियो । दाहिने उकालो । गाडी जाने बाटो । सिधै गेट । गेटसँगै ठूलो घर । शून्य । एक दुई कार जिप अघिल्तिरको बाटोबाट जाँदैछन् । उकालो बाटो नगएर तेर्सो लाग्यौँ हामी ।
‘मामा गाडी रोकौँ’, गोविन्द ।
‘किन नि !’, म
‘उता जाने भए त हामी पाँचै जनाले गाडी नै बोक्नुपर्ला । बाटो छैन ।’ हास्यौँ सबै ।
गाडीबाट ओर्लिएर डिलमा गयौँ । आहा ! क्या मज्जा । मज्जै मज्जा । ‘कमल सर ! फोटा दम्काऔँ न’, म ।
‘हुन्छ तर मेरो नि ?’
‘ऊ त्यहाँ भाइ आउदैछन् । पख्नुस ।’ उनैलाई भनेँ मैले । नचिनेका भाइले फोटा खिचिदिए हामी पाँचैको ।
व्योमपथ यात्रा : कागेश्वरी धाम गेट । वडा नंं १ गागलफेदीबाटभित्र गयौँ । तेर्सो । बाटोमा सपक्क मिलार ढुंगा छापेको छ ।
दाहिने ओरालोमा तलैसम्म वन छ । देव्रे बारी छ । वारिमा बुटा र रुख देखिन्छ । बारी उकालो उकालो जाँदाजाँदा ऊमाथि पुग्छ । ठाडो उकालो । रेलिङ छ चट्ट । फलामको नीलो रङ लाको । सिं सर ! ‘दार्चुलाको गाई चराउन जाने वनको बाटो यस्तै छ ।’–म
‘ना बाबा ना के को हुनु । बाटै छैन तेता ।’ – सिं ।
गफिँदै । हाँस्दै । हसाउँदै गइरहेका छौँ । म गफमा भन्दा पनि तलमाथि रुखका हाँगामा पुच्छर हल्लाउदै बुथ्रुङ बुथ्रुङ नाच्ने चराको नाच हेर्न मस्त छु । अहिले म डाँडा वरपरको अत्युच्च प्राकृतिक वैभव देखेर अन्तरमनदेखि आलोकित हुँदै गइरहेको छु ।
कुवेरको कौस्तुभ मणिजस्तो कागेश्वरीको बृहत् पर्यावरण । मैले धनकुटा–भेडेटारको हावालाई पफ्र्युम बनार डलरमा बेच्न मिल्ने भन्ने लेखेथेँ । तेस्तै लाग्यो कागेश्वरी नजिकको पवन । चिरिर्र । च्यार्र । फुर्र उड्दै गरेका चराहरू हामीलाई भन्दै थिए, यो डाँडामा । ढिस्कामा । बनमा । चउरमा उहिले कुवेरले लुकाको अनन्त सम्पत्ति छ । कुवेरको गाडधन । आऊ । खोज । खन । निकाल । तिमी मात्रै होइन नेपालै धनी हुनेछ ।
छमछम नाचिरहेको छ दिङ्लाली कान्छाको त्यतिखेर मन । बाटोमुनि । माथिबाट मग मग बास्ना आइरहेको छ चित्र विचित्र फूलको । फूल देखिन्न । पाइलैपिच्छे फूलको मगमग वास्ना आउँछ । मर्मर । निर्झर । छमछम । सुन्दर मनोहर आह्लादकारी प्रकृति । प्राकृतिक दिव्य विविध भण्डार । कुवेरको कौस्तुभ मणिजस्तो कागेश्वरीको बृहत् पर्यावरण ।
मैले धनकुटा–भेडेटारको हावालाई पफ्र्युम बनार डलरमा बेच्न मिल्ने भन्ने लेखेथेँ। तेस्तै लाग्यो कागेश्वरी नजिकको पवन । चिरिर्र । च्यार्र । फुर्र उड्दै गरेका चराहरू हामीलाई भन्दै थिए, यो डाँडामा । ढिस्कामा । बनमा । चउरमा उहिले कुवेरले लुकाको अनन्त सम्पत्ति छ । कुवेरको गाडधन । आऊ । खोज । खन । निकाल । तिमी मात्रै होइन नेपालै धनी हुनेछ ।
चराका कुरा सुन्दै जाँदै गर्दा … पर सुनको बर्को ओढेको काक मूर्ति देखेँ मैले ।
पाँचधाराः ढुंगा छापेको बाटो सकियो । अलिकति उकालो अनि सम्म । हो, त्यही । दाहिनेपट्टि पाँचवटा धाराबाट झरिरहेको थियो पानी । मनमनै भनेँ, ‘यी धारा पक्कै यहाँ उम्रिएका नहुन सक्छ ।’ दिवाकर सर – यी धारा यही उम्रिएका हुन् र ?
‘होइनन् । माथिबाट झरेको छाँगाको पानीले यी धारा बनाएको हुनुपर्छ ।’
‘वहाँ धाराको भित्तामा चिल्ला इँटा छन् नि ।’ – म
‘विकास निर्माण भनेको यही त हो । मामा ।’– गोविन्द
धारामा हात मुख धोएर अलि माथि गयौँ । सिमन्टीले बनेको अग्लो स्तम्भमा बसेको सुनको काग हामीतिर चुच्चो फर्काएर हेरिरहेको थियो । तेहिदेखि रेलिङ । रेलिङदेखि भक्तजनको भिड । आज के हो कुन्नि ? मान्छे मान्छे । लाइनमा खडे अडे भएर दर्शन गर्ने मेरो क्षमता भएन । आँट आएन । गोविन्द सर र म भित्तो भित्तो जाँदै गर्दा हामी भन्दै थियौँ । ‘हामी बाहिरबाटै दर्शन गर्छौं लाइन मिचेर अघि जाँदैनौँ । जान दिनुस ।’
शिव ताण्डव नृत्यस्थल अर्थात गहरभन्दा अलि पर पुग्यौँ । यत्र तत्र धूप धुवार भइरहेको थियो । घण्ट शंख बज्दै थिए । उभियौँ । कमल । दिवाकर । सिं । छैनन् त भीडमा । पछिपछि आउँदै गरेको देखेँ । रुखको फेदमा उभियौँ । नजिकै माथिबाट झरेको पानी हामीतिर हेर्दै मुस्कुराउँदै तलतिर गइरहेको थियो । पानी झरिरहेको यो छाँगो त आकाशगंगा पो रहेछ । पछि थाहा पाएँ मैले ।
रमाइलोः जुत्ता लायौँ । गोविन्द सर खुइँ कि खुइँ झरेर धारामा पुग्नु भो । म जुत्ता लाएर वनतिर फर्किएँ । सबै रुख मलाई नौला लागे । १५ देखि २० फिट जति अग्ला ती रुखमा फुलेका सेता फूल देखेँ । ती मनै हँसाउने सेता फूलको नाम रहेछ – ‘कण्ठहार अर्थात् नीलकण्ठको कण्ठका हार ।’
‘गोविन्द सर ! कण्ठहार फूलको फोटो आउने गरी मेरो चाउरे अनुहार निकालिदिनुस् न ।’ म
‘हुन्छ मामा’ भन्दै मोबाइल तेस्याउनु भो ।
फोटो हेर्दा त झसंगै भएँ, मेरो अलिकपछि एउटी सुन्दरी नानी मोबाइलमा आफन्तसँग एकचित्त भएर फोन गरिरहेकी रहिछिन् । फूलभन्दा नानी राम्री कि नानीभन्दा फूल राम्रो ?
फर्कौं ।
हुन्छ ।
कारभित्र पस्यौँ । एकैछिनमा गागलफेदी बस स्टपमा रोक्नुभो कार । ‘दिवाकर सर ! खाना अर्डर गरेको छ भन्नुभएको होइन ।’ म ‘हो मैले आफन्तको भोज दरबार होटलमा लोकल परिकारको खाना बनाइदिनुभनेको छु । जाऔँँ’– उनी
हुन्छ ।
सडकदेखि अलिभित्र रहेछ दरबार । तेस्रो तलामा गएर बस्यौँ । मिठो मिठो भन्दै खायौँ । पैसा ति¥यौँ । फर्किन थाल्यौँ । घर पुग्दा एक बजेको थियो ।
००००
सहिद उद्यान गागल
भैरव पुस्तकालय दक्षिणढोकामा बद्री सर, नानीकाजी म र मुकुन्द सर कुरा गर्दै थियौँ । नानीकाजीतिर हेरेर मैले भनेँ, ‘कागेश्वरीमा भव्य पार्क छ रे ! अस्ति जाँदा हेर्न भ्याइएन । तपै र म भोलि जाउँ । हुन्न ।’ ‘हुन्छ । भोलि दिउँसो ठीक एक बजे भैरव पुस्तकालय दक्षिणढोका आउनुस । म त्यही आइबस्छु । जाउँला नि ।’ यसो भने नानीकाजी गिरीले ।
भोलि अर्थात् २०८० आश्विन २३ गते दिउँसो ठीक १ बजे म पुस्तकालय अगाडि पुगेँ । उनी पनि आए । मोटरसाइकलमा चढेँ । हुँइक्याए । बुढो ज्यान खुस्केला जस्तो भो । रोकेर उनले भने, ‘एकै छिन है । म साथीको आमालाई भेटेर आउँछु’ हिँडे पो । म रोडको छेउमा उभिएँ । छतमा पुगेर आउनुहोस् भनी इसारा गरँे । गएँ ।
‘वहाँ मेरो साथी कालु धमकी धर्मपत्नी मीना धम हुनुहुन्छ । श्रीमान् दिवंगत भएपछि घरमा एक्लै हुनुहुन्छ । छोराबुहारी पोर्चुगलमा नोकरी गर्छन् ।’ – नानीकाजी
‘ए ! नमस्ते । नमस्ते ।’ – म
घरैमा पाकेका अम्बक र किनेका केरा अनि चिया दिनुभयो । खायौँ । छतमा निस्किएँ । वहाँहरू दुःखसुख बाँड्दै हुनुहुन्थ्यो । करेसाको अम्बक हुर्केर दुईतला माथिसम्म आइपुगेको रहेछ । हातले अलि नभेट्ने । कति मजाले पाकेका अम्बक । हर्हराएर दिङ्लाका अम्बकको सम्झना रापियो ।
राधाकृष्ण मन्दिरको पीपल : अग्लो न अग्लो । झ्याम्म पीपलको बोट घरसँगै उभिएको रहेछ । हेरेँ । पीपल र मेरो हेराहेर भो । बोलीचालि भएन । रुखतिर हेरेर मनमनै भनेँ, ‘तिमी पीपल वृक्षले पक्कै पनि नेपालको राजधानी काठमाडौंका जनताको सरक्षण गरेको हुनुपर्छ ।’ प्रकृतिको माया नपाए हामी मत्र्यलोकका मनुष्य बाँच्नै पाउन्नौँ ।
रोडमा निस्कियौँ । ‘हौ काजी साहव ! यो पीपल र मेरो फोटो आओस न ।’ हुन्छ । म पोज दिँदै थिएँ । अघिल्तिर लेखेको पढेँ, ‘श्रीकृष्णकुटी राधाकृष्ण मन्दिर । कागेश्वरी मनोहरा न.पा. वडा नंं १ । भीमसेनटार ।’
‘जाैँ ।’ ‘हुन्छ ।’ फेरि उड्न थाल्यौँ हामी ।
धानखेत : शून्य शहर । झन् शून्य सडक । सडकको छेउमा उभ्भिएका घर । घर पछाडि लमतन्न सुतेको धान खेत । कुदिरहेका छौँ । झर्छ कि भनेर टोपी समात्दै चारैतिर आँखा दौडाउँदै जाँदैछु म । लटरम्म धान फलेको अनि पाकेका धानका बाला बोटमै नुहेका । पहेलपुर दृश्य ।
‘एक छिन रोकौँ है ।’ ‘हुन्छ ।’ ‘फोटा हानाँै है ?’ ‘हुन्छ ।’ कालिदासले कुनै पुस्तकमा लेखेको पढेथेँ – शश्य श्यामला धारित्री अर्थात् । पाकेका धानले पृथिवी नै कृष्णवर्णी भएको छ । मधुरम् । मधुरम् । दिव्य सौन्दर्य कानका लोतीमा धानका बाला झुन्ड्याउँ । झुन्ड्याउँ लाग्ने ।
अरू फोटा हान्ने कि पुग्यो ?
पुग्यो पुग्यो ।
जौँ । क्रमशः
प्रतिक्रिया