मुगु सामूहिक हत्या प्रकरण : भेटिए मृतकका बेपत्ता विक्षिप्त श्रीमान्, अस्पतालमा राखियो

मुगु । मुगुमा परिवारका चार जनाको सामूहिक हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् । घरका चार–चार जना सदस्यहरूको सामूहिक हत्या भएपछि गत ११ गते वैदेशिक रोजगारीमा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्केका थिए ।

मानसिकरूपमा विक्षिप्त भएर कुनै अप्रिय घटना नघटोस् र होस् सन्तुलनमा रहीरहोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै कान्छा ससुराको जिम्मा लगाएको थियो । तर दीपक हत्या गरिएका श्रीमती र तीन छोरा छोरीको शव परीक्षण गर्ने कार्य सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तको अडानकाबीच जिल्ला अस्पतालबाटै हराएका थिए ।

दीपक बिहीबार राति ७ बजे छायाँनाथ रारा नगरपालिका वडा न ४ भामवाडा गाउँमा एक आफन्तको घरमा भेटिएका हुन् । उनलाई अहिले जिल्ला अस्पतालमा उपचारका लागि राखिएको छ । मुगुस्थित छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा गत ८ गते २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज बोहरा, ८ वर्षीया छोरी अप्सरा बोहरा र ८ महिने छोरा रहर बोहराको हत्या भएको थियो ।

१० गते हत्या भएको सूचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरीको टोलीले घर खोलेर भित्र हेर्दा आमासहित तीन सन्तानको धारिलो हतियार प्रयोग गरि विभत्स हत्या भएको अवस्थामा फेला पारेको थियो । उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया