काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल नेपाल र युएइबीच मुलपानी तथा बहराइन र ओमानबीचको सेमिफाइनल किर्तिपुरस्थित त्रिवि मैदानमा हुने भएको छ । नेपाल र युएईको खेलको हेर्न मैदानमा क्यानले मात्रै ३५ सय टिकट बिक्री गर्ने भएको छ । दुवै सेमिफाइनल शुक्रबार हुदैछ ।
खेल बिहान ११ बजे सुरु हुनेछ । क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै मात्रै ३५ सय टिकट बिक्री गर्ने जनाएको छ । क्यानले सबै किसिमका पासलाई रोक गरेको छ । भिभिआईपी, भिआइपी लगायत सबै पास रोकिएको क्यानले जनाएको छ ।
क्यानले दर्शकको भिड बढी हुने हुँदा दर्शकको सिट क्षमता मात्रै ब्रिकी गर्ने भएको छ ।
भिड बढी हुने हुँदा मुलपानीमा सुरक्षामा चुनौती हुनसक्ने अनुमान गरेको छ । क्यानले सकभर नेपाल र युएईबीचको सेमिफाइनल खेल घरमै बसेर हेर्न समेत आग्रह गरेको छ ।
सेमिफाइनलमा टिकट मूल्य १ सय रुपैयाँ बढेको छ । यसअघि समूह चरणमा टिकट मूल्य २ सय रुपैयाँ रहँदै आएको थियो । सेमिफाइनलमा टिकट मूल्य ३ सय रुपैयाँ तोकिएको छ । टियुमा समूह ए को विजेता ओमान र समूह बी को उपविजेताबीच शुक्रबार सेमिफाइनल खेल हुनेछ । समूह बी बाट को उपविजेता बन्ने कुवेत र बहराइनबीचको नतिजापछि मात्रै थाहा हुनेछ ।
फाइनलमा पुग्ने दुबै टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । फाइनल भने आइतबार टियु क्रिकेट मैदानमा हुनेछ । नेपाल युएईलाई हराउँदै १० वर्षपछि विश्वकप खेल्न चाहन्छ ।
बहराइन आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा कुवेतसँग ४ विकेटले पराजित भएपनि सेमिफाइनलमा पुगेको छ । हङकङलाई झिनो नेटरनरेटले पछि पार्दै बहराइनले सेमिफाइनलमा स्थान बनाएको हो ।
बहराइन, हङकङ र कुवेतको समान २ अंक थियो । तर बहराइनको नेटरनरेट माइनस ०.३९८, हङकङको माइनस ०.४३३ र कुवेतको माइनस ०.६४९ रह्यो । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले १६.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
कुवेतको जितमा उस्मान पटेलले ३४ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ६४ रनको योगदान दिए । कप्तान मोहम्मद अस्लाम २० बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा नट आउट रहे । बहराइनका अली दाउद र रिजवान बटले समान दुई विकेट लिए ।
त्यसपछि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । बहराइनका इमरान अनवारले २५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए ।
कुवेतका मिरज अहमद र शिराज खानले एक एक विकेट लिए । समूह ‘ए’ मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । समूह ‘बी’ मा युएई ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ शीर्षस्थानमा रह्यो । बहराइन ३ खेलमा २ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
प्रतिक्रिया