काठमाडौं । नेपाली सेनाको रथीमा बढुवा सिफारिस भएका ताराध्वाज पाण्डेले काठमाडौं जिल्ला कार्यालयबाट लिएको नागरिकतामा समेत गडबडी भेटिएको छ । उनले तनहुँ जिल्लाबाट लिएको नागरिकताभन्दा उमेर घटाएरपछि काठमाडौबाट अर्को नागरिकता लिएका थिए ।
सो आधारमा उनको प्रवेशिका परीक्षाको अभिलेखमा जन्ममिति सच्याइएको छ । यसका लागि काठमाडौं जिल्ला कार्यालयको पत्र भन्दै नागरिकता जारी हुनुभन्दा एक वर्ष अगाडिको मितिको पत्रको आधारमा परीक्षा नियन्त्रण कार्यालयले आफ्नो अभिलेखमा उनको जन्म मिति सच्याइदिएको छ ।
पाण्डेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०४३ वैशाख ३ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी हिरण्यलाल रेग्मीको हस्ताक्षरमा नागरिकता लिएका थिए । तर उनको जन्ममिति सच्याउन जिल्ला प्रशासन कार्यालयले परीक्षा नियन्त्रण कार्यालयलाई लेखेको पत्रको मितिमा भने २०४२ चैत २५ गते उल्लेख छ । उनले नागरिकता प्राप्त गर्नुभन्दा झण्डै एक वर्षअघि नै उमेर सच्याउने पत्र तयार भएको देखिन्छ ।
नागरिकता नै नबनी कसरी उमेर सच्याउने पत्र बन्यो ? भन्ने प्रश्न उठेको छ । सो पत्रसमेत फर्जी हो कि भन्ने आशंका उत्पन्न भएको छ । २०४२ चैतको पत्रका आधारमा २०४३ सालमा प्राप्त गरेको नागरिकताको उमेर कसरी सचिन्छ भन्ने गंभीर प्रश्न उठेको छ । सो पत्रका आधारमा सच्याइको उनको प्रवेश परीक्षाका अभिलेखमा जन्ममिति २०२३ मंसिर २३ उल्लेख छ ।
जबकि सच्याउनुभन्दा अघि प्रवेशिका परीक्षा अभिलेखमा उनको जन्ममिति २०२१ माघ १२ उल्लेख भएको प्रष्ट देखिन्छ । जिल्ला प्रशासन कार्यालयको पत्र लेखाइलाई नै प्राविधिक त्रुटी मान्ने हो भने जन्ममिति सच्याउने अन्तर एक वर्ष देखिन्छ । जबकि त्यसबेलाको कानुनअनुसार नागरिकता प्राप्त गरेको मितिले त्यसमा कुनै त्रुटी भए ६ महिना भित्र सच्याउनुपर्ने हुन्छ । तर उनको सो काम समेत त्यसेबलाको ऐनअनुसार गैरकानुनी भएको पाइएको छ ।
खासगरी २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनले २३ मंसिर २०२३ को जन्ममिति उल्लेख गरेका छन् । तर, उनको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १२ माघ २०२१ उल्लेख भएपछि विवाद सुरु भएको थियो । जन्ममिति १२ माघ २०२१ कायम हुँदा १२ माघ २०७८ मै अवकाश पाउनुपर्ने थियो । सैनिक नियमावलीअनुसार उपरथीको अवकाशको उमेरहद ५७ वर्ष हुन्छ ।
तर उनी अहिले सो अवधि पूरा गरी रथीमा बढुवा सिफारिस भएका छन् । पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख छ । तर, नागरिकतामा भने २०२३ मंसिर १३ गते बनाइएको छ ।
युद्धकार्य विभागका प्रमुखउपरथी पाण्डेलाई ७ दिनभित्र बढुवा सिफारिस गर्ने गरी २९ असोजमा सूचना प्रकाशित भए पनि हालसम्म फाइल अघि बढिसकेको छैन । स्रोतकाअनुसार अहिलेसम्म सिफारिस पत्र मन्त्रिपरिषद्मा पुगिसकेको छैन । तर अब बस्ने मन्त्रिपरिषद्को बैठकमा यससम्बन्धी निर्णय हुने स्रोतले बतायो ।
प्रतिक्रिया