मुगु सामूहिक हत्या प्रकरण : अस्पतालबाट बेपत्ता भए मृतक श्रीदेवीका श्रीमान् बोहोरा

मुगु । मुगुस्थित छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउमा गत ८ गते बुधबार भएको सामूहिक हत्या प्रकरण झन जटिल बन्दै गएको छ ।

सोमबार हत्या गरिएका आमा र ती छोरा–छोरीको शव परिक्षण गर्ने कार्य सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तको अडानका बिच बिहीबार सबहान जिल्ला अस्पतालमा उपचारत मृतक श्रीदेविका श्रीमान् दिपक बोहोरा अस्पतालबाट निस्केर बेपत्ता भएपछि सामूहिक हत्या अनुसन्धान झन जटिल मोडमा गएको हो ।

घरका चार–चार जना सदस्यहरुको सामूहिक हत्या भएपछि गत ११ गते वैदेशिक रोजगारीमा कतारमा रहेका दिपक काम छाडेर नेपाल फर्केका थिए । मानसिक रुपमा विछिप्त भएर कुनै अप्रिय घटना नघटाओस् र होस् सन्तुलनमा रहिरहोस् भनेर दिपकलाई प्रहरीले निगरानी गर्दै कान्छा ससुरा वडा नम्बर ६ का वडाध्यक्ष खेम बहादुर रावलको जिम्मा लगाएको थियो ।

बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा प्रहरीमाथि ढुंगा पर्षाएका दिपक बेलुका ५ बजे भागेका थिए । प्रहरीले कार्किवाडा खोलाबाट समाएर साँझ आफन्तहरुले जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । बिहीबार बिहानै उनी अस्पतालबाट हिँडेकाले सबैतिर प्रहरी, स्थानीय सबैले खोजिरहेका छन् ।

बिहीबार साँझ ६ बजेसम्म दिपकको पत्तो नलागेको कर्णाली प्रदेश प्रहरी कार्यालय वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) तथा सूचना अधिकारी गोपाल चन्द्र भट्टराईले जानकारी दिए । पोष्टमार्टम गरेर अस्पतालमा राखिएका शवहरु बिहीबार मृतकका श्रीमान् दिपकलाई बुझाएर दाहसंस्कार गर्ने तयारी गर्दै गर्दा श्रीमान् नै बेपत्ता भएपछि अन्यौल सृजना भएको छ ।

एक त सामूहिक हत्या भएको हप्ता दिन बितिसक्दा पनि हत्यारा पत्ता नलागिरहेको बेला त्यसैमाथि श्रीमान् समेत बेपत्ता भएपछि प्रहरीलाई अनुसन्धान गर्न झनै अप्ठेरो परेको छ । गत ७ गते माइती कोटिल्ला गाउँ टीका थाप्न गएका श्रीदेवी बोहोरा (२८) छोरा मनोज बोहोरा (११) छोरी अप्सरा बोहोरा (८) र छोरा रहर बोहोरा (८ महिने) को ८ गते साँझ माइतिबाट आफ्नो गाउँ मन्दु पुगेकै राति हत्या गरिएको प्रहरिले अनुमान गरेको छ ।

१० गते ९ बजे हत्या भएको सूचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाको नेतृत्वमा गएको टोलीले घर खोली भित्र हेर्दा आमासहित तीन सन्तानको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरेको अवस्थामा शव फेला पारेको थियो ।

हत्याको अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी कार्यालाय सुर्खेत, प्रहरी कार्यालय जुम्लाबाट विशेष अनुसन्धान प्रहरी र कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली मुगु पुगेकोमा ११ गते अनुसन्धान गरी १२ गते नै डक अनुसन्धान टोली फर्कियो भने अन्य २ टोली मुगुमै बसेर अनुसन्धान गरिरहेका छन् ।

घटनाको प्रकृती, अनुसन्धानको पछिल्लो अवस्थाबारे बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थलमै आफै पुगेर अनुसन्धानमा खटिइरहेका छन् ।
प्रहरिले घटनासम्बन्धी अनुसन्धान गर्न कयौँ व्यक्तिहरुसँग सोधपुछ गर्ने कार्य गरिरहेको छ ।

सोमबार चारै शवहरुको परिक्षण सकिएसँगै प्रहरी सुक्ष्म अनुसन्धानमा लागेको एसएस भट्टराईले बताए । प्रहरिले उक्त घटनाको अनुसन्धान प्रविधि र म्यानुल्ली दुवै तरिकाबाट अहिले गरिरहेको छ ।

भौगोलिक कठिनाइ, नेट फोनको नेटवर्कको समस्या, यातायातको असुविधा र स्थानीय गाउलेहरु प्रहरीसँग खुल्ला मनले नखुल्नु जस्ता कारणले अनुसन्धानबाट हत्याको कारण क्लु पाउन कठिनाइ र ढिला भएको पनि प्रहरिले बताउँदै आएको छ ।

प्रतिक्रिया