शीतल निवास, निर्मल निवास र ललिता निवास

भरतराज पोखरेल

अँध्यारा कुनामा धकेलिएकोे फाइल यो सरकारले खोलेपछि सर्वाधिक चर्चामा आएको ललिता निवास अहिले केही मत्थर देखिए पनि दसैैँका मौकामा निर्मल निवास र शीतल निवास चर्चामा छन् । ललिता निवास राजनीतिक निर्णयको आडमा कर्मचारीतन्त्रले फाइलमा मुसो छिराएर कसरी भ्वाङ पार्नसक्छ भन्ने उच्चतम नमुना हो भने शीतल निवासको चर्चा ‘रिगल काण्ड’ मा देखिएको राजर्षि छाया हो ।

अनि निर्मल निवासको चर्चाचाहिँ फुर्सदिला बढे भने ‘चियाको कपमा तुफान्’ मात्रै होइन दसैँको टीकामा पनि ‘धुलो’ उडाउन सकिन्छ भन्ने एउटा नमुना हो । ललिता निवास प्रकरणको जरो खोज्दै जाने हो भने सन्त नेता भनेर चिनिएका कृष्णप्रसाद भट्टराईसम्म पुग्छ । बहुदलपछिका प्रधानमन्त्री भट्टराईले पञ्चायती व्यववस्था लादेपछि राजाले लिएको राजनीतिक प्रतिशोधबाट लुटिएको सम्पतिलाई असल मनसायले कांग्रेस नेता सुवर्ण शमशेरका उत्तराधिकारीलाई फिर्ता गरिदिने निर्णय गरिदिएका थिए ।

तर असल नियतले गरेको राजनीतिक निर्णयलाई कर्मचारीतन्त्रको दुरुपयोग गरेर कसरी बंग्याएर कुरुप बनाइन्छ भन्ने गतिलो उदाहरण हो ललिता निवास काण्ड । भट्टराई सरकारको निर्णयमा छिद्र खोज्दै यति धेरै छेस्का कोचियो कि अन्तिममा आएर वारपार देखिने घिनलाग्दो भ्वाङ परेको छ । यस प्रकरणमा बाबुराम भट्टराईदेखि माधव नेपालसम्म अनि विष्णु पौडेलदेखि चन्द्रदेव जोशीसम्मलाई यसको छिटा पुगेको छ ।

सरकारी निकायको असली ढड्डा हेरेर जमिन किनेका मीनबहादुर गुरुङ लगायतका उद्यमी÷व्यावसायीलाई त जेलको हावा खुवाएर बाहिर निकालिएको छ । हाम्रा नीति नियमका मसिना प्रशासनिक रेसामा गुट्मुट्याएर उनीहरूलाई थन्क्याइएको थियो । सरकारी कार्यालयमा बसेर नक्कली ढड्डा खडा गर्नेभन्दा पनि त्यही सरकारी ढड्डाको विश्वास गरेर कारोबार गर्ने फन्दामा परे ।

ललिता निवास प्रकरणमा डामिएका राजनीतिक अनुहार मध्ये सार्वजनिक छविका हिसाबले हेर्ने हो भने विजय गच्छदारको बारेमा यसै भन्न नसके पनि अन्यको हकमा जानीजानी ‘जमिन हत्याउने’ त्यो तहसम्म झरे होलान् भनेर विश्वास गरिहाल्न कठिन छ । तत्कालीन मन्त्री चन्द्रदेव जोशीलाई हेर्ने हो भने उनको जेजस्तो छवि छ त्यसले जग्गा हत्याउनतिर लागे होलान् भन्न कठिन छ ।

रिगल काण्डमा सबैभन्दा बढी आलोचित हुनुपर्ने बालुवाटार हो तर शीतल निवासलाई गलत निशाना बनाइएको छ । प्रधानमन्त्री र गृहमन्त्रीलाई कति थाहा छ कुन्नि ? पार्टीको नेतृत्व गरेर सरकारमा गएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई भने आफ्ना पार्टीका को को ‘होनहार कार्यकर्ता’ जेलमा छन् भन्ने पक्का थाहा थियो । हुँदाहुँदा संगीतकार प्रविन गुरुङको ऐरा गरेर खड्ग भुजेलहरूलाई बुख्याँचा बनाउनेहरूले समेत ‘शीतल निवासले अपराधी छुटायो’ भन्दै यो दसैँमा निर्मल निवासमा टीका लगाउने मान्छे बटुले ।

तर यो प्रकरणले के देखाउँछ भने आफ्नो कुनै योजनाविना र सम्बन्धित मन्त्रालयको पर्याप्त जानकारीविना मेलो न मेसोसँग मन्त्रीको झण्डा हल्लाउन मरिहत्ते गर्ने कि नगर्ने ? भन्ने सन्देश भने दिएको छ । भन्न त निर्णय गर्ने नेता नपर्ने तर निर्णय कार्यान्वयन गर्ने कर्मचारी मात्रै कारबाहीमा पर्ने ? भन्ने प्रश्न पनि उठाइएको छ तर यसमा राजनीतिक छिद्रको तोरीको प्वालबाट कर्मचारीतन्त्रले हात्ती छिराउने प्रयास गरेको लुकेको छैन । छानविनको दायरामा भएको यो विषयमा गहिरो अनुसन्धान भयो भने सत्य तथ्य बाहिर आउला नै ।

भर्खर दसैँ सकिए पनि नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहको घर निर्मल निवासको दसैँ टीका चर्चा सकिएको छैन । हाल राजनीतिको बर्को ओढेका जमानाका एकजना ‘ठूलै पत्रकार’ ले त आशीर्वाद लिनभन्दा पनि टीका लागाइदिँदै गरेका ज्ञानेन्द्रलाई उल्टै आशीर्वाद दिँदै थिए ‘अर्को दसैँमा नारायणहिटीमा टीका लाउन पाउँ सरकार ।’ आशीर्वाद मात्रै होइन निर्मल निवासलाई तीर्थ ठान्नेहरूका ‘युवराज’ को ‘स्टाइलिस’ चुरोटको सर्कोले पनि निर्मल निवासमा राम्रै चर्चा पायो ।

अलिकति उथलपुथल नभएको भए हाम्रा छोराछोरीका पालाका राजा हुन् ती । टीका कसले कहाँ लगाउने ? कोसँग लगाउने ? उठेर लगाउने कि थ्याच्च बसेर वा घुँडा टेकेर लगाउने ? यो सबै नितान्त निजी कुरा हो । तर राष्ट्रप्रमुखको नाताले टीका थाप्ने कहाँ हो ? पार्टी प्रमुखको नाताले टीका लगाउने कहाँ हो ? अनि अभिभावकको हिसाबले कसको हातबाट टीका लगाउने हो ? त्यो चाहिँ थाहा पाएको राम्रो । नपाएको पगरी गुथ्ने र गुथाउने कुराचाहिँ जगहँसाइको विषय मात्रै हो ।

निर्मल निवासमा यो वर्ष जुटाइएका टीका थाप्नेको भिड देखेर कतिपयलाई लाग्यो होला राजतन्त्र फर्की पो हाल्छ कि ? तर बुझ्नुपर्ने के भने दरबारमा दसैँको टीकाथाप्ने कम भएर राजतन्त्र गएको होइन । अन्तिम दसैँमा पनि नारायणहिटीमा टीका थाप्नेको भिड उस्तै थियो । त्यसकारण टीका थाप्नेहरूले राजतन्त्र ल्याइदिन्छन् कि भन्ने भ्रम मात्रै हो । बरु टीका सन्देशकै कुरा गर्ने हो भने नेपालगञ्ज लगायतका ठाउँका मुस्लिम धर्मगुरुहरूले थापेको र लगाइदिएको दसैँ टीका कैयौँ गुणा सन्देशमूलक छ । अर्को, विगतमा झैँ जन्मदिने बाबुआमालाई भन्दा नेता नेतृलाई बाआमा भन्दै टीका थापेर ‘शक्ति प्रदर्शन’ गर्ने दास कार्यकर्ताको हुल घटेको हो कि भन्ने सन्देश पनि यो दसैँले दिएको छ ।

विगतका दसैँमा घुँडा टेकेर टीका लगाएको विषयले चर्चामा आउने गरेको शीतल निवास यसपालि भने दसैँको छेकोमा अरू नै कारणले चर्चा र विवादमा छ । संविधान दिवसको अवसर पारेर ‘अपराधी’लाई आममाफी दिएको विषयले बढी चर्चा पाएको छ । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर मार्ने रिगल (योगराज) ढकाल ‘असल चालचलन’ को कानुनी छिद्रबाट बालुवाटारको बाटो हुँदै शीतल निवासको दैलोबाट फुत्त बाहिर निस्केपछि शीतल निवास बढी आलोचित भएको छ ।

राज्यको लागि यो नौलो विषय भने होइन । यसरी अपराधी छुट्ने छुटाउने चलन त पञ्चायतदेखि कै हो । गणतन्त्रमा समेत यस्तो छिद्र नटालिएको मात्रै हो । पहिला पहिला राजा अनि त्यसपछिका राष्ट्रपतिले यसरी नै अपराधीहरू छोड्दै आएका हुन् । रिगल काण्डको घाउचाहिँ अलि आलै भएको भएर बढी चर्चा भएको हो । खासगरी परिवारले पचाउन नसकेर यो विषय बाहिर आएको हो । मृतक मानन्धरकी तत्कालीन श्रीमती भारती सर्वोच्चमा मुद्दा दायर मात्रै गरेकी छैनन् उनी न्यायका लागि अनसनसमेत बसकी छन् ।

रिगल काण्डमा सबैभन्दा बढी आलोचित हुनुपर्ने बालुवाटार हो तर शीतल निवासलाई गलत निशाना बनाइएको छ । प्रधानमन्त्री र गृहमन्त्रीलाई कति थाहा छ कुन्नि ? पार्टीको नेतृत्व गरेर सरकारमा गएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई भने आफ्ना पार्टीका को को ‘होनहार कार्यकर्ता’ जेलमा छन् भन्ने पक्का थाहा थियो । अझ नेपालगञ्ज जाँदा अघिपछि भन्किने रिगल जस्ता ‘पार्टीका होनहार सिपाही’ को बारेमा थाहा नहुने कुरै भएन । रिगलको ‘असल चालचलन’ देखेको बालुवाटारले हो शीतल निवासले होइन ।

सरकारको सिफारिस कार्यान्वयन गर्दा आलोचना गरेर के संवैधानिक राष्ट्रपतिलाई कार्यकारी भूमिकाको भारी बोकाउन खोजेको हो ? हुँदा हुँदा संगीतकार प्रविन गुरुङको ऐरा गरेर खड्ग भुजेलहरूलाई बुख्याँचा बनाउनेहरूले समेत ‘शीतल निवासले अपराधी छुटायो’ भन्दै यो दसैँमा निर्मल निवासमा टीका लगाउने मान्छे बटुले । गणतन्त्र थियो र कम्तीमा रिगलहरूले जेलको मानो त खाए ।

हिजो केही थान कपडामा कोरेका लाखौँका हस्ताक्षर दरबारको ढोकामा बुझाउँदा नि ‘सिकारी’ लाई जेलको ढोका देखाउन सकिएको थिएन भन्ने पनि बिर्सन हुन्न । अपराधी छुटाएकोमा त्यसको जिम्मा बालुवाटारले लिने हो शीतल निवासले होइन । गलत निशानाको परिणाम पनि गलत नै हुन्छ, त्यसैले यसलाई सुधार गर्ने हो भने सबैभन्दा पहिले सुध्रिने बालुवाटार हो शीतल निवास होइन । शीतल निवास सुध्रिनेचाहिँ पुरानै दरबारीया शैलीका ठालुगिरीमा मात्रै हो । अब पुरानै राजर्षि शैलीमा टीका बक्सिनु पर्दैन होला ।

ललिता निवासकाण्डले हाम्रो राजनीतिक नेतृत्वको हैसियत र कर्मचारीतन्त्रको कैँची कति धरिलो छ भन्ने देखाएको छ । यो हाम्रो अहिलेको अवस्थाको तस्बिर पनि हो । चर्चामा नआएका ललिता निवास कति होलान् अनुमान मात्रै गर्न सकिन्छ । रिगल काण्ड अदालतको विषय बनिसकेकोले धेरै भन्न त नमिल्ला तर यो राजनीतिक नेतृत्वका लागि जनाउ घण्टी अवश्य हो ।

रिगल मात्रै होइन ‘असल चालचलन’ देखेका अन्यहरू पनि छुटेको एक डेड महिनामा विभिन्न अपराधमा पुनः पक्राउ पर्न थाल्नुले यो छिद्र टाल्न ढिला भइसकेको संकेत गर्दछ । यो गणतन्त्रको चरम दुरुपयोग हो । अर्कोतिर निर्मल निवासको ‘तीन घण्टे लाइन’ अन्तिम राजाको गोठको टाट्नाको नियासोमा पिपिरो पलाएको संकेत पनि हो । नत्र हिजो ‘पूर्वराजा’ लेख्ने सचिवालयले नभएको पगरी गुथाउँदै ‘श्री ५ महाराजधिराज’ कसरी लेख्न सक्थ्यो ?

प्रतिक्रिया