चार खर्बको आयात, ४१ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात भएको छ । यो अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने दुई दशमलव २६ प्रतिशतले ओरालो लागेको छ । गत वर्षको तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो ।

सो अवधिमा नेपालको वैदेशिक व्यापार चार खर्ब ४८ अर्ब ६३ करोड बराबरको भएको थियो । गत वर्षको यही अवधिमा चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड बराबर रहेको छ । गत वर्षको सोही अवधिमा तीन खर्ब ५९ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको थियो ।

असोजमा आयातमा सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा आयातमा कमी आउँदा राजस्वमा ठूलो खाडल परेको थियो । चालु आर्थिक वर्ष २०८०÷८१ को साउन र भदौमा पनि गत वर्षको भन्दा आयात कम हुँदा यो वर्षको लक्ष्य पनि प्राप्त नहुने संभावना बढेको थियो । तर, असोजमा भने आयातमा केही सुधार देखिएको छ । दशैं ढिला भई कात्तिकमा पुगेकाले चाडपर्वका लागि हुने खपतका लागि आयात बढेको अनुमान गरिएको छ ।

साउन र भदौमा २ खर्ब ५९ अर्ब ७४ करोड ९०८ लाख ९८ हजारको आयात भएकोमा असोज महिनामा मात्रै १ खर्ब ४८ अर्बको आयात भएको विभागको तथ्यांकले देखाएको छ । भदौमा १ खर्ब ३० अर्बको आयात भएकोमा असोजमा भदौमा १ खर्ब ४८ अर्ब नाघेको छ ।

आयातमा वृद्धिसँगै कुल वैदेशिक व्यापार र व्यापार घाटा पनि बढेको छ । कुल वैदेशिक व्यापार १.३१ प्रतिशतले वृद्धि हुँदा ४ खर्ब ४८ अर्ब ४३ करोड ३८ लाख ६६ हजार पुगेको छ । यस्तै निर्यातमा संकुचन हुँदा व्यापार घाटा २.१५ प्रतिशतले बढेर ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार पुगेको भन्सार विभागले जनाएको छ ।
असोजसम्म करिब ३० अर्बको डिजेल आयात हुँदा १७ अर्बको पेट्रोल र ११ अर्बभन्दा बढीको एलपी ग्याँस आयात भएको छ ।

यस्तै ७ अर्ब ३५ करोडको सुन आयात भएको भन्सार विभगले जनाएको छ । केन्द्रीय बैंकले सुन आयातको दैनिक कोटा १० किलोबाट बढाएर २० किलो पु¥याएको छ । साउन र भदौमा ४ अर्ब १२ करोड रहेको सुन आयात कोटा बढाएसँगै असोजमा बढेको छ । आयातमा केही सुधारसँगै पहिलो त्रैमासमा भन्सार राजस्व १ खर्ब नाघेको छ ।

असोजसम्म कुल १ खर्ब ९ अर्ब २४ करोड ९१ लाख ६ हजार भन्सार राजस्व प्राप्त भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९६ अर्ब ६१ करोड रहेको भन्सार राजस्व चालु आर्थिक वर्षमा उल्लेख्य रुपमा वृद्धि देखिएको हो ।

प्रतिक्रिया