विगतका दिनहरू उज्यालाजस्तो लाग्थ्यो । अहिले पनि त्यस्तै लाग्छ । तर, समयले किन पर्वहरूलाई एकनास बनाउँदैन । किन मानिसहरूको मन अत्तालिन्छ । सायद बदलिँदो समयक्रमले होला धेरै कुरा फरक लाग्न थालेको छ । नजिकबाट हेर्दा चाडपर्व नजिकिँदै गर्दा मनहरू खुसी हुनुपर्ने हो । उमंगले जिन्दगी झुसी हुनुपर्ने हो । तर यसको मापदण्ड कतै हराएजस्तो लाग्छ । सायद यसको नाप तौल गर्न मानापाथी चलाउने कुनै राम शाह जन्मनुपर्ने हो कि जस्तो लाग्छ ।
यसअघि पर्वहरू खुसी, हर्ष, उल्लास उमंगमा भरिने गर्थे । तर त्यतिकै खुसी, हर्ष, उमंग, उल्लास अहिले किन रित्तिएजस्तो लाग्दैछ । बालापनमा यस्ता पर्वमा हाम्रा खुसी सबैतिर पोखिन्थे । चाडपर्वको न्यानो घाम हाम्रो जिन्दगीमा लाग्थ्यो । पर्वको तातोमा हामीले यस्ता पर्व बितेको दिनहरूको पत्तै पाउँदैनथ्यौँ । सुटुक्कै दिन र रात बित्थे । यसरी समय बित्दै जाँदा, व्यावहारिकतालले हाम्रा कलिला मनहरू बिस्तारै छिप्याउँदै जान्थ्यो । हामी परिपक्क हुँदै जाँदा चाडपर्वहरू पनि फिका हुँदै जाँदा रहेछन । खै किन यस्तो हुन्छ ? यसको खासै उत्तर पनि छैन ।
चाडपर्वले सबैका लागि केही न केही आशा र खुसी बोकेर आएको हुन्छ । परदेशीलाई घर फर्कने निम्ता दिएको हुन्छ नै । कर्मचारीलाई तलबसँगै बोनस पाइन्छ भन्ने आशले धरहराको उचाइ नाप्न खोज्छ ।, परिवारबाट टाढा हुनेलाई घर फर्किने खुसीले बिस्तारै आइज आएज भन्दै चिच्याउँछ । आमाको वात्सल्य पनि यही बेला मायाको पखेटा फिजाउँदै सन्तानलाई घुप्लुक्क अँगालो मार्न खोज्छ । गाउँघर खुसियालीमा झुम्न थाल्छ । मानाैँ अब गाउँमा रात र दिन छुट्याउन कठीन भएको छ ।
हुन त चाडपर्वको रौनक सबैका लागि एकनास हुनुपर्ने हो तर यसमा पनि फरक फरक अवस्था देखिन्छ । कसैलाई आर्थिक कारण त कसैलाई परदेसिनुको पीडाका कारण यही चाडपर्व रहर र बाध्यतामा बाँडिएको छ । आपm्नो आर्थिक अवस्था कमजोर हँुदा पनि अरूले के खायो के लगायो भन्ने कुरालाई लिएर एकअर्कामा प्रतिस्पर्र्धा गर्ने बानीले देखावटी खुसी मात्र दिएको छ जसका कारण हामी आफूले आफैँलाई कमजोर बनाइरहेका छौँ । परिवारसँग सँगै बस्ने रहर कसलाई पो नहोला र ! तर परिवारको पेट पाल्नका निम्ति, आपmनो भविष्य र
बालबच्चाको भविष्यका लागि परदेसिने परदेशीको पनि आफ्नै बाध्यता छ । यो चाडपर्वले परदेशीलाई खुसीभन्दा धेरै पीडा दिने गर्छ । सायद परदेशीले जति परिवारको र आफ्नो गाउँघरको महत्व कसले पो बुझेको होला र ? हरेक कुरा गुमाएपछि मात्र त्यसको महत्व हामीले महसुस गर्छौं त्यस्तै आफ्नो सबै परिवारसँगै एकैसाथ मिलेर चाडपर्व मनाउँदा पनि हामीमा केही न केही एकअर्कामा गुनासो भएकै हुन्छ तर जब परिवारको एक वा दुई सदस्य घरपरिवारबाट टाढा भई परदेसिन्छन् त्यसपछि महसुस हुन थाल्छ आफ्नो घरपरिवार र चाडपर्वको महत्व ।
परदेसिनुको पीडा त छँदै छ त्यसमाथि पनि चाडपर्व नजिकिँदै गर्दा कसैलाई आर्थिक अभाव त कसैलाई परिवारको अभावले गर्दा चाडपर्व पनि खल्लो हुने गर्छ । अहिलेको अवस्थालाई नियाल्ने हो भने हाम्रो समाजमा बढ्दै गएको विकृतिले गर्दा हाम्रो चाडपर्वहरू पनि एउटा प्रतिष्पर्धा र देखासिखी गर्नुपर्ने माध्यम मात्र बन्न पुगेको छ जसका कारण चाडपर्व उल्लास, उमंगभन्दा पनि पीर, चिन्ता, तनावको रूपमा परिणत हुँदै गएको छ ।
यही चाडपर्व पनि कसैलाई आफूसँग भएको सम्पत्ति प्रदर्शन गर्ने, लुगाफाटो, गरगहना देखाउने माध्यम बनेको छ भने कसैका लागि ऋण थपिने माध्यम बनेको छ । तिजमा टाढाबाट छोरीचेली आफ्नो माइतीघर जानुको रमाइलो, दसैँमा नवदुर्गा भवानीको पूजा अर्चना गर्ने, मन्दिर जाने, व्रत बस्ने, दशमीको दिनमा टीका जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने, गाउँघरमा भएको लिंगे पिङ, रोटे पिङ खेल्नका लागि लाइन बस्नुको रमाइलो, तिहारमा सेलरोटी पकाउँदै सयपत्री मखमली फूलको माला उन्दै, देउसी भैलो खेल्दै, झिरझिरे पटका पटकाउँदै, घरको आँगनमा लक्ष्मी माताको पाइला बनाई बत्ती बाली लक्ष्मी माताको पूजा गरी आधारातीसम्म माता आउने प्रतिक्षा गर्दाको रमाइलो, दाजुभाइ दिदीबहिनी भेला भई भाइटीका लगाउँदाको रमाइलो, फागुपूर्णिमामा रङहरूले खेल्दाको रमाइलो यी सबै चाडपर्वहरू हामीले हाम्रो धर्म संस्कृति र संस्कारबाट पाएको कुरा हो अब यसलाई हामीले जोगाएर हाम्रो भाविपुस्तासम्म पु¥याउनुपर्ने हो तर अहिले हाम्रो चाडपर्व मनाउने तरिकाले यसको सही महत्व घटाएर विकृति फैलिएको महसुस हुन्छ ।
हामी ससाना हुँदा हाम्रो बाआमाले मनाउने चाडपर्व र अहिले हामीले मनाउने चाडपर्वमा कति धेरै भिन्नता पाइन्छ पहिला दसँै तिहारको लागि भनेर खानेकुराको जोहो गर्ने, गाईवस्तुलाई घाँस काट्ने, घर लिप्ने सबै कामकाज सकेर चाडपर्वलाई स्वागत गरिन्थ्यो भने अहिले त संस्कार संस्कृतिलाई जोगाउने तरिकाले होइन कि महिनौँ अघिदेखि आफूसँग होस् नहोस् भ्याइ नभ्याइसँग दिनैपिछे पार्टी राख्ने, जाँडरक्सी खानेजस्ता विकृति भित्र्याउने तरिकाले मनाउन थालियो ।
हामी र हाम्रो समाज जति एडभान्स हुँदै गयो हामीले हाम्रो धर्म, संस्कृति, चाडपर्वको महत्व त्यतिकै पछाडि छोड्दै आएको हौँ कि भन्ने महसुस हुन्छ । हामीले चाहाने हो भने यही चाडपर्व पनि सहजै तरिकाले मनाउन सकिन्छ तडकभडक नगरी आफूसँग जे छ जति पुग्छ, जति सकिन्छ त्यसैलाई सही सदुपयोग गर्ने जानियो भने यही चाडपर्व पनि कसैको लागि रहर त कसैको लागि बाध्यता हुने थिएन होला ।
सरल जीवन नै सादा जीवन हो । अनावश्यक इच्छाहरू त्यागेको तर गाँस, बास र कपासका न्यूनतम आवश्यकता पूरा भएको जीवन नै सरल हुन्छ । यसले सन्तुष्टि दिन्छ । सत्यम शिव सुन्दरम् झैँ जीवन वास्तवमै सरल छ तर हामी यसलाई जटिल बनाउन खोज्छौँ । जिन्दगी त्यतिवेला सम्पन्न हुन्छ जतिवेला अरू थप केही चाहिँदैन ।
तर, सरल जीवन अनि सादा जीवन भन्ने भनाइ त अहिले भनाइमा मात्र सीमित भयो, आफनो सबै परिवार एकसाथ भई खुसी मनाई आफ्नो गच्छेअनुसार चाडपर्व मनाउने, संस्कृतिलाई जोगाइराख्ने जस्ता कुरा त अहिले हराउँदै गएको पाइन्छ । अहिले आधुनिकतालाई पच्छाउँदै गर्दा हामीले हाम्रो संस्कार र संस्कृतिलाई पछाडि नै धकेलिरहेका पो छौँ कि ? यही कुरालाई मध्यनजर गर्दै सकारात्मक तरिकाले परिवर्तन ल्याउने कि नकारात्मक तरिकाले परिवर्तन ल्याउने यो हामीमै भरपर्ने कुरा हो त्यसैले सुरुआत हामी आफैँबाट गराैँ । चाडपर्वलाई सहज र सरल तरिकाले मनाऔँ । सबै नेपालीहरूलाई विजयादशमीको हार्दिक मंगलमय शुभकामना ।
प्रतिक्रिया