मुलुकमा रहेका ६० वर्ष नाघेका अग्रजहरूलाई ज्येष्ठ नागरिकको रूपमा व्यवहार गर्नुपर्ने राज्यको अवधारणा छ । ज्येष्ठ नागरिक ऐन, २०६३ अनुसार ६० वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ । ज्येष्ठ नागरिकहरूलाई आफ्नो जीवनकालभरिका अनेकन उतार–चढाव, सफलता–असफलता र संघर्षपूर्ण भोगाइबाट आर्जन गरिएका ज्ञान, सीप र अनुभवका पुञ्जको रूपमा स्वीर्कानु पर्छ ।
उनीहरूको अनुभवबाट युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्दछ । अतः ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्दछ । विकसित देशहरूमा ६५ वर्षमाथिका व्यक्तिलाई ज्येष्ठ नागरिकका रूपमा लिइन्छ भने हाम्रो देशलगायत विकासशील राष्ट्रहरूमा भने ६० वर्ष माथिकालाई ज्येष्ठ नागरिक मानिन्छ ।
विकसित देशको औसत आयु नै बढी छ । जापानमा औसत आयु ८५ वर्ष छ । तर नेपालमा पुरुषको औसत आयु ७० वर्ष र महिलाको ७१ वर्ष रहेको छ । पूर्वीय दर्शनमा पितृ देवो भवः, मातृ देवो भवः भनेर अग्रजहरूलाई सम्मान गर्ने संस्कार छ । यसको साथै संयुक्त परिवारमा बस्ने चलन छ । यसको अलवा छोराबुहारी, नातिनातिनासँगै बस्ने संस्कारले गर्दा समाजमा ज्येष्ठ नागरिकको सम्मान झन बढ्न गएको छ ।
संसारका धेरै मुलुकले ज्येष्ठ नागरिकलाई उचित सम्मान दिएका छन् । वृद्ध अवस्थामा सुविधा दिएर घुम्न पठाउने, रमाइलो वातावरण बनाउने र स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मा लिने गरेका छन् । तर, हाम्रो देशमा भने वृद्ध अवस्थामा पनि आफ्ना अधिकारका लागि लड्नु पर्ने अवस्था रहेको छ । नेपालको संविधान (२०७२)को धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी हक प्रत्याभूत गरिएको छ ।
पहिलोपटक नेपालको संविधानको मौलिक हकमा ज्येष्ठ नागरिकको हकलाई उल्लेख गर्दा ज्येष्ठ नागरिकका मानव अधिकार संरक्षणमा राज्यको सकारात्मक धारणा रहेको मान्न सकिन्छ । तर राज्यको विशेष संरक्षण तथा सामाजिक सुरक्षा भन्ने विषयमा स्पष्टता देखिँदैन । यसको साथसाथै यी उल्लेख भएका र ऐनले दिएका अधिकार र सुविधाका लागि पनि आन्दोलन गर्नुपरेको छ ।
ज्येष्ठ नागरिकहरूलाई आफ्नो जीवन कालभरिका अनेकन उतारचढाव, सफलता–असफलता र संघर्षपूर्ण भोगाइबाट आर्जन गरिएका ज्ञान, सीप र अनुभवका पुञ्जको रूपमा स्वीर्कानुपर्छ । उनीहरूको अनुभवबाट युवापुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्दछ । अतः ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्दछ ।
विश्वमा ज्येष्ठ नागरिकको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । अबका तीन दशकमा ज्येष्ठ नागरिकको संख्या दोब्बरभन्दा बढी हुने अनुमान गरिएको छ । विकसित राष्ट्रमा ज्येष्ठ नागरिकको संख्या बढिसकेको छ भने अन्य देशमा पनि विकासको स्तर बढेसँगै ज्येष्ठ नागरिकको संख्या बढिरहेका छ । संयुक्त राष्ट्रसंघका अनुसार अहिले अति कम विकसित मुलुकमा ३ करोड ७० लाख ज्येष्ठ नागरिक रहेकोमा आगामी तीन दशकमा १२ करोड पुग्नेछ ।
गरिब देशमा ६० वर्ष काटेका नागरिकलाई ज्येष्ठ नागरिकको परिभाषामा समेटिएको छ । यो परिभाषाअनुसार हाल नेपालको कुल जनसंख्याको नौ प्रतिशत अर्थात् करिब २५ लाख ज्येष्ठ नागरिकहरू रहेका छन् । यस अर्थमा देशको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको अवस्थामा ६० वर्ष उमेरभन्दा माथिको जनसंख्या वृद्धिदर भने यसको दोब्बरभन्दा बढी छ ।
यसरी आगामी दशकभित्रै यो संख्या ३५ लाखभन्दा बढी हुने प्रक्षेपण छ । संविधानको धारा ४१ मा मौलिक हकका रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्थामा गरिएको छ । यसको कार्यान्वयनका लागि ऐन, कानुन निर्माण भएका छन् ।
ज्येष्ठ नागरिकका लागि राज्यले मासिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै स्वास्थ्य उपचार, यातायातजस्ता क्षेत्रमा विशेष सुविधा र आरक्षणको व्यवस्था समेत गरेको छ । संयुक्त घर–परिवार प्रणालीमा चलेको हाम्रो समाजमा एउटै घरमा परिवारका धेरै सदस्य हुन्छन् । जहाँ ज्येष्ठ नागरिकहरूलाई उच्चसम्मान गरिन्छ । जसलेगर्दा ज्येष्ठ नागरिककै सर–सल्लाह बमोजिम घर परिवार चल्दछ ।
उनीहरू नै परिवारको अविभावक तथा पुज्य हुन्छन् । समग्रमा भन्नुपर्दा ज्येष्ठ नागरिक परिवार, समाज र राज्यका लागि बोझ नभई सम्पत्ति हुन् । ज्येष्ठ नागरिक राष्ट्रका सांस्कृतिक धरोहर र अमूल्य निधि भएकाले विगतमा देश विकासमा उनीहरूको योगदानलाई सम्मान गर्नुपर्छ । ज्येष्ठ नागरिक सीप, क्षमता र अनुभवका धनी भएकाले यो क्षमतालाई सामाजिक विकासमा उपयोग गर्नुपर्छ ।
जेष्ठ नागरिकका लागि राज्य जिम्मेवार हुनु पर्ने कर्तव्य छदैँछ । आफ्ना जेष्ठ नागरिक आमा बाबुप्रति छोराछोरी पनि त्यतिकै जिम्मेवार हुनुपर्ने देखिएको छ । हाम्रो समाजमा छोराछोरी विदेशमा हुने बाबुआमा वृद्धाश्रममा हुने संस्कारलाई निरुत्साहित गर्नु अहिलेको आवश्यकता हो । जनप्रतिनिधि र कर्मचारी जेष्ठ नागरिक प्रति जिम्मेवार हुन सकेका छैनन् । उनीहरूले समयमै सामाजिक सुरक्षाभत्ता लगायत अन्य सुविधा उपलब्ध गराउन सक्दैनन् र जेष्ठ नागरिकको गुनासा सम्बोधन गर्न इच्छुक छैनन् । न जेष्ठ नागरिकको गुनासो सुन्छन, न त जेष्ठ नागरिक प्रोत्साहन कार्यक्रम ल्याउन सकेका छन् ।
अपितु बुढ्यौली जीवनलाई क्रियाशील र प्रभावकारी बनाउने जिम्मेवारी घरपरिवार, समाज र राष्ट्रको हो । यसको कार्यान्वयनका लागि ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सामाजिक सुरक्षा ऐन, २०७५ र ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६५ छन् । ज्येष्ठ नागरिकसम्बन्धी ऐनले सामाजिक सुरक्षा गर्ने, उनीहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्दै उनीहरूप्रति गर्ने श्रद्धालाई समेटेको छ । उक्त ऐन र नियमावलीले ज्येष्ठ नागरिकलाई धेरै सम्मान गरेको छ ।
तर, व्यवहारमा भने ज्येष्ठ नागरिक हक तथा अधिकारहरू पाउन नसकेको गुनासो एकातिर छ भने अर्कोतिर नेपाल सरकारले भने पछिल्लो केही वर्षदेखि ज्येष्ठ नागरिकका हक अधिकारमा उल्लेख्य प्रगति हुँदै गएको दाबी राज्यले गरेको छ । सरकारको तर्फबाट २०५१ सालमा मासिक एक सय रुपैयाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले मासिक चार हजार रुपियाँ पुर्याइएको छ ।
हाल नेपाल सरकारद्वारा प्रदान गरिँदै आएको मासिक चार हजार रुपियाँ भत्तालाई आगामी वर्ष पाँच हजार रुपियाँ पुर्याउनुपर्छ । त्यसैगरी आगामी दिनमा यो रकमलाई ६८ देखि ७९ वर्षकालाई मासिक पाँच हजार रुपैयाँ, ८० देखि ८९ वर्षकालाई मासिक १० हजार रुपैयाँ, ९० देखि ९९ वर्षका लागि २५ हजार रुपैयाँ र सो माथिकालाई मासिक ५० हजार रुपैयाँ दिने गरी वर्गीकरण गर्दा राज्यलाई ठुलो भार पर्ने देखिन्न । यसको कारण जत्ति उमेर पाको हुँदै जान्छ, उत्ति नै स्याहार गर्ने खर्च बढेर जान्छ ।
ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकका लागि दुई वटा सिट आरक्षण गरिएको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था छ । त्यस्तैगरी ज्येष्ठ नागरिकले राजस्व तिर्दा मठमन्दिरमा लाइन बस्न नपर्ने व्यवस्था कार्यान्वयन हुँदै गएको र सरकारी अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्दा औषधोपचारमा सहुलियत प्रदान गर्ने नीति आमरूपमा कार्यान्वयनमा आउन सकेको देखिँदैन ।
ज्येष्ठ नागरिक अर्थात् पाका उमेरका वृद्धवृद्धाहरू, प्रायः देशहरूमा ६० वर्ष पूरा भएका नागरिकलाई राज्यले ज्येष्ठ नागरिकको श्रेणीमा राखेको हुन्छ । जसको उमेर ढल्कँदै गएपछि अरूहरूप्रति निर्भरता बढ्छ नै । जसले गर्दा जीवनशैलीको कष्ट अनि माया ममताको चाहलाई झर्को फर्को गर्दै नेपालमा बुबाआमालाई वृद्धाश्रम पठाउने अनि हेला गर्ने चलन पनि देखिएकै छ ।
स्मरण रहोस्, पछिल्लो पुस्तालाई हामीले देखाएको सम्मान र सदाशयताले नै आउने पुस्ताले हामीलाई दिने माया र सद्भाव निर्धारण गर्छ । भनिन्छ, मातृ देवो भवः पितृ देवो भवः अर्थात् मातापिता प्रत्येक घरका देवता हुन् । त्यसकारण तिनीहरूलाई सक्दो सम्मानको व्यवहार गर्नुपर्छ ।
प्रतिक्रिया