काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवक्र्स) सात सय मिटर माथि सार्ने तयारी गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका निर्देशक तथा प्रवक्ता राजेन्द्र पन्तका अनुसार मेलम्चीको हेडवक्र्सबारे एसियाली विकास बैंकले पहिरोग्रस्त क्षेत्रसम्मै विज्ञहरू पु¥याएर गरेको अध्ययन प्रतिवेदनमा अहिले हेडवक्र्स रहेको स्थानभन्दा माथि सात सय मिटर पर मुहानस्थल सार्नुपर्ने निष्कर्ष निकालिएको छ ।
अहिले भएको मुहान जोखिमयुक्त भएकोले यसलाई सार्न लागिएको बताए । यसका लागि मेलम्चीको लगानीकर्ता एडिबीसमेत तयार भएको छ । ‘मेलम्चीको खानेपानी नियमित काठमाडौं ल्याउन स्थायी हेडवक्र्स बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि सात सय मिटर माथि नयाँ मुहानस्थल बनाउनुपर्ने निष्कर्ष अध्ययन प्रतिवेदनको छ ।’
एडिबीले मेलम्चीमा पहिरो गएपछि दुई वर्ष समय लगाएर यो अध्ययन गरेको आयोजनाले जनाएको छ । मेलम्चीमा १ असार २०७८ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवक्र्स) तहसनहस भएको थियो । त्यसयता हरेक वर्ष सरकारले अस्थायी प्रबन्धमार्फत हिउँद महिनामा पानी काठमाडौंमा वितरण गरिरहेको छ । वर्षायाममा आयोजनामा क्षति नहोस् भनी सुरुङमा पानी पठाउने मुहान बन्द गरिएको छ ।
यस वर्ष पनि बाढीले मुहान पुरेको छ । त्यसभित्र कति क्षति भयो भन्ने यकिन भएको छैन । हरेक वर्ष पटके रूपमा हुने यस्तो मर्मतलाई टार्न र स्थायी समाधान निकाल्न मुहान सार्नुपर्ने अध्ययनको निष्कर्ष छ । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल सार्न चार अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । यो अनुमान यसअघि आयोजनाको हेडवक्र्स र सुरुङका लागि गरिएको कामका आधारमा गरिएको हो ।
नयाँ मुहानस्थलबाट साविकको सुरुङसम्म पानी ल्याउन नयाँ सुरुङ खन्नुपर्छ । त्यस स्थानसम्म पुग्न बाटो निर्माण गर्नुपर्छ । मुआब्जा र जग्गा प्राप्तिसहितका काम गर्न यो रकम लाग्ने अनुमान गरिएको पन्तले बताए । ‘ठ्याक्कै लागत त डिजाइन तयार भएपछि यकिन हुन्छ,’ मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले भने, ‘हरेक वर्ष पटके रूपमा गरिने मर्मतभन्दा स्थायी संरचनामा काम गर्दा आयोजना दिगो हुन्छ ।’
आयोजनाका अनुसार मेलम्चीमा यस वर्ष पानी ल्याउने प्रयोजनका लागि अस्थायी प्रबन्धको काम भने दसैँपछि मात्र सुरु हुने भएको छ । ‘मनसुन भर्खरै मात्र सकिएको छ, हामीले टेबुल वर्कको काम सकाएका छौँ,’ प्रवक्ता पन्तले भने, ‘फिल्डमा दसैँपछि काम गर्ने योजना छ ।’ यस वर्षको बाढीले हेडवक्र्ससँगै बाटोसमेत बिगारेका कारण बाटो बनाउँदै जानुपर्ने उनले जानकारी दिए ।
‘उपकरण लग्नुपर्ने भएकाले बाटो बनाउँदै जानुपर्नेछ,’ उनले भने, ‘त्यसपछि हेडवक्र्समा काम सुरु हुन्छ, यो सबै दसैँपछि थाल्छौँ ।’ यसवर्ष ७ असारदेखि मेलम्चीको पानी सुरुङमा पठाउने मुहानको गेट बन्द गरिएको थियो । यसले वर्षायाममा आउने लेदो सुरुङमा जान रोकिएको थियो । तर, साउन २७–२८ मा मेलम्ची खोलामा आएको ठूलो बाढीले पुनः खानेपानी आयोजनाको मुहानमा क्षति गरेको छ । दुई दशकभन्दा लामो समय लगाएर निर्माण सम्पन्न भएको मेलम्ची खानेपानी आयोजनाको मुहानको काम भने अस्थायी प्रकृतिको छ । सोहीकारण वर्षायाममा मुहान पुरिने गर्छ ।
२२ फागुन २०७७ मा पहिलोपटक काठमाडौं उपत्यकामा मेलम्चीको पानी झारिएको थियो । १५ चैत २०७७ देखि मेलम्चीको पानी काठमाडौंका धारामा वितरण गर्न थालियो । १ असार २०७८ मा मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवक्र्स) विनासकारी बाढीका कारण तहसनहस भयो ।
त्यसपछि नौ महिनासम्म बन्द भएको पानी ११ वैशाख २०७९ मा अस्थायी रूपमा मात्र आउन थाल्यो । त्यसपछि बाढीबाट हुने क्षति रोक्न भन्दै मेलम्चीको मुहान बन्द गरिएको थियो । १७ जेठ २०७९ मा बन्द भएको पानी त्यसको ६ महिनापछि अर्थात् २३ मंसिर २०७९ मा मात्र पानी पुनः काठमाडौं ल्याइयो । यस वर्ष ७ असार २०८० बाट पानी रोकिएको हो ।
प्रतिक्रिया