काठमाडौं । चालु आर्थिक आर्थिक वर्षको भदौ मसान्तसम्म कुल वस्तु व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ४.७ प्रतिशत कम हो । अघिल्लो वर्षको यही अवधिमा यस्तो घाटा ९.४ प्रतिशतले घटेको थियो । भदौ मसान्तसम्म २६ अर्ब ४५ करोड रुपैयाँको निर्यात व्यापार भएको थियो । यही अवधिमा २ खर्ब ५९ अर्ब ७५ करोड आयात भएको कारण व्यापार घाटा चुलिएको हो ।
निर्यात व्यापार बढाउने तथा आयात व्यापार घटाउने कार्य नगरेसम्म व्यापार घाटा बढ्ने देखिन्छ । यो अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको भदौ मसान्तमा निर्यातमा ३४.९ प्रतिशतले कमी आएको थियो ।
अहिले भारततर्फ भएको निर्यातमा १५.६ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३३८.५ प्रतिशत र ५.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, अलैंची, पार्टिकल बोड, पोलिस्टर धागो, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, औषधीलगायतका वस्तुको निर्यात घटेको छ ।
यो अवधिमा वस्तु आयात ५.१ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आयात १३.० प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.२ प्रतिशत र २१.५ प्रतिशतले कमी आएको छ । चीनतर्फको आयात २५.४ प्रतिशतले वृद्घि भएको छ ।
वस्तुगत आधारमा एम.एस. तार, छड, बार तथा क्वाइल, तयारी पोशाक, विद्युत्तीय उपकरण, लत्ताकपडा, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधी, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।
आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सबै प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । यो अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ३२ अर्ब १४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६ अर्ब २३ करोड बराबरको भएको थियो । वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.१ प्रतिशत र ४५.६ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.२ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुुपात क्रमशः ५७.८ प्रतिशत, ०.०३ प्रतिशत र ४२.२ प्रतिशत रहेको थियो । कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५२.८ प्रतिशत, पुँजीगत वस्तुको ९.१ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपात क्रमशः ५३.७ प्रतिशत, ८.७ प्रतिशत र ३७.७ प्रतिशत रहेका थिए ।
८ अर्बको वनस्पति तेल आयात
चालु आर्थिक वर्षको भदौ मसान्तसम्म वनस्पति तेलअन्तर्गत पर्ने पाम, सोयाबिन र सनफ्लावर आयल ८ अर्ब १६ करोडको आयात भएको छ । यसमध्ये ८३ करोड २ लाख रुपैयाँ बराबरको तेल निकासी भएको छ । ७ अर्ब ३३ करोड रुपैयाँको तेल भने आन्तरिक बजारमै खपत भएको छ ।
तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी भारत निकासी हुँदै आएको वनस्पति तेल अहिले मुलुकभित्रै खपतका लागि मात्र आयात हुने गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार दुई महिनामा नेपालले ८ अर्ब १६ करोड रुपैयाँबराबरको वनस्पति तेल तथा यससम्बन्धी कच्चा पदार्थ आयात गरेको छ । यसमध्ये ८३ करोड २ लाख रुपैयाँको मात्र तेल निकासी भएको छ ।
केन्द्रका अनुसार यो अवधिमा सबैभन्दा बढी सोयाबिन आयलको कच्चा पदार्थ आयात भएको छ । दुई महिनामा २ अर्ब ९६ करोडको सोयाबिन आयलको कच्चा पदार्थ आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६७.३६ प्रतिशत कम हो ।
यस्तै सनफ्लावर आयलको कच्चा पदार्थ आयात ४४.०८ प्रतिशत बढेको छ । साउन र भदौमा २ अर्ब ८८ करोडको सनफ्लावर आयल र यसको कच्चा पदार्थ आयात भएको केन्द्रले जनाएको छ । कच्चा पाम आयल आयात भने ६५ प्रतिशतले घटेर २ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ । वनस्पति तेल र कच्चा पदार्थको आयातमा मिश्रित अवस्था देखिए पनि निकासी निकै निराशाजनक रहेको केन्द्रको तथ्यांकले देखाउँछ ।
सबैभन्दा शीर्ष स्थानमा रहेको पाम आयल ७५ करोड २६ लाख रुपैयाँको निकासी भएको छ । सनफ्लावर आयल ७ करोड ७५ लाख तथा सोयाबिन आयलको निकासी ३५ हजार रुपैयाँमा खुम्चिएको छ । प्रतिशतका आधारमा पाम आयलको निकासी ८६.७८ र सनफ्लावर आयलको निकासी ३७.१३ प्रतिशतले गिरावट आएको छ ।
खाद्य तेलको सूचीमा पर्ने भटमास, पाम र सूर्यमुखी तेलको निकासीमा करिब ७ अर्ब रुपैयाँ बराबरको ह्रास आउँदा भारततर्फको निकासी पनि घटेको छ । नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यात साउन र भदौमा मात्र १५.६ प्रतिशतले ह्रास आई १६ अर्ब ७४ करोडमा झरेको छ । भारततर्फको निकासीमा ह्रास आउनुमा मुख्य वस्तुको निर्यातमा कमी आउनु मुख्य कारण रहेको छ ।
निकासीको सूचीमा अग्रस्थानमा रहेका पाम आयल तथा भटमासको तेलको निकासी घट्नुमा भारतले लागु गरेको मुख्य कर नीति हो । नेपालले तेस्रो मुलुकबाट भटमास आयात गर्ने र नेपालमा प्रशोधन गरेर भारत निर्यात गर्ने गरेको थियो । भटमासको तेल भारत निकासी गर्दा भारतले शून्य भन्सार र निकै न्यून दरको अन्तःशुल्क लगाउने गरेका कारण स्वदेशी उद्योग फस्टाएका थिए ।
तर, भारतले गत वर्ष आफ्ना नागरिकलाई महँगीको मारबाट जोगाउन यी वस्तुमा शून्य भन्सार लागु गरेसँगै नेपाली तेल उद्योग धरासायी बनेका हुन् । भारतमा भटमास तेलको आयात नेपालबाट मात्र नभई बंगलादेशबाट पनि हुने गरेको थियो ।
प्रतिक्रिया