चीन–भारतको मित्रता अहिलेको आवश्यकता

अमेरिकाले पनि कुनै सही कदम उठाउँदछ भने त्यसको समर्थन गरिनुपर्दछ । अमेरिका यतिबेला रुसकाप्रति अत्यन्तै आक्रामक बनेको र रुसमाथि उसले विभिन्न प्रतिबन्ध लगाएको छ । यस आक्रामकताको समर्थन गरिनु हुन्न । अर्कोतिर चीन र भारतका जुन समस्या छन् खासगरी सीमा समस्या त्यसलाई शान्तिपूर्ण किसिमले सुल्झाएर अघि बढ्न प्रेरित गरिनुपर्दछ । एसियाका यी देश परस्पर समझदारीका साथ अघि बढ्नसके भने दुई देशको मात्रै होइन, समग्र एसियाको र विश्वकै निमित्त सकारात्मक स्थिति बन्छ ।

लोकनारायण सुवेदी

विश्व शान्तिमाथि बढ्दो खतराका बीचमा विकासशील देशहरूको विदेश नीतिसम्बन्धी कठिनाइ र चुनौती अझ बढ्न पुगेका छन् । यस सन्दर्भमा मूलतः उनीहरूका सरोकारका कुरा दुई किसिमका देखिन्छन् र तिनमा समन्वय बनाउन आवश्यक रहेको औँल्याइँदै छ । तिनको पहिलो उद्देश्य के छ भने विश्वको बढ्दो जटीलताका बीच उनीहरू आफ्नो राष्ट्रिय हितहरूको रक्षा तथा आफ्ना देशका नागरिकहरूका हितको रक्षा गर्ने कुरा । अनि दोस्रो उद्देश्य छ, या हुनु पर्दछ विश्वको अमनचयनमा न्याय र समानतामा आधारित विश्व व्यवस्था । यसैगरी विश्वस्तरमा पर्यावरणको रक्षाका लागि सकेसम्म आफ्नो सहयोग प्रदान गर्ने कुरा ।

जहाँसम्म राष्ट्रिय हितहरूको प्रश्न छ, त्यो स्पष्ट नै छ कि कुनै पनि देश यस्तो स्थितिमा आउन चाहँदैन जसबाट उसको सम्प्रभूता र सीमाहरूमाथि खतरा पुगोस् । यसका साथै कुनै पनि विकासशील देश यो चाहन्छ कि कृषि तथा खाद्य, ब्यापार, लगाानी, विदेशी ऋण, मुद्रा(करेन्सी) प्याटेन्ट, कर(ट्याक्स), खनिज, ऊर्जा, जैविक सम्पदा तथा पर्यावरण आदिका विषयमा उसलाई अन्याय नगरियोस् तथा अन्तर्राष्ट्रिय आर्थिक स्थिति यस्तो बनिरहोस् जुन ती देशहरूको हित र स्थिति अनुकूल रहोस् । त्यसैले, आफ्नो राष्ट्रिय हितको रक्षाका लागि विकासशील देशहरूलाई के चाहियो भने अमेरिका तथा नाटो देशहरूको रुस तथा चीनकाप्रति जुन दुश्मनी छ त्यसमा कुनै गुटतिर नजोडिने र असंलग्न देशहरूको शक्ति बढाउने ।

हुन पनि समग्रमा संयुक्त राज्य अमेरिकाका नीतिहरू इराक, लिबिया, इरान, सिरिया, यमन तथा अफगानिस्तानजस्ता कैयौँ देशहरूकाप्रति बहुतै अन्यायपूर्ण रहेको विश्वलाई प्रष्ट भएकै कुरा हो जहाँ यस्ता नीतिहरूको विरोध आवश्यक छ, त्यहाँ विरोध गरिनुपर्दछ तर यस्तो किसिमको यतिका ठूलो सैन्य महाशक्तिसँग दुश्मनी मोलिनु हुँदैन । अर्कोतिर कुनै पनि देशको पिछलग्गु भएर चल्न हुँदैन भन्ने कुरा नै आजको विश्वमा विकासशील देशहरूको साझा र मूल कुरा हो ।

यस सन्दर्भमा कुन प्रश्न उठ्दछ भने आफ्नो राष्ट्रिय हितको रक्षा गर्न तथा विश्व शान्ति एवं सम–न्यायलाई बढावा दिनमा कुनै परस्पर विरोधको स्थिति उत्पन्न नहोस् । जुन देशहरूमाथि अमेरिकाले अन्याय गरेको छ तिनको पक्षमा खडा हुनु जरुरी छ । यसका साथै अमेरिकाभित्र जुन अमनचयन, शान्ति तथा न्याय पक्षका शक्तिहरू छन्, उनीहरूसँग निकटको सम्बन्ध पनि कायम गरिनुपर्दछ जसले गर्दा अमेरिकी जनताका बीचमा पनि मित्रताको सम्बन्ध बनिरहोस् । कदाचित अमेरिकाले पनि कुनै सही कदम उठाउँदछ भने त्यसको समर्थन गरिनुपर्दछ । अमेरिका यतिबेला रुसकाप्रति अत्यन्तै आक्रामक बनेको र रुसमाथि उसले विभिन्न प्रतिबन्ध लगाएको छ । यस आक्रामकताको समर्थन गरिनु हुन्न । अर्कोतिर चीन र भारतका जुन समस्या छन् खासगरी सीमा समस्या त्यसलाई शान्तिपूर्ण किसिमले सुल्झाएर अघि बढ्न प्रेरित गरिनुपर्दछ । एसियाका यी देश परस्पर समझदारीकासाथ अघि बढ्नसके भने दुई देशको मात्रै होइन, समग्र एसियाको र विश्वकै निमित्त सकारात्मक स्थिति बन्छ ।

भारत चीनले स्वाधीनता पाएपछि दुबै देशका बीच ‘हिन्दी चीनी भाइ भाइ’ को सुन्दर सम्बन्ध बनेको थियो र त्यो सम्बन्धलाई ठूलो महत्व पनि दिइएको थियो । त्यो यस्तो समय थियो जति बेला अमेरिका ‘क्यूवा मिसाइल संकट’तिर केन्द्रित थियो । त्यो रुसी मिसाइलले सुसज्जित जहाजी बेडा क्यूबातर्फ रुसले पठाएको थियो । कतै रुस र अमेरिका बीच ठूलो युद्ध संकट उत्पन्न भएर विश्वलाई नै चुनौती खडा हुने त होइन भन्ने स्थिति खडा भएको थियो । त्यो स्थिति टर्नु पर्दछ भन्ने विश्वव्यापी आवाज उठिरहेको थियो । अहिले पनि अमेरिका र चीनका बीच बढ्दो टक्करलाई लिएर भारतलगायत कुनै पनि देश अमेरिकाको पक्षमा जानु हुँदैन भन्ने दबाब विश्वव्यापीरूपमा नै देखा परिरहेको छ । यदि त्यसो गरेर भारतले गल्ती ग¥यो भने भारत नै आर्थिक तथा सामरिक रूपमा फस्छ भन्ने पनि राजनीतिक विश्लेषकहरूले औँल्याइरहेका छन् ।

आजको अर्को महत्वपूर्ण कुरा जलवायु परिवर्तनसम्बन्धी समस्याको पनि टड्कारो रूपमा खडा भएको छ । जहाँ पर्यावरणको रक्षाका लागि अन्तर्राष्ट्रिय सम्बन्ध तथा राजनयिक स्तरमा पनि यो विषय महत्वपूर्ण बनिरहेको छ । यसमा खासगरी विकासशील देशहरूले विशेष सावधान रहनुपर्ने देखिन्छ । किनकि यो विषयमा सम्पन्न देशहरूले पुनः आफ्नो स्वार्थमा यस समस्यालाई भजाउने कुटील चलाखी हुनसक्ने खतरा उत्तिकै छ । यस्ता केही लक्षणहरू पनि देखापर्न थालेका छन् । त्यसैले सतर्कताको आवश्यकता अझ बढ्दो छ । जलवायु परिवर्तनको संकटको समाधान न्यायको बाटोबाट हुनुपर्दछ र विकासील देशहरूमाथि यो विषयमा कुनै अन्याय गरिनु हुँदैन । यसरी नै व्यापार, लगानी, प्याटेन्ट आदिका नीतिहरूमा पनि विकासशील देशहरूमाथि अन्याय लादिनु हुँदैन भन्ने यथार्थले पनि विश्वमा जोड पक्रिँदै छ ।

त्यतिबेला विश्व व्यापार व्यवस्थालाई पहिलाभन्दा अझ बढी अन्यायपूर्ण तुल्याएको थियो । अहिले पनि विभिन्न त्यस्ता व्यापारलाई विभिन्न सम्झौताको माध्यमबाट सम्पन्न देशहरूकै हितको पक्षमा पारिँदैछ । त्यसैले विकासशील देशहरूले यस्ता नीतिहरूको विरोधमा अझ सचेत र सक्रिय भएर एकसाथ अघि बढ्नुपर्ने आवश्यकता झनै बढेको छ । विकासशील देशहरूले यसरी विभिन्न विषयहरूमा आफूमाथिका अन्याय र विषमतालाई रोक्नका लागि परस्पर एकतालाई सबल तुल्याइनुपर्ने प्रष्ट छ । उनीहरू बीचको बढ्दो एकताको विश्व शान्ति र न्यायका निम्ति पनि ठूलो महत्व छ । वास्तवमा विकासशील देशहरूको हितको रक्षा तथा उनीहरूको बढ्दो एकता आजको विश्वको टड्कारो र सामयिक आवश्यकता हो ।

के कुरा सही हुन्थ्यो भनिँदै छ भने यदि आज पनि भारत र चीनको परस्पर सम्बन्ध सहज रहेको भए ती दुबै देशहरूको एसिया तथा विश्वका अन्य मित्र देशहरूको लागि ठूलो भलाइको सम्भावना हुन्थ्यो । दुबै देश उपनिवेशबाट मुक्त भएपछि जसरी अघि बढ्न सुरु गरेका थिए त्यसलाई कायम राखिनु पर्दथ्यो । तर त्यसो हुन सकेन । यद्यपि अब पुनः त्यो पुरानो साम्राज्यवाद र उपनिवेशवाद विरोधी संघर्षको एकता भावलाई विकसित र विस्तार गर्न यी दुई देश लाग्नसके भने त्यसले विश्वका राष्ट्रहरूको स्वाधीनता, सार्वभौमिक अखण्डता र शान्तिपूर्ण मैत्री सम्बन्धलाई कायम राख्न र साझा विश्वतर्फ भविष्यका लागि अघि बढ्न ठूलो र विश्वासिलो योगदान पुग्ने कुरा निश्चित छ । के आजको विश्व त्यो दिशामा दृढताकासाथ अघि बढ्न यथार्थतः तत्पर होला ? अन्यथा शान्तिमाथिको खतरा अझ बढ्ने र विकासशील देशहरूमाथिको संकट अझ जटील बन्ने कुरा निश्चित छ । सह–अस्तित्व, सुझबुझ र सम–न्यायिक समानताका लागि सार्थकरूपमा समर्पित हुन सकेमा मात्र यस्ता जटील समस्याको समाधान सही किसिमले खोजी गर्न सकिनेछ ।

प्रतिक्रिया