निवा बनिन् धरान मिस आइकन

सुनसरी । धरान १५ की निवा लिम्बू (१९) ले ‘मिस धरान आइकन २०२३’ को उपाधि जित्न सफल भएकी छन् । ‘तपाईं धरानको नगरप्रमुख हुनुभयो भने के गर्नुहुन्छ ?’ मुख्य निर्णायक गगनमान श्रेष्ठले सोधेको प्रश्नको सटिक जवाफ दिँदै उनले मुख्य उपाधिसँगै मिस पर्सनालिटीको सबटाइटलसमेत जितेकी छन् । निवाले स्वच्छ खानेपानी वितरण, फोहोर व्यवस्थापनमा ध्यान दिने र नगरवासीलाई स्तरीय शिक्षा र स्वास्थ्य सुविधाको प्रत्याभूति दिने बताइन् ।

उनले भनिन्, ‘म यदि मेयर भएँ भने युवाहरुलाई विदेश नजान अपिल गर्दै धरानमै रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्नेछु । अर्थतन्त्रको विकासका र पर्यटनमा टेवा पुर्याउन धरानमा स्थानीय सम्पदाको प्रबर्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्नेछु । साथै मेरो ज्ञान डिजिटल मार्केटिङमा लगाउने छु ।’ निवाले नेतृत्व विकास र योजना व्यवस्थापनमा सरोकारवालासँग परामर्श गरी धरानको विकासमा लगाउने बताइन् । उनले भनिन्, ‘युवाहरुलाई निःशुल्क अनलाइन शिक्षा प्रदान गर्नेछु ।’ उनले युवा उद्यमीलाई स्थानीयस्तरमै अवसर सिर्जनाका लागि नीति तथा कार्यक्रम निर्माण गर्ने बताइन् ।

निवाले धरानको अर्थतन्त्रको विकास र पर्यटनमा टेवा पु¥याउन स्थानीय सम्पदाको प्रवर्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने जवाफ दिइन् । उनले ११ प्रतिस्पर्धीलाई उछिन्दै उपाधिसँगै नगद ५० हजार रुपैयाँ र एक साताको हङकङ भ्रमणको अवसरसमेत प्राप्त गरेकी छन् । इटहरी इन्टरनेसनल कलेजमा बिबिए सेकेण्ड इयर अध्ययनरत निवाको सटिक उत्तरमा निर्णायक मण्डलले उनलाई विजेता घोषणा गरे । उनलाई आयोजक संस्थाका प्रमुख हरिहाङ तिगेलाले बिजेताको ताज पहिराइदिए ।

यस्तै, मिस धरान आइकनको फस्ट रनरअप मिस इन्टेलेक्चुअलको सब टाइटल पाएकी अनु राई घोषित भइन् । उनले नगद ३० हजारसँगै ३ महिनाको निःशुल्क आइएलटिएस कोर्सको अवसर प्राप्त गरिन् । उनलाई मिस धरान आइकन २०२२ कि फस्ट रनरअप प्रेजिना राईले ताज लगाइदिइन् । त्यस्तै, मिस ब्युटिफुल कम्प्लेसनको सबटाइटल विजेता जेसिका जोशी सेकेण्ड रनरअप बनिन् । उनले नगद २० हजारसँगै ३ महिनाको निःशुल्क आइएलटिएस कोर्स गर्ने अवसर प्राप्त गरिन् । उनलाई मिस धरान आइकन २०२२ कि सेकेन्ड रनरअप श्वेता विश्वकर्माले ताज लगाइदिइन् ।

सब–टाइटलअन्तर्गत मिस फोटोजेनिक समीक्षा चौधरी, मिस बेस्ट वक रिया सेन्चुरी, मिस मल्टिमिडियासँगै मिस फ्रेण्डसिप दिवाना राई, मिस पब्लिक चोइस साइमना राई, मिस डिस्सिप्लिन विशाखा विष्ट, मिस एक्टिभ जुनु तामाङ, मिस कल्चरल ड्रेस सृष्टिका राई, मिस बेस्ट स्माइल एलिना तामाङ घोषित भए । ब्ल्याक पिग इन्टरटेन्मेटको आयोजनामा भएको मिस धरान आइकनको दोस्रो संस्करणको निर्णायक मण्डलमा मेन्टर सेफ गगनमान श्रेष्ठसँगै अभिनेता सानुबाबा सुब्बा, डिएसपी डा श्रीबिन्दु शर्मा, डिपो स्कुलका फ्याकल्टी चिफ डा एनएल राजवंशी, शिक्षासेवी तथा उत्प्रेरक सुरेश राई, कवि सुदिप पाख्रिन र मिस पूर्वाञ्चल २०१९ कि सेकेन्ड रनरअप तथा लेक्चरर सिमरन लिम्बू रहेका थिए । ‘ब्युटी विथ ब्रेन’ को नारासहित युवा सशक्तीकरणका लागि प्रतियोगिता आयोजना गरिरहेको आयोजक संस्थाका प्रमुख हरिहाङ तिगेलाले जानकारी दिए । प्रतियोगीलाई एक महिनासम्म व्यक्तित्व विकास, फेसन, ¥यामवर्क, सौन्दर्यसम्बन्धी ज्ञान, पर्यटन, इतिहास, क्याटवक लगायतका प्रशिक्षण दिइएको मिस धरान आइकनका प्रबन्ध निर्देशक राजकुमार पराजुलीले जानकारी दिए । डिजाइन अफ फेसन एण्ड टेक्नोलोजीको पहिरन रहेको प्रतियोगिताको कोरियोग्राफी प्रोजिता लामाले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन विद्या लिम्बूले गरेकी थिइन् । प्रतियोगिता सिल्भर इन्टरटेन्मेन्टको विशेष सहयोगमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया