‘चिट्ठी’ को फस्टलुक सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिट्ठी’ को फस्टलुक सार्वजनिक भएको छ । निर्माण कम्पनी एरा प्रोडक्सनले आफ्नो चलचित्रको सो फस्टलुक सार्वजनिक गरेको हो । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई सञ्चारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन् ।

माधवराज खरेलको लेखन र निर्देशन रहेको चलचित्रमा अनिता कुँवर र कृष्णा आचार्य एसोसियट निर्माताको रुपमा रहेका छन् भने सहनिर्माता समिर खान रहेका छन् । चलचित्र ‘चिट्ठी’ मा प्रमुख कलाकारका रुपमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर (खबपु), गोपाल ढकाल (छन्दे), नवराज थापा, मुस्कान लामा, प्रवन भुसाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल रहेका छन् । यस्तै, विशेष भूमिकामा अग्रज कलाकार मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा पत्रकारसमेत रहेका गायक तथा संगीतकार सरोज कोइरालाले संगीत भरेका छन् । यसैगरी चलचित्रमा गायक शिव परियार, गायिका बेनिसा पौडेल, बसन्त अर्यालको स्वर रहेको छ । डा.कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डव भजनसमेत रहेको छ जुन भजनको संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् ।

जीवन पराजुली एवं राजन खरेलको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन, कृष्णबहादुर कार्की प्रोडक्सन डिजाइनर, अमृत चापागाई पोस्टर एवं साहिल खान पब्लिसिटी डिजाइनरका रुपमा रहेको चलचित्र चिट्ठीलाई काठमाडौं, काभ्रे, ललितपुर लगायतका विभिन्न स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रलाइ अच्यूत बजगाई र माधव खरेलले सम्पादन गरेका हुन् । समिर मियाँको कलर तथा भिएफएक्स रहेको चिट्ठीमा पुस्कर खत्रीको ब्याकराउण्ड संगीत स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ तथा डिजाइन रहेको छ । चलचित्रलाई सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्माता कमला जोशीले जानकारी दिइन् ।

प्रतिक्रिया