असमानता र विभेदको अन्त्यको लागि सही बाटो

अन्धासुरमा चलाइएको आन्दोलनले समय र श्रम त लिन्छ नै तर त्यसको कुनै सार्थकता हुँदैन । नेपालमा धेरैजसो यस्तै आन्दोलन हुँदै आएका छन् जसले गर्दा नयाँ नयाँ आवेग र उत्तेजना त फैलिएको छ तर कुनै समाधान फेला पार्न सकेको छैन । बरु एउटा समस्या समाधान गर्न खोज्दा अर्को त्योभन्दा चर्को समस्या उत्पन्न भएको र समाज तावाबाट उम्केर भुंग्रोमा पर्न गएको जस्तो स्थिति सर्वत्र विकसित हुँदै आएको दुरावस्था छ ।

लोकनारायण सुवेदी

कुनै पनि समाज या देश सही अर्थमा विकसित र सफल राष्ट्रको श्रेणीमा त्यतिबेला मात्र आउँदछ जब समाजका सबै वर्ग, तह र तप्काका जनताई समान र साझा कल्याणको धरातलमा खडा गर्ने स्पष्ट नीति र व्यवहार सुनिश्चित गर्न सकिन्छ । नेपाली समाजमा अधिकांशतः आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक समस्याहरू जाति विशेषसँग जोडिएका छन् । शासन प्रशासनमा तुलनात्मकरूपमा आर्थिकरूपले सम्पन्न अभिजात वर्ग, लैंगिकरूपमा पुरुष प्रधानता नै सर्वत्र प्रभूत्वशाली रहेको छ । सामाजिक न्याय र समानता तथा समभावका लागि यो स्थिति विकास–अमैत्री स्थिति हो ।
हाम्रो देश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो भन्ने कुरा सर्वविदित र संविधानतः पनि सर्वस्वीकार्य कुरा छ । तर यो विविधताभित्र असमानता, विभेद र वहिष्करण पनि सँगसँगै रहेको छ । त्यसैले खोज अनुसन्धान गर्ने अध्येताहरूले नेपाली समाजमा वर्गीय, लैंगिक, जातीय र क्षेत्रीय असमानता रहेको कुरा पटकपटक औँल्याउँदै आएका छन् र त्यसको सही समाधानको खोजी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । त्यसैले असमानताको निराकरण गर्न र समानतालाई दीगोरूपमा स्थापित गर्न मूलभूत समस्याको समाधान के कसरी हुन सक्छ भन्ने कुरा अत्यन्तै महत्वको राष्ट्रिय मुद्दा बन्न गएको छ । यस बारेमा सही दिशाबोध गर्न र समाजलाई अग्रगति दिनसकेमा मात्र विकासको सही दिशा पहिल्याएको ठहरिन्छ । अन्यथा अन्तहीन सामाजिक संघर्षको शृंखला मात्र हाम्रो नियति हुनेछ । अहिलेसम्मका एकपछि अर्का अनुभवहरूले मूलतः यही कटु यथार्थलाई अथ्र्याउँदै आएका छन् ।

यो प्रष्ट देखिँदै आएकै कुरा हो कि अत्यन्तै ठूलो सामाजिक वर्ग सानो मुठ्ठीभर शक्तिको शोषणको सिकार हुँदै आएको छ । त्यस बहुसंख्यक शोषित उत्पीडित वर्ग, तह र तप्कालाई समाजको मूख्य धारामा ल्याउन त्यस वर्ग विशेषको जनसंख्या, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक स्थितिको अध्ययन गरिनुपर्दछ नै । यस सँगसँगै असमानता र शोषणलाई कायम राख्ने र तिनको समाधानमा सहयोग गर्ने बाह्य र आन्तरिक कुन कुन अर्थ–राजनीतिक तथा सामाजिक–सांस्कृतिक शक्तिहरू छन् तिनको पनि अध्ययन र खोजबिन गरेर सही निष्कर्षमा पुग्नु उत्तिकै आवश्यक छ ।

किनभने आज पहिले भन्दा तीव्र र चौतर्फीरूपमा नव उदारवादले देश विकासका बहु विकल्पहरूको खोजी गर्नका लागि राज्यको भूमिकालाई पनि सीमित तुल्याइदिएको छ । शिक्षा, रोजगारी, स्वास्थ्य, आवास र आहारजस्ता जनताका जीवनका आधारभूत आवश्यकताहरूले आज विश्वव्यापीरूपमा नेपालमा पनि निरन्तर नवउदारवादी नीति र शक्तिको मार झेलिरहनुपरेको छ र बोझ बोक्नु परिरहेको छ । यस स्थितिमा नयाँ र पुराना बोझ र समस्या मिलेर अझ जटील स्थिति खडा हुन पुगेको छ । यसले समाधानको बाटो पहिल्याउन पनि कठिनाई उत्पन्न गरिरहेको छ । फलतः समस्या समाधान गर्न पुराना र नयाँ उठेका समस्यारुको के कस्तो सम्बन्ध छ र तिनले जनतामाथिको अर्थ–सामाजिक बोझलाई अझ बोझिलो कसरी तुल्याइरहेका छन् त्यसको ठोस अध्ययन अनुसन्धान गर्नु र सही निष्कर्षमा पुग्नु आजको सर्वोपरी आवश्यकता हो ।

त्यसैले जनगणना गर्दा होस् या कृषि गणना गर्दा होस् यी राष्ट्रिय र अन्तर्राष्ट्रिय परिप्रेक्षका ठोस तथ्य सत्यहरूलाई प्रष्ट जानकारीमा नलिई चालिने कदमले सामाजिक रूपान्तरणको आन्दोलनले सफलताको छेउ टुप्पो केही अत्तोपत्तो पाउँदैन । यसरी अन्धासुरमा चलाइएको आन्दोलनले समय र श्रम त लिन्छ नै तर त्यसको कुनै सार्थकता हुँदैन । नेपालमा धेरैजसो यस्तै आन्दोलन हुँदै आएका छन् जसले गर्दा नयाँ नयाँ आवेग र उत्तेजना त फैलिएको छ तर कुनै समाधान फेला पार्न सकेको छैन । बरु एउटा समस्या समाधान गर्न खोज्दा अर्को त्योभन्दा चर्को समस्या उत्पन्न भएको र समाज तावाबाट उम्केर भुंग्रोमा पर्न गएको जस्तो स्थिति सर्वत्र विकसित हुँदै आएको दुराबस्था छ । आन्दोलन समस्या समाधानका निम्ति नभएर स्थितिलाई अझ नाजुक बनाउने र त्यसैमा खेल्ने गलत राजनीति विकसित भएकाले नै आज जनतामा राजनीतिप्रति अरुची र आक्रोश पैदा भएको र राजनीतिक कार्यकर्ताहरू पनि निराश भएको स्थिति जन्मेको हो ।

अतः आज मूल्य मान्यतामा आधारित बिचार, दृष्टिकोरण, सिद्धान्त र नीतिले मार्ग दर्शन गरेको सही राजनीतिक दिशाबोधलाई सर्वप्रथम पुनस्थार्पित गर्नुपर्ने तीव्रतम आवश्यकता बन्न गएको छ । यसो नगरिकन जनताको त कुरै छोडाँै अलि सचेतजस्तो देखिने राजनीतिक कार्यकर्तामा पनि विश्वासको वातावरण बन्दैन । बास्वतमा देशको ऊर्जाशील युवा पिढीलाई राजनीतिप्रति वितृष्णा जगाउने र उनीहरूलाई त्यसबाट विमुख तुल्याउने अनि यो देशमा केही हुँदैन भनेर निरन्तर बाह्य पलायनको अनन्त शृंखलामा धकेल्ने जुन प्रपञ्च भइरहेको छ त्यसलाई नतोडेसम्म मुलुकलाई अँध्यारो अवस्थाबाट उज्यालो दिशातिर उन्मुख गराउन र डो¥याउन पनि सकिने छैन ।

आज नव सामन्ती दलाल पुँजीवादी शक्तिले देशको अर्थतन्त्रलाई नव उदारवादी शक्तिको घोषित अघोषित दिर्नेशन र सहयोगमा जसरी कब्जा गरेको छ त्यसले नेपाली समाजका सम्पूृर्ण तह र तप्कालाई अनन्त शोषणको सिकार बनाएको छ । यस स्थितिले न देशको औद्योगिकरण हुन्छ न रोजगारी पैदा हुन्छ, न सामाजिक समानता कायम हुन्छ न शिक्षा र स्वास्थ्य नै निःशुल्क हुने अवस्थाको सिर्जना हुन्छ न वर्गीय, लैंगिक, जातीय एवं क्षेत्रीय असमानताको विभेद नै अन्त्य हुन्छ । त्यसको विपरीत ती समस्यामा खेल्ने र जनता लडाउने असन्तुल्नकारी राजनीतिको चहलपहल हुन्छ । अनि समाजको कुनै क्षेत्र पनि विश्वसनीय र भरपर्दो बन्न सक्तैन । आजको हाम्रो समग्र स्थिति यस्तै अवस्थाबाट गुज्रिरहेको छ । यस स्थितिलाई बदल्न तयार हुनु र त्यस दिशामा अघि बढ्नु नै देशलाई सही दिशामा अग्रसर तुल्याउने राजनीति हो र हुनुपर्दछ । लहैलहैमा कतै लागेर उफ्रिनु गलत राजनीतिलाई प्रश्रय र प्रोत्साहन दिनु मात्र ठहर्छ । आज विशेषगरी युवा पिढीले यो कुरा बुझ्नु अत्यन्त जरुरी छ । किनकि देशको भविष्य उनीहरूकै काधमा पर्न आएको छ ।

प्रतिक्रिया