लिमेलको ‘तिम्रै मोया छ’

खोटाङ । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मिएका उनको उक्त नयाँ गीति सङ्ग्रहमा निर्माण गरिएको गीति भिडियो ओएसआर डिजिटल नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । दिनेश सुवेदीको शब्द तथा करसाङ लामाको संगीत रहेको उक्त गीतमा गायक मगरसँगै गायिका अस्मिता अधिकारीको आवाज रहेको छ । सार्वजनिक गीति भिडियोमा अभिनेता रस्मिला तामाङ तथा जीवन बस्नेत, किरन मगर, राजु श्रेष्ठ, परिश्ना बस्तोला र भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’ अन्तर्गत नृत्य विद्याका उपविजेता सुवास विश्वकर्माले अभिनय गरेका छन् ।

अर्जुन खड्काले सम्पादन गरेको उक्त भिडियोकोे निर्देशन राजु श्रेष्ठले र कोरियोग्राफी मनोज तामाङले गरेको गायक मगरले जानकारी दिए । रावासावा प्राज्ञिक समाज नेपालका महासचिव तथा खोटाङ कलाकार समाज काठमाडौंमा समेत आबद्ध रहेका उनको यो सातौँ गीति सङ्ग्रह भएको बताइएको छ । उनले यसअघि मायाको आशैमा, भञ्ज्याङ र चौतारी, मनको कुरा, साहरा र तिम्लाई पाउँजस्ता गीति सङ्ग्रह बजारमा ल्याइसकेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका गायक मगर काठमाडौं लिटल ब्लोजम स्कुल नयाँबजार, भक्ति इन्टरनेसनल एकेडेमी बूढानीलकण्ठ र प्रगति बोर्डिङ हाइस्कुल बालाजुमा अध्यापनसमेत गर्दै आएका छन् । ‘गाउँदै–पढाउँदै’ गर्ने गायक मगरले लोक–आधुनिक भाकामा निर्माण गरेको गीतको भिडियोमा माया, पिरतीका कुरा गरिएको छ ।

प्रतिक्रिया