रापिला कविता

तेजविलास अधिकारी

कवि बलराम तिमल्सिनाद्वारा लिखित ‘मामुली मान्छे’ कविता सङ्ग्रह (२०७९) पछिल्लो साहित्यिक कृति हो । नेपाली गीत, सङ्गीत र कविताका क्षेत्रमा वैचारिक लेखकको परिचय बनाएका तिमल्सिनाले आफ्नै जीवनयात्राका क्रममा देखेभोगेका विषयवस्तुलाई काव्यिक रूपमा उनेका छन् । यस सङ्ग्रहमा ६० ओटा नेपाली समाज र राजनीतिक विषयका कविता रहेका छन् । २०४० को दशकबाट नै साहित्यलेखन र सांस्कृतिक आन्दोलन हुँदै राजनीति क्षेत्रमा होमिएका उनले गीत र कविता क्षेत्रमा विशेष योगदान दिएका छन् । एउटा व्यक्ति जसलाई सर्जकका हिसाबले मात्र पनि हेर्न सकिने र अर्को हिसाबमा राजनीतिक व्यक्तित्वका हिसाबले मात्र पनि परिचित व्यक्तित्व तिमल्सिना मूलतः समसामयिक विषय–सन्दर्भलाई विचारको शृङ्खलामा उनेर प्रस्तुत गर्न सक्ने कविका रूपमा परिचित छन् । कवि समाजमा धेरै विषय देख्छन्, त्यही विषयवस्तु, आममानिसको समस्या वा दैनिकीमा अल्झेको हुन्छ । आफ्नो विद्यार्थी जीवनदेखि नै साहित्यमा रमाउने उनले रचना प्रस्तुतिमा अलि फरक शैली अपनाएका छन् । आफ्ना अघिल्ला कृतिमा प्रस्तुत क्रान्तिकारी आवेग यस कविता सङ्ग्रहमा कलात्मक र अझ ध्वनात्मक हिसाबले प्रस्तुत भएको छ । ‘तानाशाहलाई प्रश्न’ (२०५३) र ‘युद्धभूमिका गीतहरू’ (२०६३) पछि तेस्रो कविताकृति ‘मामुली मान्छे’ (२०७९) ले मामुली मान्छेहरूको आवाजलाई प्रतिध्वनित गरेको देखिन्छ ।

नेपाली समाजलाई पुँजीवादले पुरै ध्वस्त पारिदिएको छ । पुँजीवादी अर्थतन्त्रको पूर्ण विकास हुँदा त वर्गीय पक्षधरताको शृङ्खला अगाडि बढ्दथ्यो यहाँ त दलाल पुँजीवादले बहुरूप मात्र देखाएको छैन यसबाट सिर्जना गरिएका हजारौँ समस्याले राष्ट्रिय जीवनका अनेकौँ नकारात्मक सूचकहरू प्रस्तुत गरेको छ । आफ्नो मौलिक संस्कृतिभित्रको विकारलाई परास्त गर्न मौलिक संस्कृतिभित्रको गुण–दोष केलाउँदै परिष्कृत गर्नु पर्नेमा विदेशीको ठाडो हस्तक्षेप र अन्धानुकरणका कारण अनेक रोगहरू व्यहोर्न हामी बाध्य छौँ । यो अवस्था आउनुमा विदेशी दोषी नभई नेपालका तथाकथित शासकहरू नै जिम्मेवार छन् । शासकहरू निर्वाचनका नाममा चुनिएका विदेशी गुलामहरू मात्र रहेको तथ्य कविता क्रममा नै कवि प्रस्तुत गर्न पुग्दछन् । आफ्नो जीवन यात्रालाई क्रान्तिमा होमेर पनि क्रान्ति पूर्णरूपमा सफल नबन्दा अप्राप्तिको शिकार बनेका नेपाली जनताको अन्तरकथा उनका कवितामा भेटिन्छ । कवि लाखौँ नेपालीलाई सपना देख्ने अधिकारसमेत नभएको प्रति आक्रोश व्यक्त गर्दछन् । पहिले देखिएका सपना सहिद भइसकेको र अर्को सपना देख्ने अझै परिवेश नबनिरहेको परिप्रेक्ष्यमा कवि आफ्ना भावलाई कवितामार्फत् पोखेर भए पनि अलिकति सन्तुष्ट देखिन्छन् ।

नेपालमा सञ्चालित केही आन्दोलनले नेपाली जनतालाई स्वतन्त्रता, समानता दिनु त कता हो कता विदेशीको निर्देशनमा देशलाई नै सङ्कटतर्फ धकेल्न पुगेको निष्कर्ष कविको रहेको छ । देशमा तथाकथित धर्मका नाममा भएका खुल्ला व्यापार होस् वा सत्ताका नाममा भएको लेनदेनजस्ता विषयले जनतालाई बाँच्न नदिने सङ्केत कवितामा भएको छ । कवि क्रान्तिका नाममा ब्याज खानेहरूले नै यी सबै बर्बादीको जिम्मा लिनुपर्ने भावसमेत प्रकट गर्दछन् । कविले राजनीतिले निम्त्याएका अनेकौँ सङ्कटलाई सामाजिक, आर्थिकजस्ता विषयले थेग्न नसक्नेतर्फ सङ्केत गर्दछन् । कवि देश आइएनजिओ र एनजिओको चङ्गुलमा फसेको छ, त्यसबाट मुक्त हुन देशले ठोस् आर्थिक योजना बनाउन आवश्यक छ भन्छन् । कर्मचारीतन्त्र एवं नेतृत्ववर्गका विचारले देशलाई प्रगतितर्फ होइन अधोगतितर्फ लगिरहेको छ ।

देशमा रहेका पठित र बुद्धिजीवी भनाउँदाहरूको काम केवल दलालीदेखि दलालीसम्म मात्र रहेको ठोकुवा उनी गर्दछन् । कतै निश्चित व्यक्तिको नाम नै किटेर वा कतै प्रवृत्तिलाई गोल बोलीमा कविले सपाट पस्केका छन् । कविता पढ्दै जाँदा हाम्रो स्वार्थ पूरा गर्ने चाहना र प्रयत्नमा चस्को पस्छ । आफूसँग पनि व्यक्तिवाद चरम रूपमा रहेको बोध गराउँदै कविताले मानिसलाई बर्बादीको बाटोमा लैजाने मूल तत्व नै व्यक्तिवादी मनोवृत्ति हो भन्ने उदाहरण कवि पस्कन्छन् ।

पर्दाभित्रको अर्को लबीमा

तपाईले देख्नु हुनेछ

यो देशका नामुद हत्याराहरू

ठगहरू, तस्करहरू

प्रहरीले खोजी गरिरहेको भनिनेहरू

कसैको कानमा केही भनिरहेका हुनेछन् । (पर्दाभित्रको बधशाला, पृ. १७७)

आखिरमा यो सबै कसरी र किन भइरहेको छ त ? प्रश्न उठाउँदै उनले थुप्रै उदाहरणसमेत पेश गरेका छन् । नेपाली समाजमा व्यक्त अन्धविश्वासले सामान्य मान्छेलाई मात्र होइन विज्ञान पढेका व्यक्तिहरूलाई नै धेरै प्रभावित पारेकोतर्फ कवि चिन्तनशील रहेका छन्;

विज्ञान पढाएर

डाक्टर बनाएकी छोरीले

विरामीको अप्रेसन गर्नुअघि

जब हात छातीमा राखिन्

र भनिन् सुस्तरी

प्रभु मलाई सफल बनाइदेऊ । (विज्ञान पढ्ने छोराछोरी, पृ. ११३)

यी र यस्ता विषयवस्तु धेरै छन् । आफूलाई माक्र्सवादका धुरन्धर भन्नेहरूले कालो बोको काटेर साइत गर्ने, नेपाली जनतालाई झुक्याएर अनेक सन्धि–सम्झौता गर्ने र देशमा युवाशक्तिको पलायनको पीडाले देशभित्रको विचार, सिद्धान्त, व्यवहार र कार्यदिशा समाप्त भएको स्थिति देखिन्छ । कविताभित्र मान्छे तथ्य एउटा बोकेर व्याख्या अर्कै थोक गरिरहेछ । मान्छेले गरेको विकासले मान्छेलाई सुखी र खुशी तुल्याउन नसकेकोप्रति कवि चिन्तितमात्र छैनन् आक्रोशित पनि छन् । आखिर मान्छेको दिमाग नै महत्त्वपूर्ण पक्ष हो त्यो मस्तिष्क नै प्रदुषित भएपछि कसरी राम्रो होला र !

उनी अठोट गर्दछन्;

जतिसुकै उन्नत रोबोट पनि

त्योभन्दा चलाख मानव दिमागको उपज हो

हजारौँ वर्षको हन्डरको

हजारौँ वर्षको अनुसन्धान र अनुभवको

हजारौँ वर्षको परीक्षणको

मानव निर्मित वस्तु हो

र निर्मित वस्तु

कहिल्यै निर्माताभन्दा माथि हुन सक्दैन । (मान्छेको प्रश्न, पृ. १९३)

कवि स्वयम्मा मामुली मान्छे हो । ऊ जीवन र जगत्को विषयमा सूक्ष्म दृष्टिकोण राख्दछ । उसको विचारलाई पछ्याएर नै मान्छे समाजलाई सम्पन्न बनाउन अगाडि बढ्दछ । लाखौँ दिमागको उन्नत प्रस्तुति नै समाजवादतर्फको यात्रा हो । आशालाई नमारी निरन्तर क्रान्तिमा लाग्नुको विकल्प छैन । कवि खराबपात्रतर्फ कटाक्ष गर्दै प्रश्न गर्न र प्रश्नसँग नडराउन आम पाठकमा आह्वान गर्दछन् ।

प्रतिक्रिया