‘ई’ सँग वार्ता गर्न काठमाडाैं महानगरले बनायो वार्ता टोली

काठमाडाैं । राष्ट्रिय सभागृहको ढोकामा उभिएर आन्दोलन गरिरहेका ‘ई’ सँग वार्ता गर्न काठमाण्डौ महानगरपालिकाले टोली गठन गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली गठन भएको हो । वार्ताको तयारीबारे छलफल गर्न अहिले महानगरमा बैठक बस्दैछ । बैठक पछि मात्रै वार्ता कसरी गर्ने भन्नेबारे निर्णय हुने मानन्धरले बताए ।

चुनावको समयमा सडक व्यापार व्यवस्थित बनाउने बताएका मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोलले चुनावपछि भने आफ्नो प्रतिबद्धता बिर्सिएकाले त्यो कुरा सम्झाउन भन्दै अभियन्ता ‘ई’ ले गएको हप्तादेखि उभिएर आन्दोलन गरिरहेका छन् ।

हिजो ‘ई’ ले महानगरका मेयर शाहले श्री छ को शैलीमा वार्ताको प्रस्ताव आएको र तयारीका लागि ३० मिनेट माग्दा समय नदिएकाले वार्ता हुन नसकेको बताएका थिए । आज बिहान उपमेयर सुनिता डङ्गोलले आन्दोलनरत ‘ई’ लाई भेटेकी छन् । भेटमा उनले फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहने बताएकी थिइन् ।

प्रतिक्रिया