काठमाडौं । अग्रज समालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई ‘माधव घिमिरे पुरस्कार’ प्रदान गरिने भएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित उक्त पुरस्कारको राशि रु एक लाख रहेको छ । नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनका लागि विसं २०५३ सालमा स्थापना भएको मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले पहिलो पटक उक्त पुरस्कार समालोचक प्रा.डा. त्रिपाठीलाई प्रदान गर्न लागेको हो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजिव घिमिरेद्वारा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी रु १६ लाखको अक्षयकोष स्थापना गरिएको छ । उक्त अक्षयकोषबाट आउने ब्याजमार्फत हरेक वर्ष पुरस्कार प्रदान गरिने निर्णयअनुसार पहिलो पटक प्रा.डा. त्रिपाठीलाई पुरस्कार प्रदान गर्न लागिएको हो । तनहुँको भानु नगरपालिका निवासी त्रिपाठीले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा पहिलो पटक विद्यावारिधि उपाधि प्राप्त गरेका हुन् । विसं २०३४ सालमा मदन पुरस्कार प्राप्त गरेका उनले लेखनाथ पुरस्कारसमेत पाइसकेका छन् । त्रिपाठीले निम्नमाध्यामिक नेपाली व्याकरण र रचनासमेत लेखेका छन् । उक्त पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर यही असोज ७ गते प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
अक्षयकोष स्थापना गरेसँगै पुरस्कार छनोटका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति बनाएको थियो । प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार विजयराज न्यौपानेको संयोजकत्वमा गठित समितिको सदस्यमा विज्ञका तर्फबाट प्रा.डा. जयराज आचार्य र दाताका तर्फबाट डा हेमाङ्गराज अधिकारी सदस्य छन् । उक्त समितिको सिफारिसमा प्रदान गर्न लागिएको उक्त पुरस्कार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्ने प्रतिष्ठानका सदस्य लक्ष्मण थापाले जानकारी दिए ।
प्रतिक्रिया