उमेशका कलामा नेपाली सौन्दर्य

काठमाडौं ।

म पनि उही एक नेपाली

हुँ बौद्ध–मार्गी चिन्दिनँ बुद्ध ।

म हेर्छु हिमाल बुझ्दिनँ हिउँ

हेर्छु सुन्दर दृश्य छैन सौन्दर्य ।

छ मठ–मन्दिर छैन झक्तजन

छ भण्टी वरिपरी छैन शान्ति नाद ।।

राष्ट्रिय झण्डाको पृष्ठभाग अघि चोलीभित्र घण्टी, सांस्कृतिक बिम्बलाई चिनाइरहेको परिदृश्यभित्र सिंगो नेपाल झल्किने दृश्य । माथि कोरिएको कलाकार उमेश श्रेष्ठको चित्रमाथिको कविता हो । यसमा कलाकार श्रेष्ठ कवितामार्फत आफूलाई शब्द रङमार्फत चिनाउन खोजेका छन् । मौलिकता राष्ट्रवादको नाममा लिलाम भइरहेको अवस्थामा रङ र कुचीमार्फत मौलिकताको उत्खनन गर्ने कोसिसमा कलाकार श्रेष्ठले आफ्ना कलाकृति प्रदर्शनीमा ल्याएका छन् । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको प्रदर्शनीमा श्रेष्ठले नेपालीपन झल्किने कलाकृति राखेका छन् । जुन आमकला पारखीका लागि निकै आकर्षणको केन्द्र बन्न सक्छन् ।

‘संसारिक घर्षणदेखि आत्मप्रवाह’ शीर्षकमा गरिएको प्रदर्शनीमा कलाकार श्रेष्ठले नेपालको प्रकृति, संस्कृति, जनजीवन, राजनीतिक आन्दोलन र परिवर्तनका स्वरमा कलाशिल्प जोडेका कलाकृति राखेका छन् । प्रदर्शनीमा राखिएका कलाकृतिले देशको सांस्कृतिक, सामाजिक, प्राकृतिक, राजनीतिक, आर्थिक तथा मानवीय मूल्यबोधलाई उद्घाटन गरेको पाइन्छ ।
कलाकार उमेश श्रेष्ठले आफ्नो बाल्यस्मृति र जीवनका भोगाईका विविध आयामलाई कलामा उतारेको बताए । उनले भने, ‘मेरोे नितान्त व्यक्तिगत कला यात्राको भिजुअल डायरी (दृश्यात्मक डायरी) हो । ‘संसारिक घर्षणदेखि आत्मप्रवाह’ मा मेरो तीन दशकको कलायात्राको अनुभवलाई उधिन्ने काम गरेको छु ।’

उनले स्मृतिको पाना खोल्दै आफ्नो कलायात्राको सुरूवात राजधानीभन्दा पर एउटा दुर्गम गाउँमा भएको सुनाए । उनले भने, ‘अन्तर्मुखी स्वभावको बाल्यावस्था दौँतरीहरूसँग भन्दा हजुरबुबासँगको सङ्गतमा बित्यो । सदाझैँ त्यो दिन पनि हजुरबुबाको छेउमा बसेर उहाँले गर्ने दैनिक कार्यमध्ये चिना बनाएर एक प्रकारको मोहनी भाकामा रामायणको श्लोक वाचन गर्दैगर्दा त्यसको बिच भागमा छापिएको चित्रमा मेरो आँखा प¥यो । त्यसपछि मेरो ध्यान चित्रप्रति बढ्दै गयो ।’

उनले औपचारिक रूपमा कलाकार हुनेमा दृढइच्छा भएपछि सन् १९९१ राजधानी आएको सुनाए । उनले भोटाहिटीस्थित ललितकला क्याम्पसमा भर्ना भइ पढाई सुरू गरे । उनले ललितकलाबाट चित्रकला स्नातकोत्तर उतीर्ण गरेका छन् । यसबीचमा कलारचना, प्रदर्शनीसँगै कलायात्रीका रुपमा यायावर जीवन रङ र रेखासँग घोल्दै बिताए । संघर्षका अनेकन जंघार पार गर्दै सफल कलायात्रीका रुपमा आफूलाई नेपाली कलाजगतमा स्थापित गरे । उनले कलामा जीवन र यथार्थका अनेकन यायावरी पाटालाई उधिनेका छन् भने सीमान्त पारिएका समुदायका यथार्थलाई समेत क्यानभासमा रङ र रेखाका माध्यमबाट उनेका छन् ।

कलाकार श्रेष्ठ भन्छन्, ‘रङ र रेखाको सम्मोहनले जीवनका विविध घुम्ती र कुइँनेटा पार गरेको चालै पाइएन । कला साधना र कलामा सत्यताको खोजी नै जीवनको अविरल अभियान बन्यो । त्यसैको प्रतिफल स्वरुप कला प्रदर्शनी सम्भव भएको हो ।’ उनले ‘संसारिक घर्षणदेखि आत्मप्रवाह’ मा आफ्नो कलायात्राको लगभग सुरूवातदेखि पछिल्लो समयसम्मका कलाकृतिहरू राखिएको सुनाए । उनले प्रदर्शनीलाई आफ्नो कलायात्रामा सँङ्गालिएका पोकाको अनावरण गर्दै मनाउने कला उत्सवको रुपमा लिएको बताए । उनले भने, ‘यो उत्सवमय कला प्रदर्शनीभित्र मैले इमान्दारिताका साथ उजागर गरेको यात्रा, अनुभूति, दृष्टि, दर्शन र विश्वासलाई सत्यनिष्ठ यथार्थपरक ढङ्गले अनावरण गराउने चेष्टा गरेको छु । जहाँ रेखा चित्रको स्वरूपलाई देख्दा आहा ! भन्दै सुरू भएको चेतनालाई हुर्काउँदै आम भिडको साझा दृष्टि र चैतन्यभन्दा परको आयामले मेरो कला अनुरागसँग हृदयभित्र कुँदिएको कलाकार बन्ने सपनालाई साकार पार्न मभित्रको ‘स्व’ लाई साधनामार्फत उत्खनन् गरी देखिनेबाट ‘स्वयम्’ हुने चेतनाको आभामा मेरो कृति रचना गर्ने आफ्नै डबलीमा उभिएको छु ।’

उनले आफूले प्रकृति, संस्कृति, दैनिक भोगाई, निजी भोगाई, मानवीय दैनिक भोगाई, भावना र संवेग, अध्यात्म, दर्शन आदिलाई मेरो क्यानभासमा वस्तुगत सूक्ष्म चित्रण गरेको सुनाउँदै विषयगत (थिम्याटिक) बनाएर कलाकृतिलाई जीवन्त बनाउने यत्न गरेको जिकिर गरे । उनले थपे, ‘चित्रमा मेरो विश्वास, सपना, सङ्घर्ष, प्रकृति, सम्पदा, संस्कृति र तिनको अभ्यासद्वारा खडा गरिएका साझा बिम्ब प्रतीक, चिन्हलाई यथार्थवादी, अमूर्त, प्रतीकात्मक शैलीलाई अङ्गीकार गर्दै इतिहास, राजनीति, दैनिक भोगाई एवं मेरो व्यक्तिगत भोगाईबाट जन्मिएको विचारलाई सूक्ष्म चित्रण गरेको छु ।’

कलाकार लेखक डा. याम शर्माले कलात्मक सुन्दरता र दृश्यबोधक कलाकृतिमार्फत कलाकार उमेशलाई नेपाली कलाक्षेत्रमा सशक्त रुपमा उभ्याउन सफल भएको बताए । उनले कलामा रङ, भाव र सुन्दरतालाई आकर्षक रुपमा आफूलाई प्रस्तुत गर्न कलाकार श्रेष्ठ सफल देखिएको जिकिर गरे । सिद्धार्थ आर्ट ग्यालरीका संसथापक संगीता थापाले कलाकार श्रेष्ठले नेपालका सांस्कृतिक सम्पदा, प्राकृतिक सम्पदा, सामाजिक जनजीवन र यथार्थ परिवेशलाई कलामा उतारेको बताइन् ।

प्रतिक्रिया