रुकुम पश्चिम । जिल्लामा पुर्वाधार तर्फ बिभिन्न स्थानमा निर्माणानिधन अवस्थामा रहेका सडक तथा पुल लामो समयसम्म नबन्दा स्थानीय मर्कामा परेका छन् । ठेकेदार तथा निर्माण कम्पनीको ढिलासुस्तीका कारण मुख्य योजनाहरू नै अलपत्र अवस्थामा छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल ७ वर्षदेखि अलपत्र परेको छ । वषौँदेखि स्थानीयको पक्की पुलबाट गाडी गुडाउने सपना अधुरै छ ।
वाँफिकोट गाउँपालिका–१० लाई जोड्ने गाराघाट स्थित सानीभेरी नदीमा निर्माणाधिन पक्की पुल सडक डिभिजन कार्यालय चौरजहारी रुकुम पश्चिमले ठेक्का खोलेको उक्त पुल तीन वर्ष भित्रमा निर्माण कार्य सक्नुपर्ने गरी सम्झौता भएको थियो । तर, निर्माण थालनी गरेको पक्की पुल सात वर्ष पुग्दा समेत ५० प्रतिशत भन्दा बढी काम भएको छैन । पुल निर्माणको काममा ढिलाइ भएका कारण पालिकाका विकास निर्माण कार्यसमेत प्रभावित बनेको वाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाठाले बताए । उनले भने, ‘पुलको काम हुँदै छ भनेर स्थानीय ढुक्क थिए । तर, निर्माण कम्पनीले सात वर्षसम्म पुल निर्माण नगर्दा निराशा छाएको छ । पालिकाले निर्माण कम्पनीलाई ताकेता गरेपनी अटेरी गर्दै आएको छ ।’
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गत सडक डिभिजन कार्यालय चौरजहारीमार्फत आर्थिक वर्ष २०७२÷७३ मा गाराघाट पुल निर्माणको टेन्डर खोल्दा नागार्जुन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले २०७३ मा पुलको ठेक्का लिएको थियो । उक्त पुल निर्माणका लागि ९ करोड ६१ लाख रुपैयाँमा पुल निर्माण गर्ने सम्झौता गरिएको थियो । ७ वर्ष वितिसक्दा पनि पुल निर्माण नहुँदा यातायात सञ्चालन र स्थानीय बासिन्दालाई आउजाउमा कठिनाई हुँदै आएको छ । गाराघाटमा एउटा मात्रै झोलुंगे पुल हुँदा यहाँका बासिन्दालाई दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत समस्या हुँदै आएको छ ।
त्यस्तै मध्यपहाडी पुष्पलाल राजमार्गको रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी पुल १० वर्षदेखि अलपत्र परेको छ । निर्माण थालिएको १० वर्ष वितिसक्दा पनि पुल अलपत्र अवस्थामा छ । वाईपी कन्स्ट्रक्सन काठमाडौंले ठेक्का लिएको उक्त पुल निर्माण लापरवाहीका कारण अलपत्र परेको स्थानीयको गुनासो छ । सो पुल निर्माण गर्न १५ करोड रुपैयाँमा सम्झौता भएको थियो ।
पटक पटक म्याद थपिने तर निर्माण कहिल्यै नहुँदा यातायात सञ्चालन र आउजाउमा समस्या हुँदै गएको छ । चौरजहारी बासीहरू पुल नहुँदा सुर्खेत, नेपालगन्ज जाँदा सिम्ली पुगेर जान बाध्य छन् । सडक डिभिजन कार्यालय नजिकै रहेको निर्माणाधिन पुल १० वर्षमा पनि नबन्दा दुबै जिल्लाका स्थानिय सडक सञ्जालमा जोडिनबाट बञ्चित छन् । डिभिजन कार्यालयले पटकपटक म्याद थप्ने तर कारबाही नगर्दा निर्माण कम्पनीहरूले लापरवाही गर्दै आएका छन् ।
राप्ती लोकमार्ग अन्तर्गत पर्ने रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ जोड्ने पितिवाङ खोला पुलको हालत पनि उस्तै छ । २०७४ असारमा सम्झौता भएको यो पुल ७ वर्षदेखि अलपत्र परेको छ । संरक्षण निर्माण सेवाले ठेक्का लिएको उक्त पुल २०७८ बैशाख महिनाभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, एक दशक पुग्नै आग्दा पनि पुलको पिल्दरसम्म ठडिएको छैन् । ठाडो खोलामा वर्षा याममा पानी परेको बेला गाडी तर्न नसकेर यात्रु अलपत्र पर्ने गरेका छन् । धेरै वर्षदेखि पुल नहुँदा विषेश गरी बर्खायाममा समस्या बढ्दै गएको छ । खोलामा पुल नहुँदा बिरामीलाई अस्पताल लैजानसमेत समस्या हुँदै आएको स्थानीयको गुनासो छ ।
खोलामा वर्षातको समयमा पानीको वहाव बढ्ने र खोलामा लगाइएको होमपाइप समेत खोलाले बगाउँदा बर्सेनी समस्या झेल्नु परेको यातायात व्यवसायीहरू बताउँछन । ५ करोड २८ लाखमा ठेक्का लिएको संरक्षण निर्माण कम्पनीले समयमै काम नगर्दा राप्ती राजमार्ग हुँदै दाङ काठमाडौँ, नेपालगन्ज लगायत देशका विभिन्न ठाउँमा चल्ने यातायातका साधन सञ्चालनमा कठिनाई हुँदै आएको स्थानीय बासीको गुनासो छ ।
प्रतिक्रिया