नेपाली बजार प्रभावित हुने चिन्ता, बढ्न सक्छ महँगी

चाडपर्व नजिकिँदै गर्दा चीनसँगको सबैभन्दा ठुलो नाका ठप्प

काठमाडौँ । नेपाल–चीनबीचको कुल व्यापारको ६० प्रतिशत व्यापारिक गतिविधि हुने रसुवागढी नाका बाढीका कारण ठप्प भएको छ । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी खोलाको पुल र नेपालपट्टीको सडक बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको हो ।


बाढीका कारण सयौँ गाडी तथा कन्टेनर र लोड गरिएको सामानसमेत डुबेको र बगेको व्यवसायीहरूले बताएका छन् । बाढीपहिरोका कारण हाल गोसाइँकुण्ड गाउँपालिका–२ मा पर्ने रसुवागढी, टिमुरे, घट्टेखोला क्षेत्रमा विद्युत् अवरुद्ध हुनुका साथै टेलिफोन सेवाले समेत काम नगरेको रसुवाका सांसद मोहन आचार्यले बताए । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार बाढीले ८० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

बाढीले चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधन (इभी), स्याउ, गार्मेन्टका सामान (लुगा, कपडा, जुत्ता) र इलेक्ट्रिक तथा अन्य सामान बगेको र पुरिएको कार्कीले बताए । पर्यटकीय तथा व्यापारिक हिसाबले महत्वपूर्ण मानिएको नाका ठप्प हुँदा नेपाली बजारमा ठुलो प्रभाव पर्ने भन्दै कार्कीले चिन्ता व्यक्त गरे । उनले भने, ‘सरकारले चीन सरकारसँग वार्ता गरेर सम्भव भएसम्म बेलिब्रिज राखेर नेपालतर्फको बाटो फटाफट बनाएमात्र नाका चाँडो खुल्ने अवस्था छ । होइन भने वर्षौँ लाग्न सक्छ ।’ बेलिब्रिजका लागि चीन सरकार सहयोग गर्न तयार रहेको केही जानकारी पाएको भन्दै कार्कीले नेपाल सरकारले तत्काल कूटनीतिक पहल थाल्नुपर्ने बताए ।

रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्रप्रसाद प्याकुरेलका अनुसार यो नाकाबाट आयात र राजस्व संकलन तीव्र गतिमा बढिरहेको थियो । गत वर्ष २० अर्ब रुपैयाँ राजस्व संकलन भएकामा यस वर्ष ३० अर्ब १५ करोड राजस्व संकलन भइसकेको थियो ।

रसुवागढी नाका ठप्प हुँदा तातोपानी नाका निर्बाध सञ्चालन हुने वातावरण बनाइएन भने कोलकाता भएर सामान ल्याउनुपर्ने हुन्छ । जसका कारण नेपाली बजारमा विभिन्न वस्तुको भाउ बढ्न सक्छ । सामान आउन ढिलाइ हुँदा बजारमा अभावसमेत देखिन सक्छ । त्यस्तै, कैलाश मानसरोवर जाने नेपाली तथा भारतीय तीर्थयात्रीमध्ये धेरैले प्रयोग गर्दै आएको नाका मुख्य सिजनमै बन्द हुँदा पर्यटनमा समेत असर पर्ने बताइएको छ ।

चाडबाड नजिकिँदै गर्दा प्रमुख व्यापारिक नाकामा भएको क्षतिले ठुलो असर गर्ने देखिएको र वैकल्पिक हिसाबले सिन्धुपाल्चोकको तातोपानी नाकालाई थप सक्रिय बनाउनेतर्फ छलफल सुरु भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । तातोपानी नाका पनि गत वर्षको बाढीले क्षति पुर्याएको तथा राम्रोसँग पुननिर्माण हुन नसकेको अवस्थामा फेरि प्रभावित हुन सक्ने भन्दै व्यवसायीहरू ढुक्क हुन सकेका छैनन् ।

विगतमा तातोपानी नाका जोड्ने बाटो तथा बेलिब्रिज बगाउँदा व्यवसायीहरूले आफू–आफू मिलेर सञ्चालन गरेका थिए । अब आयात–निर्यात तथा पर्यटनको सबै रुट तातोपानीतर्फ मोडिए चाप बढ्ने भएकाले सरकारले समयमै ध्यान दिनुपर्नेमा व्यवासयीहरूले जोड दिएका छन् ।

नेपाल र चीनले सन् २०१७ मा रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेका थिए । त्यसयता दुवै देशले तातोपानीको तुलनामा रसुवागढी भएर आफ्ना व्यापारिक गतिविधि केन्द्रित गर्दै आएका थिए । चीन सरकारकै डिजाइन तथा अनुदानमा भन्सार यार्ड पनि बनाइएको थियो । जसको ८० प्रतिशत काम सम्पन्न भइसकेको थियो ।

मितेरी पुल पुनः बनाउन चीनसँग आग्रह गर्ने निर्णय

विपद् कार्यकारी परिषद्ले रसुवाको मितेरी पुल पुनः सञ्चालनमा ल्याउन चीनसँग आग्रह गर्ने निर्णय गरेको विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले जानकारी दिए । उनले भने, ‘मंगलबार साँझ बसेको परिषद्को बैठकले मितेरी पुल पहिलादेखि नै चीनकै मद्दतबाट बनेकाले फेरि सहयोगका लागि चीनसँग अनुरोध गर्ने निर्णय भएको छ ।’

जलविद्युत् आयोजनामा अर्बौंको क्षति

रसुवाको बाढीले जलविद्युत् आयोजनामा अर्बौंको क्षति गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीपछि २३५ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । केही स्थानमा प्रसारण लाइन पनि बाढीले बगाएको छ । सबैभन्दा धेरै १११ मेगावाट क्षमताको रसुवागढी आयोजनामा क्षति पुगेको छ । यो आयोजनाको हेडवक्र्स क्षतिग्रस्त छ । ६० मेगावाटको त्रिशूली ३ए र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । २१ मेगावाटको तल्लो त्रिशूली, १४ मेगावाटको देवीघाट जलविद्युत्मा पनि क्षति पुगेको छ ।

त्यस्तै, निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली र १०० मेगावाटको सुपर त्रिशूली आयोजनामा पनि क्षति पुगेको छ भने त्रिशूली नदी करिडोरको विद्युत् प्रसारण गर्ने त्रिशूली ३बी हब सबस्टेसन र प्रसारण लाइनमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया