काठमाडौं । भकुन्डे सामुदायिक क्लव बेनी नगरपालिका– २ ज्यामरुककोट म्याग्दीले आयोजना गरेको ‘हरितालिका तीज मेला २०८०’ सम्पन्न भएको छ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा बेनी नगरपालिका– २ ज्यामरुककोट भकुन्डे सामुदायिक क्लवको आयोजनामा भएको कार्यक्रम सोही क्लवका अध्यक्ष ईन्द्रबहादुर घिमिरे (ईश्वर) को सभापतित्वमा सम्पन्न भएको हो ।
सो कार्यक्रममा बेनी नगरपालिका– २, ज्यामरुककोटका अध्यक्ष यमबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । साथै श्री अर्जुन उच्च मावी भकुन्डेचौरका पूर्वप्रधानाध्यापक टिकाबहादुर कार्की, लायन्स क्लव अफ बेनी म्याग्दीका अध्यक्ष रामजी विश्वकर्मा, समाजसेवी जितबहादुर थापा लगायत थुप्रै व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा साविक ज्यामरुककोट वडास्तरीय भलिबल प्रतियोगिता, पुरुष छेलो प्रतियोगिता, खुल्ला तिज गीत नृत्य प्रतियोगिता र राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुती पनि रहेको क्लवका अध्यक्ष घिमिरेले जानकारी दिए । सो अवसरमा चर्चित लोकदोहोरी गायिका जमुना रानामगर, गायक एवं सर्जक रमेशबिक्रम रत्न, सञ्चारकर्मी तथा गायक राजकुमार रायमाझी, गायिका सुमित्रा कोईराला लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको अध्यक्ष घिमिरेले बताए ।
साविक ज्यामरुककोट वडास्तरीय भलिबल प्रतियोगितामा लेकसाईड युवा क्लब वडा नम्बर ४ सानालेख प्रथम, भकुन्डे सामुदायिक क्लव वडा नम्बर ६ भकुन्डे द्वितिय भएका थिए । भलिबल प्रतियोगितामा प्रथम पुरस्कार २० हजार रुपैयाँ र द्वितिय पुरस्कार १० हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै पुरुष छेलो प्रतियोगितामा जित शन्यासी बिजयी भएका थिए भने खुल्ला तिज गीत नृत्य प्रतियोगितामा शब्बु परियार प्रथम र पूजा बोहरा द्वितिय भएका थिए । पुरुष छेलो प्रतियोगितामा ५ हजार पुरस्कार रहेको थियो भने खुल्ला तिज गीत नृत्य प्रतियोगिताको प्रथम पुरस्कार ४ हजार रुपैयाँ र द्वितिय पुरस्कार २ हजार रहेको थियो ।
प्रतिक्रिया