भण्डारी र आङथुपो पुरस्कृत

इलाम । जनयुद्धकी सहिद शशिकला शर्माको स्मृतिमा स्थापना गरिएको ‘शशिकला स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका दुई पत्रकार पुरस्कृत भएका छन् । सहिद स्मृति प्रतिष्ठान इलामले स्थापना गरेको पुरस्कारबाट यसवर्ष पत्रकार भगिरथ भण्डारी र लेखक तथा पत्रकार चेतन आङथुपो पुरस्कृत भएका हुन् । संविधान दिवसको अवसरमा बुधबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा भण्डारी र आङथुपोले सात÷सात हजार राशीसहित सम्मानपत्र प्राप्त गरे । प्रतिनिधिसभा सदस्य महेश बस्नेत, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साँवा कुशल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल लगायतले उनीहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गरे ।

एक दशकदेखि पत्रकारितामा क्रियाशील भण्डारी स्थानीय सन्दकपुर अनलाइनका सम्पादक र राजधानी दैनिकका इलाम संवाददाता हुन् । लेखक तथा पत्रकार आङ्थुपो स्थानीय चुलाचुली मिडिया अनलाइनका सम्पादक हुन् । यसअघि सो पुरस्कारबाट मातृभाषी पत्रकार रीता राराहाङ पुरस्कृत भएकी थिइन् । सहिद स्मृति प्रतिष्ठान इलामले जनयुद्धकी सहिद शशिकला शर्माको स्मृतिमा पुरस्कार स्थापना गरेको हो । संविधान दिवसको अवसरमा बर्सेनि एकजना लेखक तथा पत्रकारलाई पुरस्कृत गरिने प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले जानकारी दिइन् ।

२०३० सालमा बर्दियामा जन्मिएकी शशिकलाको जनयुद्धका क्रममा २६ असोज २०६० मा इलामको पुवामझुवामा तत्कालीन शाही सेनाले हत्या गरेको थियो । उनी २०५७ सालमा पार्टी संगठन निर्माणको क्रममा पूर्व आएकी थिइन् । तत्कालीन सरकारबाट प्रतिबन्धित जनादेश र जनविद्रोह पत्रिकाकी युद्ध संवाददता शशिकला इलामबाट प्रकाशित देउमाई गर्जन पत्रिकाका प्रधान सम्पादक थिइन् । उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्यसमेत थिइन् । १० वर्षे जनयुद्धका क्रममा राज्य र विद्रोही पक्षबाट गरी इलामका ८४ जनाले ज्यान गुमाउनु परेको थियो ।

प्रतिक्रिया