संविधान दिवसमा पोस्टर प्रतियोगिता

काठमाडौं । ‘संविधान दिवस २०८०’ को उपलक्ष्यमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘लोकतन्त्र र संविधान विषयक’ अन्तरकलेज पोस्टर कला प्रतियोगिता तथा प्रदर्शनी गरेको छ । बुधबार प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गर्दै संविधान र लोकतन्त्रका पक्षमा नयाँ पुस्तालाई जोड्न प्रतियोगितात्मक प्रदर्शनी गरिएको बताए । उनले भने, ‘राष्ट्रिय महत्वको पर्वको रुपमा भएको कार्यक्रमले उर्वर प्रतिभालाई अगाडि सार्ने प्रयत्न गरेको छ ।’ कुलपति हार्तम्छालीले प्राप्त अधिकार २०७२ सालमा जारी भएको संविधानले प्रत्याभूत गरेको र यसलाई जनस्तरमा पु¥याउने क्रममा लोकतन्त्रलाई आत्मसात गरिएको जिकिर गरे । उनले भने, ‘संविधानले समाज र कलाकारका हक अधिकारलाई सुनिश्चित गरेको छ । यसैले हामी तपाईहरुसँग जोडिएका हौ । किनकी तपाईहरु भनेको भोलिको नेतृत्व हो । हामीले सिर्जना गरेको कला, नाम, दाम सबै हो । तपाईहरुले निकै जटिल विषयवस्तुलाई पनि छोटो समयमा कला सिर्जना गर्नुभएको छ ।’

उपकुलपति लालकाजी लामाले संविधान दिवसलाई विविधतासहित उल्लासमय बनाउने सन्दर्भमा कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने, ‘संविधानको बारेमा नयाँ ढंगले सोच्ने र हक, अधिकार स्थापित गर्ने कुरामा कला र कलाकार सचेत भएका छन् । यसैका आधार बनाएर गरिएको यस कार्यक्रम प्रभावकारी भएको मलाई लागेको छ ।’

यसैगरी प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र ‘थुम्केली’ ले १९९७ सालमा चन्द्रमान सिंह मास्केलाई सर्वस्वसहित जेल हालेको प्रसंग उल्लेख गर्दै देशको परिवर्तनकारी आन्दोलनमा कलाकारको भूमिका महत्वपूर्ण रहेको बताए । उनले विभिन्न समयमा भएका संघर्षले मौलिक अधिकारको प्रत्याभूत गरेको धारणा व्यक्त गरे । निर्णायकको तर्फबाट बोल्दै प्राज्ञ सञ्जय राई वान्तवाले लोकतन्त्र र संविधानको विषयमा भएको प्रतियोगिताले नयाँ पुस्तालाई परिवर्तनका लागि भएका आन्दोलन र संविधानले प्रत्याभूत गरेको विषयबारे जानकारी भएको बताए । उनले भने, ‘संविधान र लोकतन्त्रका पक्षमा प्रतियोगीले निकै भावप्रधान ढंगले काम गरेको देखिन्छ । संविधानमा भएका कुरालाई कसरी कार्यान्वयनमा लान सकिन्छ भन्ने उद्देश्यका साथ मार्किङ गरेका थियौं । विषयवस्तुलाई ५० र कला कम्पोजिसन, प्रिजेन्टेसन, हार्माेनी लगायतका विषयलाई ५० अंक गरेर पहिलो, दोस्रो, तेस्रो र सान्त्वना छुट्याएका थियौं ।’ उनले संविधान र लोकतन्त्रको सन्दर्भ बुझ्ने कुरा, अध्ययन गर्ने कुरा गाह्रो भएको भएकाले विद्यार्थीका लागि यो कार्य निकै चुनौतीपूर्ण पनि भएको धारणा राखे ।

यसैगरी प्राध्यापक राधेश्याम मुल्मीले यसमा कार्यक्रममा सहभागी हुनु नै ठूलो कुरा भएको बताउँदै सहभागी कलाकार र प्रतिष्ठानप्रति आभार प्रकट गरे । प्राज्ञ सौरगंगा दर्शनधारीले देशको मूल कानुनलाई बुझ्ने र त्यसको मर्मलाई कलामार्फत चित्रण गर्ने लक्ष्यका साथ प्रतियोगिता गरिएको बताइन् । उनले संविधानप्रति नयाँ पुस्ताको दृष्टिकोण बुझ्न पनि प्रतियोगिता गरिएको जानकारी दिइन् । प्रतियोगितामा ललितकला क्याम्पसकी अञ्जली घिमिरे प्रथम, सिर्जना कलेज अफ फाइन आर्ट्सका होमराज कुलुङ द्वितीय, काठमाडौं विश्वविद्यालयका रुजनकुमार मर्हजन तृतीय र सिर्जना कलेज अफ फाइन आर्ट्सका लिस्मा ताम्राकार तथा ललितकला क्याम्पसकी प्रतिभा खड्काले सान्त्वना पुरस्कार पाए । पुरस्कारको राशी क्रमशः १५, १२, १०, र दुई जनालाई ८ हजार राशीको विशेष पुरस्कार र प्रमाणपत्र रहेको थियो ।

साथै निर्णायक समितिमा अग्रज कलाकार राजन काफ्ले, प्राज्ञद्वय सञ्जय वान्तवा राई र सौरगंगा दर्शनधारी रहेको प्रतिष्ठानले जनाएको छ । उक्त प्रदर्शनीमा अनिल मर्हजन, धावा दोर्जे गुरुङ, रिया योञ्जन, सुमित्रा तामाङ, मुक्ति चालिसे, रञ्जित कुँवर, सन्ध्या मगर, प्रकृति राजवंशी, विशाल थामी, प्रतिक्षा तिवारी, विदूर पौडेल, चेतन गौतम, सुनिल हरिजन लगायतका डेढ दर्जन विद्यार्थीले सहभागिता जनाएका छन् । उक्त प्रदर्शनीको उद्घाटन समारोहमा प्राज्ञपरिषद सदस्यहरु पाल्साङमो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय राई वान्तवा, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य झिग्मे लामा, वासु क्षितिज श्रेष्ठ, कलाकार दामोदर बराल लगायतको उपस्थिति रहेको थियो । प्रदर्शनी एक हप्तासम्म चल्ने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया