मुम्बई । बहुचर्चित ‘बाहुबली’ र ‘आरआरआर’ लगायतका चलचित्र बनाएका एसएस राजामौलीले नयाँ चलचित्र बनाउने भएका छन् । भारतीय चलचित्रमा धेरै बायोपिक बने, तर आफैं र आफ्ना अग्रजमाथि कुनै बायोपिक बनेको छैन । भारतीय चलचित्रका अग्रजमाथि बायोपिक बन्न लागेको छ, जसको नाम ‘मेड इन इण्डिया’ राखिएको छ । तर यो चलचित्रलाई राष्ट्रिय पुरस्कार बिजेता नितिन कक्कडले निर्देशन गर्ने जनाइएको छ । यो चलचित्रलाई एसएस राजामौलीले निर्माण गर्ने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
‘मेड इन इण्डिया’ घोषणा गर्दा राजामौलीले ट्वीटर (एक्स) मा चलचित्रको कथा सुनेपछि आफू भक्कानिएको सुनाए । उनले ‘मेड इन इण्डिया’ नामको बायोपिकका लागि आफ्नो टिम तयार रहेको बताए । राजामौलीले ‘मेड इन इण्डिया’ को घोषणाको टिजर सार्वजनिक गर्दै लेखेका छन्, ‘जब मैले पहिलो पटक कथा सुनें, म भावुक भएँ । वास्तवमा बायोपिक बनाउनु आफैंमा निकै गाह्रो छ । तर ‘फादर अफ इण्डियन सिनेमा’ मा बायोपिक बनाउनु झनै चुनौतीपूर्ण छ ।’
दादासाहेब फाल्केलाई ‘फादर अफ इण्डियन सिनेमा’ भनिन्छ । उनी भारतीय सिनेमाका पिता थिए । सन् १९१३ मा उनले देशको पहिलो फिचर चलचित्र ‘राजा हरिश्चन्द्र’ बनाए । तर भारतीय सिनेमालाई जन्म दिन दादासाहेब फाल्केले निकै पापड पेल्नुपरेको थियो । यदि महिलाले चलचित्रमा काम गर्न थाले भने त्यो उनकै कारणले भएको हो । दादासाहेब फाल्केसँग भारतीय सिनेमा सुरु गर्ने र चलचित्र बनाउन सक्ने कुनै साधन थिएन । तर उनले हिम्मत हारेनन् । अब राजामौलीले आफ्नो कथालाई चलचित्रको पर्दामा ल्याउने अनुमान गरिएको छ ।
राजामौली केही महिनाअघिसम्म ‘आरआरआर’ लाई लिएर चर्चामा थिए । यो चलचित्रले विश्वभर हलचल मच्चायो । उनको चलचित्रको ‘नाटु नाटु’ गीतले ९५औं एकेडेमी अवार्डमा ओस्कार जितेको थियो । अहिले उनी ‘मेड इन इण्डिया’ लाई लिएर चर्चामा छन् । यो चलचित्रलाई वरुण गुप्ता र एसएस राजामौलीका छोरा एसएस कार्तिकेयले निर्माण गर्दैछन् । तर चलचित्रको कास्टिङको बारेमा भने अहिलेसम्म कुनै जानकारी आएको छैन । ‘मेड इन इण्डिया’ मराठी, तेलुगू, हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा बन्ने निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया