पशुपतिनाथको मन्दिर पनि स्वयम्भूनाथ नै हो

पशुपतिनाथको मन्दिर पनि स्वयम्भूनाथ नै हो, स्वयं उत्पत्ति भएको । गोपाल बंशावली अनुसार ‘बहुह्री नाम गरेको गाईले सधै बागमती किनारमा दुध चढाउने गरेको र पछि खनि हेर्दा त्यहाँ पशुपतिको ज्योतिर्लिङ्ग उत्पति भएको कथा उल्लेख छ । पशुपतिमा ज्योतिर्लिंग उत्पत्तिको कथा र स्वयम्भूमा ज्योतिरुपको तेज रश्मि उत्पत्ति भएको कथा एकै हुन् ।

मोहन लामा रुम्बा

स्वयम्भू चैत्यलाई हामीले एउटै अर्थमा बुझ्ने गरेका हुन्छौं तर शास्त्रीय हिसाबले स्वयम्भू र चैत्य अलग–अलग हुन् । स्वयम्भू उत्पन्न भएपछि त्यसलाई सुरक्षित गर्न अथवा छोप्नको लागि चैत्य निर्माण गरिएको हो, वास्तविक स्वयम्भू, चैत्यको गर्भगृह भित्र रहेको हुन्छ । वयम्भू महापुराण अनुसार स्वयम्भू पर्वतलाई ‘सत्य युगमा पद्मगिरि, त्रेता युगमा गोश्रृंग, द्वापर युगमा वज्रकुट र कलियुगमा गोपुच्छपर्वत भनिन्छ । नेपाल भाषामा साम्हयंगु पर्वत भनिन्छ । किनभने यस पर्वतको आकार गाईको आकार जस्तो देखिन्छ । यो गोपुच्छ पर्वतको अधिपति मालिक गणेश भगवान हुनुहुन्छ । एकपटक आचार्य पद्मसंभव (गुरु रेम्पुर्छे)ले चैत्यमा आई गणेश भगवानलाई आमन्त्रण नगरीकन पुजा गर्दा पुजामा बाधा व्यवधान भएछ । यस पर्वतको स्वामी गणेश भगवान रहेकोे थाहा भएपछि गणेश भगवानको पुजा गर्नुभई अनुष्ठान सफल भएको थियो भन्ने स्वयम्भू पुराणमा पाइन्छ ।

थचक्क बसेको गाईको जस्तो गोपुच्छ पर्वतको स्वामी गणेश भगवान हुनुहुन्छ । त्यसको शिरमा स्वयम्भू हुनुहुन्छ, स्वयम्भू माथि चैत्य रहेकोे हुन्छ । स्वयम्भू एक संस्कृत सब्द हो । जसको अर्थ हुन्छ ‘स्व’ – ‘आफैं ’ र ‘भु’ जसको अर्थ हुन्छ ‘जन्म लिनको लागि ’ अथवा ‘उत्पन्न हुनु’ । अर्थात कुनै व्यक्ति द्वारा उत्पादन वा उत्पत्ति नभएको तर उहाँ स्वयं अस्तित्वमा रहेकोे भन्ने हुन्छ । त्यसैले शिवको अर्को नाम हो स्वयम्भू स्व–उत्पन्न ।

पशुपतिनाथको मन्दिर पनि स्वयम्भूनाथ नै हो, स्वयं उत्पत्ति भएको । गोपाल बंशावली अनुसार ‘बहुह्री नाम गरेको गाईले सधै बागमती किनारमा दुध चढाउने गरेको र पछि खनि हेर्दा त्यहाँ पशुपतिको ज्योतिर्लिङ्ग उत्पति भएको कथा उल्लेख छ । स्वयम्भू महापुराणमा पनि स्वयम्भूको उत्पत्तिको कथा यसरी आउँछ – ‘ज्योतिरूपको रश्मि सूर्यको तेजजस्तै प्रकाशमान भएर दश दिशामा फैलिएको थियो । त्यस ज्योतिरूप श्री स्वयम्भू धर्मधातु जिनालयको उत्पत्ति भएपछि ब्रह्मा, विष्णु, महेश्वर, इन्द्र सकल देवगण धृतराष्ट्र, विख्धक, विरूपाक्ष, कुवेर, चतुर्महाराजाहरू आदि लोकपालगण, सकल नाग, सिद्ध, गरुड, विद्याधर, साध्यगण, यक्ष, गन्धर्व, किन्नर, राक्षस, ऋषि, मुनि, तपस्वी आदि सकलले ज्योतिरूप श्री स्वयम्भूको पूजा गरी स्तोत्र पढी वन्दना गरिरहेका थिए ।’

त्यसैगरी अगाडि आउँछ– ‘ज्योतिरूप श्री स्वयम्भूलाई कलि कालमा नष्ट भ्रष्ट होला भनी स्थूल विशाल शिलाले छोपी त्यस शिलाको माथि चैत्य निर्माण गरेर छत्र ध्वज पताका चढाई दश कर्म आदि प्रतिष्ठा गरेका थिए ।’ ।

पशुपतिमा ज्योतिर्लिग उत्पत्तिको कथा र स्वयम्भूमा ज्योतिरुपको तेज रश्मि उत्पत्ति भएको कथा एकै हुन् । त्यसैले जुन हामीले स्वयम्भू भन्छौं त्यो त विशाल शिलाले छोपेर राखेको छ त्यसमाथि मात्रै चैत्य बनाएको हो, जुन गर्भगृह भित्रको स्वयम्भूको सुरक्षा गर्न । त्यसैले स्वयम्भू महाचैत्य भन्दा हामीले चैत्यको गर्भगृह भित्र रहेकोे ज्योतिरुप स्वयम्भू र चैत्य भनी सम्झिनु पर्छ ।

त्यसैले हामी सनातनीहरुले जानीनजानी पशुपति फलानो धर्म मान्ने समुदायको स्वयम्भूनाथ चैत्य चाहिँ फलानो धर्म मान्नेहरुको भन्दै आइरहेका छौं, यो सरासर गलत हो, स्वयम्भू भनेको नै शिव हो, शिव नै बोधिसत्व अवलोकितेश्वर हो, र अवलोकितेश्वर नै अमिताभ बुद्ध हुन र अमिताभ नै आदि बुद्ध हुन् । त्यसैले हाम्रा यी अमुल्य सम्पदाहरु हाम्रा पू्र्खाहरुले हामीलाई एकापसमा तोड्नलाई बनाएको होइन जोड्नलाई बनाएको हो ।

हामी ऐतिहासिक कालदेखि हाम्रो सामाजिक व्यवस्था धार्मिक व्यवस्था हामी एकापसमा अविच्चिन्न रूपमा जोडिदै आइरहेका हौं । यही हामी नेपालीहरुको अनुपम विशेषता पनि हो । आजभोलि पश्चिमी वायु चढेका दैंत्यहरुले नेपाली अनुहारका केही टाठा बाठाहरुलाई बौद्धको खोल ओढाएर भिक्षुको भेषमा, कसैलाई धार्मिक जानिफकारको भेषमा, जातीय बिभाजन गराउन धर्म भेद, देवता भेद, जाति भेद, वर्ण भेद, गराउँदै समाजलाई टुक्र्याउँदै छन्, जसको सबैभन्दा ठूलो र प्रत्यक्ष असर उपत्यकाको नेवारी समाजले टुक्राटुक्रा भएर भोग्नुपर्नेछ र नजानिदो तरिकाले भोग्न सुरु पनि भैसकेको छ ।

बौद्ध ग्रन्थ श्री षट्त्रिंशत्संवरगणचक्रमण्डलस्तुतिः मा भनिएको छ –‘सिन्धुदेशसमुद्भूतं पद्मनृत्याख्यसंवरम्। महाबलासमापन्नं पादपृष्ठगतं नमे ।’ यसको अर्थ हो , यही सिन्धु बाट अप्रभंस भएर हिन्दु भएको हो । सिन्धु घाटी आद्य ऐतिहासिक युग (ताम्रपाषाण युग÷कांस्य युग) देखि हो । पुरातत्वशास्त्री सर जॉन हुबर्ट मार्शल ( सन् १९०२ देखि १९२८ सम्म भारतीय पुरातत्व सर्वेक्षण विभागको महानिदेशक) ले सिन्धु घाटी फेला परेर उत्खनन पश्चात पहिलोपटक स्विकार्न पश्चिमा जगत वाध्य भयो , यहाँनेर पनि एउटा बिशाल प्राचीन मानव सभ्यता रहेछ भनेर । त्योभन्दा अगाडि सम्म पश्चिमी गोराहरुको के बुझाई थियो भने यहाँ (भारतवर्ष) कुनै मानव सभ्यताको बिकास नै नभएको असभ्य जंगली मान्छेहरुको बसोबासको क्षेत्र हो ।
जब सिन्धु घाटि पत्ता लागेर त्यसको उत्खनन गर्दै गइयो, प्राचीन मेसोपोटामिया,मिस्र, ह्वाङ्हो नदीको समकालीन सभ्यताको अवशेषहरु फेला परे । उनीहरु नाइल नदीको सभ्यता सँगै सिन्धु नदीको सभ्यतालाई पनि स्वीकार गर्न बाध्य भए । ऋग्वेदमा सप्त सिंधव अथवा ‘सप्त सिन्धु’ भनेर सात वटा नदीको चर्चा गरिएको छ । सिन्धु नदीको मुहान कैलाश पर्वत भन्दा माथिल्लो हिमालय पर्वत बाट प्रवाह भएको छ । जहाँ यसको स्थानीय नाम हो ‘सेङ् गे ख बाब’ जसको अर्थ हुन्छ सिंहको मुख ।

यही सिंहको मुख ‘सेङ गे’ भोट शब्द अप्रभंस हुँदै सिन्धु बन्न पुग्यो, सिन्धु बाट इन्दु इन्डु अप्रभंस हुँदै हिन्दु सम्म आइपुगेको हो । ‘हिन्दु’ कुनै जाति वर्ण लिंग सम्प्रदाय भौगोलिक क्षेत्रमा खुम्चिने नाम होइन । पुरै भारतवर्षको मानव सभ्यताको एक जीवन पद्धति हो । यो एउटा पुर्वीया सभ्यता हो, यही सभ्यताको अंश हुन् शैव,वैष्ण्व,बौद्ध जैन किराँत धर्म मत एवं सम्प्रदायहरु ।

हामी पÞmेरि भारतवर्ष भन्ने साथ नेपालमा संकीर्ण रूपमा आजको राजनीतिक नक्साको इन्डियालाई बुझ्न खोज्छौं, आजको अष्ट्रेलिया अमेरिका अफ्रिका महादेश भनेको जस्तो प्राचीन कालको एउटा महाद्वीप हो भारतवर्ष । यो पश्चिम् गन्धार (अफगानिस्तान) देखि पुर्व कम्बोडिया सम्म भियतनाम देखि श्रीलंका सम्म फैलिएको सिन्धु अर्थात हिन्दु सभ्यताको प्रभाव क्षेत्र हो । एउटा रामायण कथाको दर्जनौं भास्य भियतनाम देखि जापान हुँदै थाइल्यान्ड सम्म फैलिन्छ। एउटा बुद्ध कथा चीन देखि जापान हुँदै अफगानिस्तान सम्म त्यतिबेला नै फैलिएको थियो जतिबेला इस्लाम र इसाई मतको उदय नै भएको थिएन ।

आज हामीलाई यही पुर्वीया सभ्यता सँग जोडिएको सिन्धुदेशसमुद्दूत बाट ‘हिन्दु’ भएको हिन्दु शब्द प्रति घृणा लाग्ने द्वेष भावना फैलाउने स्कुलिङ कसले र किन कहाँबाट दिइरहेको छ ? गम्भीरतापूर्वक सोंच्न बुझ्न खोज्न आवश्यक छ । अबको नयाँ पिढीहरुले बिशेष गरेर हिन्दु सभ्यता सँग अविच्चिन्न रूपमा जोडिएको उपत्यकाको नेवारी बज्रयान सभ्यतालाई सखाप पार्न हिजोको दिनमा उपत्यकाको कुनकुन नेवारहरु कुनकुन आवरणमा लागिपरेका थिए र आज को को सक्रिय भएर लागिरहेको छ ? खोजी गरोस् ।

आज उपत्यकाको नेवारी बज्राचार्य बौद्धहरुलाई ‘हिन्दुकरण’ भएको भन्दै कोही तिब्बतीकरण गर्दै लैजाने कोही अम्बेडकरवादी बौद्ध बनाउँदै लैजाने गर्दैगर्दा भोलि उपत्यकाको नेवारी मौलिक संस्कृति चाहिँ कसले बचाई दिने होला ? नोवेल पुरस्कृत भि. एस. नइपल को एउटा भनाई राख्न यहाँनेर उपयुुक्त होला । भारतवर्षको पृष्ठभूमिमा लेखिएको संस्मरण दि उन्डेड सिभिलाइजेसन (मर्माहत सभ्यता) मा ऊनी लेख्छन् –‘महान सिर्जनाको लागि तपाईंको बास पनि महान सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ, पुराकथाले, किम्वदन्तीले, अग्रजहरूका कृत्यहरूले उनीहरूकै आलोकले पनि तपाईंको बाटो उज्यालो हुन्छ ।’

उपत्यकाको नयाँ पुस्ताका बज्रयानी नेवारहरुले भि. एस. नइपलको यो भनाइ मनन गर्न जरुरी छ र आफ्नो पू्र्खाको इतिहास आफ्नो मौलिक संस्कृतिलाई पछ्याउँदानै तपाईंहरुको बाटो उज्यालो हुनेछ । नकी कुनै तिब्बतीले र भारतीयले दिएको चारो खाएर धर्मको उपदेश दिने नानाथरीका पात्रहरूको पछी लागेर । हिजो अस्ति भर्खरैको कुरा हो प्रकाण्ड पण्डित दिव्य बज्राचार्य, बद्री बज्राचार्य जस्ता सिद्ध हस्त बज्राचार्य गुरु सँग तिब्बती महासिद्ध गुरु चटुल रिम्पुर्छे दीक्षा लिन आउँथे । तर तिनकै सन्तानहरु आज आफ्नो संस्कृति आफ्नो धर्मलाई ‘हिन्दु’ मिसिएको भन्दै शुद्ध सिद्ध खोज्दै कोही राणाको कोठामा, कोही अम्बेडकरको चोटामा दौडिन थालेपछि हामी बाहिरका मान्छेले राम राम भन्न मात्रै सक्छौं काँध थाप्न त सकिन्न नी होइन र ?

जस्तोसुकै कालो बादल भए पनि बादलको किनारमा चाँदीको जस्तो सेतो घेरा हुन्छ रे भने जस्तै अहिले केही नेवारी बज्राचार्यहरु आआफ्नो पुख्र्यौली रितिथिती कर्मकाण्ड सम्हाल्न अग्रसरता भएको देखिन्छ, यस्तो दृश्यहरु देख्दा साँच्चै मनलाई आशावादी बनाउँदो रहेछ ।

प्रतिक्रिया