रमला उत्कृष्ट गायिका ठहरिन्

काठमाडौं । गायिका रमला तामाङ पाख्रिनले सर्वोकृष्ट गायिकाको अवार्ड पाएकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न चौथो संस्करणको ‘जिनियस म्युजिक अवार्ड’ मा गायिका रमलाले भाषाभाषीतर्फ ‘सर्वोकृष्ट गायिका’ को अवार्ड पाउन सफल भएकी हुन् ।

‘म्हेन्दोमाया’ भाकाका लागि गायिका रमलाले तामाङ भाषाको ‘साइकोले’ बोलको गीतबाट अवार्ड प्राप्त गरेकी हु्न् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता भएको समारोहमा संगीतकार राजु सिंहलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो । ‘जिनियस म्युजिक अवार्ड–२०८०’ मा गीत संगीतका ४७ विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा तामाङ भाषाको गीतर्फ रमलाले ‘सर्वोत्कृष्ट गायिका’ को अवार्ड प्राप्त गरेकी हुन् ।

गायिका रमला पश्चिमेली तामाङ समुदायको प्रचलित गीत म्हेन्दोमाया भाकालाई गाउँदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सफल हुँदै आएकी छन् । हालसम्म ६ सयभन्दा बढी गीतका गाइसकेकी रमलाले भनिन्, ‘आफ्नो सिर्जनाले अवार्ड पाउँदा खुसी लाग्दोरहेछ ।’ कमेडियन हिमेशराज पन्तको प्रस्तुति रहेको समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, गीतकार कृष्णहरि बराल, कलाकार लय संग्रौला, उत्तम केसी, सुभाष गजुरेल गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गायिका देविका वन्दना लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया